दशैं कसरी मनाउँदै छन् भेटेरिनरी क्षेत्रका हस्तीहरु ?

0
533

नेपालीहरुको महान पर्व वडा दशैँ नजिकिँदै छ । हरेक नेपालीको घरघरमा उल्लासको वातावरण छाएको छ । यही सेरोफेरोमा भेट टाइम्सले नेपालका भेटेरिनरी क्षेत्रका व्यक्तिसँग उनीहरुको दशैँको योजनाका बारेमा संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ उनीहरुको दशैँ योजनाः

हामीले मासु खाने हो, मासुले हामीलाई नखाओस

डा. केशवप्रसाद प्रेमी
सहसचिव, पशुपंक्षी विकास मन्त्रालय
बुवा आमा चितवनमा हुनुहुन्छ । उहाँहरुसँग आशिर्वाद थाप्नका लागि चितवन जाने कार्यक्रम छ । आँफू भन्दा ठूलाको हातबाट टिका तथा आशिर्वाद लिने र सानालाई दिने गरिन्छ । दशैँमा आफन्त साथीभाईसँग भेट हुन्छ । रमाइलो गरि मनाइन्छ ।
अर्को कुरामा दशैँ भनेपछि मासुको कुरा आउँछ । दशैँमा शरीरले पचाउन सक्ने जति मासु खानुपर्छ । मासुलाई हामीले खाने हो न की मासुले हामीलाई खाओस ।

केही धार्मिक स्थलहरुको दर्शन गर्ने योजनामा छु

नारायणप्रसाद ढकाल
महानिर्देशक, औषधी व्यवस्था विभाग
दशैँ पहिला जस्तै सामान्य नै छ । आफूभन्दा मान्यजनबाट आशिर्वाद थापेर आफन्तहरुसँग भेटघाट गरेर मनाउने योजना छ । दशैँमा भनेपछि आफन्तको जमघट हुन्छ । खानपिन सँगै आफन्तहरुसँग रमाइलो गरी दशैँ मनाउने विचारमा छु । त्यस्तै केही धार्मिक स्थलहरुको दर्शन गर्ने कार्यक्रम बनाउँदै छु ।

पारिवारी जमघटमै दशै वित्नेछ

डा. विमल कुमार निर्मल
महानिर्देशक, पशु सेवा विभाग

घर परिवारसँग दशै काठमाडौँमै मनाईन्छ । रातो मासु खान नहुने हुँदा म कुखुराको मासु खान्छु । पारिवारिक जमघटमै दशैँ वित्ने छ । म जुवा तास खेल्दिन् । मदिरा पनि स्वास्थ्यका कारणले खान छाडेको छु ।
दशैँको समयमा अस्वस्थकर मासुहरु भित्रिने हुँदा बजार अनुगमनको काममा व्यस्त हुने छु । छटमा भने म आफ्नै गृहजिल्ला जाने कार्यक्रम रहेको छ ।

सुखदुःखका कुराहरुको साटासाट गरि मनाउ“दै छु

शितलकाजी श्रेष्ठ
अध्यक्ष, नेपाल भेटेरिनरी एशोसिएसन

वर्षैँदेखि मनाउँदै आइरहेको हामी नेपालीहरुको महान् चाड विजयादशमी आफन्त, नातागोता, इष्टमित्रहरुसँग टीका–जमरा, भेटघाट, सद्भाव, सुखदुःखका कुराहरुको साटासाट गरि मनाउँदै आइरहेका छौं ।
कामको व्यस्तता भएको हुनाले दशैंको खासै ठुलो योजना बनाइएको छैन । घरमै टीका जमरा लगाएर रमाइलो गरि दशैं मनाइन्छ । अरु बेला आफन्तजनहरुसँग भेटघाट गर्ने समय हुँदैन, दशैंमा चाहीं सँगै बसेर खानपिन, रमाइलो, कुराकानी गरिन्छ । हाम्रो परिवार ठुलो भएको हुनाले जुठो पर्ने बारम्बार भइरहन्छ, यसपटक भने यस्तो भएको छैन, यसपाली दशैं भव्य रुपले मनाउने योजना रहेको छ ।
दशैंमा सम्पूर्ण नेपाली दाजुभाइबीच राम्रो सम्बन्ध, सद्भाव होस्, भाइचारा सम्बन्ध होस् र आगामी दिनमा व्यवसायवर्गहरुको व्यावसायमा प्रगति होस् भन्ने कामनाका साथ सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, कर्मचारी तथा व्यवसायीकर्मीहरुलाई दशैं तथा तिहारको शुभकामना व्यक्त गर्न चाहन्छु ।

