प्रमुख लक्ष्य स्वस्थकर मासु उत्पादन

0
597

पाँच नम्बर प्रदेशबाट उत्कृष्ट उद्यमीको अवार्ड जित्न सफल दिपेन्द्र कुमार जोशी पैसा कमाउने उद्देश्यले मात्रै उद्यमी बनेका होइनन् । जापान र कोरिया जस्तो प्रविधियुक्त देशमा आधुनिक मासु प्रशोधनसम्बन्धी सीप सिकेर त्यसलाई स्वदेशमै प्रयोग गर्ने लक्ष्य लिएका जोशी अहिले नेपालगञ्जमा सफल व्यवसाय गरिरहेका छन् । फ्रेस हाइजेनिक फुड नामको व्यवसायिक संस्थाले मानव स्वास्थ्यका लागि हितकर मासु उत्पादन गर्दै आएको छ । नयाँ प्रविधिलाई सफल रुपमा प्रयोग गर्न सकेकाले नै सरकारले पुरस्कृत गरेको हो । विदेशमा सिकेको सीप स्वदेशमा सफलतापूर्वक प्रयोग गरेकाले सरकारले पुरस्कृत गरेको हो । उनै सफल व्यवसायी दिपेन्द्र कुमार जोशीसँगको व्यवसायीक कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
फ्रेस हाइजेनिक फुड कस्तो व्यवसायिक संस्था हो ?
यो व्यवसायिक संस्था बाँके जिल्लाको घरेलु तथा साना उद्योग कार्यालयदेखि सातवटा सरोकारवाला निकायमा दर्ता भएर संचालित छ । मैले जापान र कोरियमा केही वर्ष काम गर्दा सिकेको सिप र अनुभवका आधारमा यो संस्था स्थापना गरेको हुँ । वि.सं.२०६६ सालमा स्थापित यो संस्थाले किसानसँग बङ्गुर र खसी खरिद गरेर सेमिप्रोेशेस गरी काठमाण्डौमा मासु विक्रि गर्दै आएको छ ।
यहाँले उत्पादन गर्नुभएको मासु कस्तो हुन्छ ?
हामीले स्वस्थकर मासु उत्पादन गछौँ । फ्रोजन र भ्याटमा किलिङ लगायतका सम्पूर्ण प्रक्रिया अन्तराष्ट्रिय मापदण्ड अनुसार पूरा गरेका छौँ । हामीले प्रशोधन गरेको मासु पूर्णरुपमा स्वस्थकर हुन्छ । हामीले १५ सेकेण्डमा खसि वा बङ्गुरलाई बेहोस बनाएर दुःख वा यातना नदिइकन काट्ने गर्दछौँ ।
१५ सेकेण्डमा नै जनावर काट्न सकिने प्रविधि कस्तो हो ?
यो प्रविधि भनेको अन्तराष्ट्रिय मापदण्ड अनुसारको प्रविधि हो । यसरी काट्दा जनावरलाई यातना वा कष्ट हुँदैन । टाउको तल खुट्टा माथि पर्नेगरी झुण्डाएर यो प्रविधिको प्रयोग गरिन्छ । अन्तराष्ट्रिय मापदण्ड अनुसार पनि झुण्डाउने प्रक्रिया नै प्रयोग गर्नुपर्छ ।
यसरी तयार पारिएको मासु स्वस्थकर हुन्छ भन्ने आधार के छ ?
खासमा रगतमा हुने किटाणु वा हानिकारक तत्वहरु नष्ट हुन्छ । हामीले प्रयोग गरेको प्रविधिले जनावरको शरिरमा भएको सबै रगत बाहिर फाल्ने गर्दछ । मासुमा रगतको मात्रा नहुनु भनेको नै स्वस्थकर हुनु हो । किनभने जनावरको शरिरमा हुने हानिकारक किटाणु वा रोग रगतमा नै हुन्छ ।
यहाँले अन्तराष्ट्रिय प्रविधिको प्रयोग गरेर स्वस्थकर मासु उत्पादन र विक्रि गर्नुभएको छ । काठमाण्डौमा भएका मासु बधशाला वा पसलको अवस्था देख्दा कस्तो लाग्छ ?
सामान्य तरिकाले चलेका नेपालका मासुपसललाई परिवर्तन गर्नु जरुर िछ । सरकारले नीति र मापदण्डलाई कडाईका साथ लागु गर्नुपर्छ । अर्को महत्वपूर्ण पक्ष भनेको उपभोक्ता हुन् । उपभोक्ताले पनि स्वास्थ्यलाई ध्यान दिनु जरुरी छ । फोहर र अस्तव्यस्त मासुपसलको मासु सेवन गर्नु हुँदैन ।
अहिले यहाँले उत्पादन गर्नुभएको मासु कहाँ कहाँ विक्रि गर्नुभएको छ ?
अहिले हाम्रो मुख्य बजार भनेको काठमाण्डौ हो । हामीले खुद्रा विक्रि गरेका छैनाँै । होलसेल विक्रि काठमाण्डौको चारवटा कोल्डस्टोरमा गर्दै आएका छाँै । तर माग अनुसारको उत्पादन गर्न सकिएको छैन ।
यहाँले तयार पार्नुभएको मासु विदेशमा समेत निर्यात गर्न सक्ने अवस्था कस्तो छ ?
अहिले विदेश निर्यात गर्नका लागि मात्रा पुग्दैन । एकपटक मासु निर्यात गर्नका लागि हामीसँग कम्तिमा पनि २५ टन मासु आवश्यक पर्छ । एकातिर सरकारले पनि मासु निर्यातका लागि कुनै चासो दिएको छैन भने अर्कातिर विदेश निर्यात गर्नसक्ने गरी खसी, बङ्गुर लगायत मासुजन्य जनावर उत्पादन समेत नेपालमा हुन सकेको छैन ।
