फेवातालमा एकैदिन ८ लाख बराबरको माछा समातियो

0
159

काठमाडौं, १६ पौष । फेवातालमा एकै दिन २ हजार २ सय ३ किलो बिगहेड माछा समातिएको छ । फेवातालमा माछा मारेर जीवन चलाउँदै आएका जलारी समुदायले थापेको जालमा एकै दिन यति धेरै माछा संकलन भएको हो । तालबाट २६ किलोसम्मको माछा समातिएको छ । उक्त माछाको मुल्य ७ लाख ९३ हजार ८० रुपैयाँ बराबर छ ।

यसअघि ०७१ सालमा २ हजार १ सय किलो माछा संकलन भएको हर्पन फेवा मात्स्य सहकारी संस्थाका अध्यक्ष ज्ञानबहादुर जलारीले जानकारी दिए । पुस, माघ र फागुनको चिसो मौसममा तालमा माछा बढी जालमा फस्ने उनले बताए ।

जलारी समुदायले मारेको माछा जलारी समुदायद्वारा सञ्चालित सहकारीले किनेर बिक्री गर्ने गर्छ । संकलित माछा प्रतिकिलो ३ सय ६० रुपैयाँ दरले बिक्री गरिएको सहकारीका अध्यक्ष ज्ञानबहादुरले बताए । कोल्ड स्टोर नहुँदा माछा बिग्रने डरले सस्तोमा बिक्री गर्नुपरेको उनको भनाइ छ । फेवाताल किनारका ९१ घरपरिवार जलारी समुदायले फेवातालका माछा मारेर जीवन चलाउँदै आएको सहकारीका अध्यक्ष ज्ञानबहादुरले बताए । सहकारीमार्फत जलारी समुदायले फेवातालमा बर्सेनि ४ लाख बढीका माछाका भुरा छाड्ने गरेका छन् ।

समुद्र सतहदेखि ७ सय ४२ मिटर उचाइमा रहेको फेवातालमा सिल्भर, ग्रास, कमन, रहु, नैनी, भ्याकुरलगायत ७ प्रजातिका बिगहेड माछा पाइन्छ । सहर, कत्ले, रेवा, काँडे, फगेटा, बर्दी, बाम, चुचेबाम, सेरापगेटा, भित्ता, भुलुक, भोटीलगायत २४ प्रजातिका माछा फेवातालमा पाइन्छ । १७ प्रजातिका स्थानीय र सात प्रजातिका विदेशी जातका माछा पाइने मत्स्य अनुसन्धान केन्द्र पोखराले बताएको छ । तीमध्ये सहर, कत्ले, काँडे, भोटी माछा लोपोन्मुख हुँदै गएको छ । पछिल्लो समय टिलापिया र माहुँर जातका माछा बढी तालमा देखिन थालेकाले स्थानीय जातका माछा लोप हुने चिन्ता बढेको सहकारीका कोषाध्यक्ष सन्तोष जलारीले बताए ।

LEAVE A REPLY