ह्याचरी पनि केही मात्रामा सञ्चालन गरेर दशैं मनाउँछु

नारायणहरि खत्रि
अध्यक्ष, नेपाल दाना उद्योग संघ

बडादशैं परम्परागत रुपले मान्दै आएको हुनाले हामी पनि हिन्दु धर्मावलम्बी भएकाले टीका–जमरा लगाएर, रमाइलो गरेर, आफन्तजनसँग दशैं मनाउने गर्छौं । आफ्नो फार्म, ह्याचरी हेर्ने भएको हुनाले दशैंमा घुम्न जाने, बढी समय घरमा रमाइलो गर्ने फुर्सद हुँदैन । ह्याचरी भएको हुनाले ह्याचरी पनि केही मात्रामा सञ्चालन गरेर दशैं मनाउने गर्दछु ।
सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी लगायत व्यवसायीवर्गलाई विजयादशमीको शुभकामना दिन चाहन्छु ।

घरमै सम्पूर्ण परिवारसँगै बसेर दशैं मनाउने योजना छ

शिवराम केसी
अध्यक्ष, अण्डा उत्पादन संघ

हिन्दुहरुको महान् पर्व वडा दशैंलाई सम्पूर्ण नेपाली हिन्दु धर्मावलम्बीहरुले मनाउँदै आइरहेको पर्व हो, हामीले पनि त्यसै अनुरुप राम्रो मानी मनाउँदै आइरहेका छौं । घरमै सम्पूर्ण परिवारसँगै बसेर दशैं मनाउने योजना छ ।
सानोमा रमाइलो हुन्थ्यो, खेलिन्थ्यो, परिवार साथीभाइसँग घुम्न गइन्थ्यो, रमाइलो गरिन्थ्यो, अहिले चाहीं उमेरसँगै पारिवारिक जिम्मेवारी पनि बढ्दै गएको हुनाले सानोमै दशैंको अविष्मरणीय क्षणहरुको याद आइरहन्छ ।
दशैंमा खानाको लागि अण्डा, माछा, मासुका परिकार राम्ररी बनाएर खानुहोला, शुद्ध माछा, मासु खानुहोला त्यसको साथसाथै सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, कर्मचारी तथा व्यवसायीकर्मीहरुलाई दशैं तथा तिहारको शुभकामना व्यक्त गर्न चाहन्छु ।

क्षमता अनुसारको खर्च गर्नुहोस

कृष्णहरी लोहनी
अध्यक्ष, नेपाल कुखुरा बजार व्यवस्थापन संघ

परम्परागत रुपले चलिरहने भएको हुनाले हामीले पनि त्यसै अनुसार यो पर्व मनाउँदै आइरहेका छौं । दशैंमा हामीले आफूभन्दा मान्यजनबाट टिका तथा आर्शिवाद तथा भेटघाटमा व्यस्त हुन्छौँ । धेरैजसो नेपालीहरु काममा व्यवस्तता हुने भएकाले यसलाई छोटो मीठो तरिकाले मनाउँदा कसो होला ? देशभर एकैचोटी ठुलो मात्रामा खशी–बोका काट्ने गरिन्छ त्यसलाई चाहीं कम गर्ने, साधारण तरिकाले दशैं मनाउनुहोला, जाँडरक्सी बढी नखानुहोला भन्ने मेरो विचार रहेको छ ।
दशैंमा सम्पूर्ण हिन्दु नेपाली दाजुभाइ दिदीबहिनीहरुले आ–आफ्नो क्षमता अनुसारको खर्च गर्नुहोला, साधारण तरिकाले दशैं मनाउनुहोला, जाँडरक्सी, मादकपदार्थ खाएर झगडा नगर्नुहोला, जुवाताँस नखेल्नुहोला । यसको साथै सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, कर्मचारी तथा व्यवसायीकर्मीहरुलाई दशैं तथा तिहारको शुभकामना व्यक्त गर्न चाहन्छु ।