मासु विक्रि वितरणका लागि केके चुनौति छन् ?
हामीलाई अहिले लामो यात्रा गरेर काठमाण्डौ मासु वितरण गर्नका लागि समस्या छ । यातायात र सडक सुविधा सहज छैन । ठाउँठाउँमा भएका क्वारेन्टाइनमा गरिने परिक्षण पनि व्यवस्थित छैन ।
आफैले पनि पशुपालन गर्नुभएको छ वा सबै किसानबाट ल्याउने गर्नुहुन्छ ?
बङ्गुर चाँही केही पालेका छौँ । तर हाम्रो उद्देश्य भनेको किसानसँग खरिद गरेर मासु उत्पादन गर्ने नै हो ।
कोरिया र जापानमा खास के सिक्नुभएको थियो ?
मैले कोरिया र जापानमा मासु प्रशोधनसम्बन्धी काम गरेर आएको हुँ । पहिला कोरिया त्यसपछि जापानमा गएको हुँ । दुवै देशमा मासु उत्पादन, प्रोसेसिङ, स्टोर र प्याकिङ सम्बन्धी काम गरेको थिएँ ।
ति देशमा गएर काम गर्दा पैसा त राम्रै कमाउन सकिन्थ्यो होला । तर किन नेपाल आएर आफैले सुरुवात गर्नुभयो ?
हो, मैले यो काम जानेपछि जापान र कोरिया मात्रै होइन, विश्वका जुनसुकै देशमा पनि काम गरेर मनन्य पैसा कमाउन सक्थेँ । तर मैले मैसा कमाउने उद्देश्य मात्र नलिई विदेशमा सिकेको काम स्वदेशमा प्रयोग गर्न सके राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक भूमिका खेल्छ । त्यस्तै रोजगार सृजना गर्न सकिन्छ । स्वदेशी किसानले उत्पादन गरेको खसी र बङ्गुरको खपत पनि हुने भयो । किसानको आयआर्जनमा पनि सहयोग हुन सक्छ ।
यो व्यवसायलाई अझ राम्रो बनाउनका लागि केके गर्नुभएको छ ?
चुनौति र सम्भावना दुवै भएको व्यवसाय हो । यस व्यवसायलाई अझ गुणस्तरीय बनाउनका लागि म विभिन्न अन्तराष्ट्रिय स्तरका तालिम र गोष्ठिहरुमा पनि सहभागि हुने गरेको छु । केही समयअघि मात्रै नेदरल्याण्ड गएर अन्तराष्ट्रियस्तरको तालिममा सहभागि भएर आएको हुँ । त्यस्तै विदेशी विशेषज्ञहरु नेपाल आएर समेत मलाई सहयोग गर्ने गरेका छन् । नेपालकै विशेषज्ञलाई पनि बोलाएर सल्लाह लिने गरेको छु ।
विदेश सीप सिकेका तर नेपाल आएर केही पनि नगरेका युवावर्गलाई के भन्न चाहनुहुन्छ ?
सबैभन्दा प्रमुख कुरा धैर्यता र मिहिनेतको आवश्यकता चाहिन्छ । अर्को आफुले कामसँग लाज मान्नु हुँदैन । अरुले के भन्लान भन्नेतिर सोच्नु हुँदैन । विदेशमा गएर गरेको जस्तो दुख नेपालमा पनि गर्न सक्नुपर्छ । कामलाई सानो वा ठूलो नजरले हेर्नु हुँदैन । घरपरिवार, नातागोता, छिमेकी, समाजले पनि कामका लागि प्रोत्साहन गर्नुपर्छ ।
लगानीका लागि पैसा अभावका कारणले पनि कतिपयले व्यवसाय गर्न सकेका छैनन् नि ?
लगानी त पहिलो सर्त नै हो । लगानी बिना कुनैपनि व्यवसाय संचालन गर्न सकिदैन । कृषि लोन लिएर होस् वा स्वरोजगार कोषको सहयोगमा लगानीका लागि त आफैँले उपाय निकाल्नुपर्छ । विभिन्न बैँकहरुले पनि कृषिमा लगानी गर्नका लागि ऋण दिने गरेका गरेका छन् । जुनसुकै उपाय अपनाउर भए पनि लगानी रकम त जुटाउनु पर्छ ।
सरकारले कृषि क्षेत्रलाई गरेको सहयोग पर्याप्त छ ? वा कृषि क्षेत्रका लागि सरकारले केके सहयोग गर्नु जरुरी छ ?
कृषिमा सरकारले धेरै काम गरेको छ । तर अनुदान सेवा त अब बन्द गर्नुपर्छ भन्ने मेरो मान्यता हो । बरु बैँक वा वित्तियसंस्थाबाट सहुलियत व्याजदरमा ऋण दिने व्यवस्थालाई अझ फराकिलो बनाउनुपर्छ ।
यहाँले आगामी दिनमा यो व्यवसायलाई कसरी अगाडि बढाउने योजना बनाउनुभएको छ ?
मैले अब काठमाण्डौमा नै सबैखाले मासु उपलब्ध गराउन सक्ने आउटलेटको व्यवस्था गर्ने योजना बनाएको छु । सबैखाले ग्राहकले मासु किन्न सक्ने साझा मासु पसलको अवधारण बनाएको छु । जहाँ खुद्रादेखि होलसेल विक्रिसम्म गर्न सकिनेछ । स्वस्थकर मासु विक्रिलाई आगामी दिनमा फराकिलो बनाउने लक्ष्य रहेको छ ।

LEAVE A REPLY