विदेशबाट छोराहरु आएका छन् उनीहरुसँगै मनाइन्छ

जयकृष्ण सापकोटा
अध्यक्ष, नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघ

नेपालीहरुको महान् पर्व दशैं परापूर्वकालदेखि नै चलिआएको र हामी पनि त्यसै अनुरुप यो पर्व मनाउँदै आइरहेका छौँ । बाहिर रहेका दाजुभाइहरु जमघट भएर बडादशैं मनाउने निरन्तरता दिइराखेका छौँ । आफन्तजनसँग दशैंमा शुभकामना आदानप्रदान गर्ने, टीका लगाउने भनेर विदेश (अष्टे«लिया) बाट छोराहरु आएका छन् । दशैं आफन्तहरुसित भव्य रुपले मनाउने योजना रहेको छ । सानो उमेरमा बाग्लुङकालिका तिर मेला लाग्दा घुम्न गइन्थ्यो ।
सबैको घरमा खुशियाली छाओस्, दुर्गा माताले रक्षा गरुन्, व्यापार व्यावसाय फस्टाउँदै जाओस्, अण्डा, कुखुराको मूल्य घटी भई कृषकको लागत मूल्य नउठिराखेको बेलामा केही राम्रो हुँदै जाओस् । त्यसको साथसाथै सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, कर्मचारी तथा व्यावसायीकर्मीहरुलाई दशैं तथा तिहारको शुभकामना व्यक्त गर्न चाहन्छु ।

दशैंलाई भड्किलो नबनाउँ

मोति पौडेल
अध्यक्ष, नेपाल पशुपंक्षी ओषधी व्यवसायी संघ, पोखरा शाखा

नेपालीहरुको महान् पर्व दशैं धार्मिक रुपले महत्वपूर्ण भूमिका बोकेको हुनाले हामीले दशैंमा भावनात्मक सम्बन्ध बिस्तार हुने, आफन्तजन जुट्ने, समस्याहरु आदान–प्रदान गर्ने, इष्टमित्रसँग भेटघाट गर्ने, देवीदेवताले शान्तिको लागि दानवप्रति विजय प्राप्त गरेको हुनाले त्यस अवसरमा यो पर्वलाई खुशियालीको रुपमा मनाउँदै आइरहेका छौं ।
दशैंमा इष्टमित्रहरुसित भेटघाट गरी दशैंलाई भड्किलो नबनाएर घरमै आफन्तजनहरुसित टीका–जमरा लगाउने योजना रहेको छ । आफू सानो हुँदा अरुले खशी–बोका काटेको देखेर खशीको मासु खान पाए हुन्थ्यो अनि अरुको छोराछोरीहरुले नयाँ लुगा लाएको देखेर हामीले पनि नयाँ लुगा लगाउन मन लाग्थ्यो ।
मुलुकको आर्थिक समृद्धि चलिरहेको अवस्थामा हामी सम्पूर्ण व्यवसायीवर्गहरुले आ–आफ्नो क्षेत्रको व्यवसायलाई व्यवसायिक मर्यादालाई कायम राख्दै व्यवसायलाई अगाडि बढाउने अनि योजनामा सफलता मिलोस् भन्दै सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, कर्मचारी तथा व्यवसायीकर्मीहरुलाई दशैं तथा तिहारको शुभकामना व्यक्त गर्न चाहन्छु ।

ढिक्रहुवा मनाउने कार्यक्रम छ

जगतराम चौधरी
अध्यक्ष, नेपाल पशुपंक्षी ओषधी व्यवसायी संघ, धनगढी शाखा

हिन्दुहरुको महान् पर्व दशैंमा हामी आफन्तजनसँग टीका–जमरा लगाउने, वर्षभरिको दुःख सुखका कुराहरुको साँटासाँट गर्ने, मान्यजन, ज्येष्ठहरुकहाँ गएर टीका–जमरा लगाउने गरिन्छ । कैलालीतिर थारुहरुले ढिक्रहुवा मनाउने गर्छौं अनि आफ्नो संस्कृति बचाउनको लागि दशैंमा ढिक्रहुवा कार्यक्रम पनि मनाउने गर्छौं । नवमीको दिन थारु जातिले मुर्गा तथा ढिक्री पुज्ने चलन रहिआएको छ ।
दशैंको दिन मठ मन्दिरमा गएर खशी बोका, राँगाहरु पुज्ने गर्दै आएका छौं । दशैंमा रमाइलोको लागि जुवाताँस खेल्ने गर्छौं, जाँडरक्सी खाएर झगडा नगर्ने भन्ने सुझाव दिनुको साथै सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, कर्मचारी तथा व्यवसायीकर्मीहरुलाई दशैं तथा तिहारको शुभकामना व्यक्त गर्न चाहन्छु ।

पुराना भेटघाटका यादहरु ताजा हुन्छन

रामकृष्ण दास
अध्यक्ष, नेपाल पशुपंक्षी ओषधी व्यवसायी संघ, सगरमाथा शाखा

हिन्दुहरुको महान् पर्व दशैंको दिन मन्दिरमा गएर खशी बोका तथा पाडाको बलि चढाउने चलन छ, दुर्गामाताको पुजापाठ गरिन्छ, कलश स्थापना गर्ने कार्यक्रम हुन्छ, जमरा–टीका लाउने गरिन्छ ।
यसपाली दशैं योजना राम्रै हुन्छ, भगवतीको पुजापाठ गर्ने गर्छौं । भगवती सखरा जाँदाखेरी आफ्नो पुरानो इष्टमित्रहरुसँग भेटघाट गरेको यादहरु आइरहन्छ । सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, कर्मचारी तथा व्यवसायीकर्मीहरुलाई दशैं तथा तिहारको शुभकामना व्यक्त गर्न चाहन्छु ।

दशैंमा ३ दिनको लागि घुम्ने कार्यक्रमको योजना छ

बाबुराम बराल
अध्यक्ष, नेपाल पशुपंक्षी ओषधी व्यवसायी संघ, राप्ती शाखा

यो पर्व परम्परागत रुपले मनाउँदै आइरहेको हुनाले हामी पनि मनाउने गर्छौं । दशैंका दिन आफन्तहरुसँग टीका–जमरा लगाउने गरिन्छ । खासगरी हाम्रो यता पाँच दिनसम्म टीका–जमरा लगाउने प्रचलन रहेको हुनाले दशमीको दिन मात्रै टीका लगाउँदा राम्रो होला भन्ने मेरो भनाई छ । दशैंमा माछा, मासुको प्रयोग बढी गरिने हुनाले एकै दिनमा धेरै मात्रामा माछा, मासुको प्रयोग गर्नुभन्दा कम मात्रामा प्रयोग गर्नुहोला भन्ने मेरो विचार रहेको छ । दशैंमा ३ दिनको लागि घुम्ने कार्यक्रमको योजना रहेको छ ।
सम्पूर्ण व्यावसायीवर्गको व्यावसाय फष्टाओस् त्यसको साथै सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, कर्मचारी तथा व्यवसायीकर्मीहरुलाई दशैं तथा तिहारको शुभकामना व्यक्त गर्न चाहन्छु ।

वर्षमा एकपटक रमाइलो गरिन्छ

डा. होम बहादुर बस्नेत
अध्यक्ष, कुखुरा व्यवसायी मञ्च

नेपालीहरुको महान् पर्व दशैं परम्परागत रुपले मनाउँदै आइरहेको हुनाले हामीले पनि आफन्तजन, नातागोता, इष्टमित्रसँग टीका–जमरा लगाउने, भेटघाट गर्ने गरिन्छ, अनि दुर्गा भगवानको पुजापाठ गर्ने गरिन्छ । दशैंमा घरमै बसेर आफन्तजनहरुसँग टीकाजमरा लाउने, रमाइलो गर्ने योजना रहेको छ ।
दशैंमा कर्मचारीहरुलाई बिदा दिने गरिन्छ अनि आफू काममा व्यस्तता भएको हुनाले दशैंमा टीका–जमरा लाउने रमाइलो गर्नुको साथसाथै कामतिर पनि ध्यान दिइन्छ । सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, कर्मचारी तथा व्यवसायीकर्मीहरुलाई दशैं तथा तिहारको शुभकामना व्यक्त गर्न चाहन्छु ।

सानै बेलाका दशैं यादगार छन्

ऋषि बच्चन यादव
अध्यक्ष, नेपाल पशुपंक्षी ओषधी व्यवसायी संघ, विराटनगर शाखा

दशैं नेपाली हिन्दु धर्मावम्बीहरुको महान् चाड भएको हुनाले रमाइलो गर्ने, आपसी सद्भाव राख्ने, एकअर्कालाई माया गर्ने, अंगालो मार्दै रमाइलो गरेर मनाउने चाड हो । गत वर्ष बुवाआमा बित्नुभएको हुनाले दशैं मनाएनौँ तर यसपालीको दशैं भने एकदमै धुमधाम र रमाइलो गरेर साथीभाइहरु कहाँ कार्यक्रम राखेर दशैं मनाउने योजना रहेको छ । चाडपर्व भनेको जति सानो उमेरमा रमाइलो गरिन्छ, त्यति ठुलो भएर रमाउन सकिदैंन, उमेरसँगै जिम्मेवारी बढ्ने हुनाले सानो उमेरमा चाडपर्वबाट बढी आनन्द लिइन्छ ।

घरमै बसेर दशैं मनाइन्छ

रमेश बहादुर शाह
अध्यक्ष, नेपाल पशुपंक्षी ओषधी व्यवसायी संघ, नेपालगञ्ज शाखा

दशैं परम्परागत रुपले चलिआएको हुनाले हामी पनि टीका–जमरा लगाएर मान्छौं, मान्यजनकहाँ गएर टीका लाउँछौँ, दशैं हामीले परम्परागत रुपले मान्दै आइरहेका छौं । ससुराली पनि नजिकै भएको हुनाले, साथीभाइ, आफन्त पनि यतै भएको हुनाले दशैं घरमै मनाउने योजना रहेको छ । मेरो घर बर्दिया भएको हुनाले करिब चालिस साल अगाडि हामी परिवारसहित आफन्तकहाँ टीका–जमरा लगाउन लहडुमा (गोरुले तान्ने बैलगाडी) चढेर जाने गर्दथ्यौं । सबै नेपाली दाजुभाइ, दिदीबहिनी, कर्मचारी, व्यवसायीवर्गहरुको घरमा खुशियाली होस्, दशैं राम्रो होस् भन्दै नेपाली दाजुभाइ, दिदीबहिनी, कर्मचारी तथा व्यवसायीकर्मीहरुलाई दशैं तथा तिहारको शुभकामना व्यक्त गर्न चाहन्छु ।

दशैंलाई सबैले रमाइलो गर्नुुपर्छ

विदुर पौडेल
अध्यक्ष, नेपाल पशुपंक्षी ओषधी व्यवसायी संघ, धौलागिरी शाखा

नेपाल सनातनदेखि हिन्दु राष्ट्र हो, हामी नेपालीहरु पनि जुनसुकै धर्मको भएपनि बडादशैंलाई चाहीं सबैले स्वीकारेर रमाइलो गरेर मान्नुपर्छ भन्ने मेरो धारणा रहेको छ ।

LEAVE A REPLY