पशुपन्छी औषधी व्यावसायी संघमा त्रिपक्षीय भिडन्त अध्यक्षमा मिश्र, भण्डारी र गुरुङको उम्मेद्वारी

0
3750

काठमाडौं । नेपाल पशुपन्छी औषधी व्यावसायी संघको आसन्न अधिवेशन नजिकिदै गर्दा चुनावी सारगर्मी बढेको छ । अधिवेशनको निकट पारेर धमाधम उम्मेद्वारी घोषणा भएका छन् ।

संघको आगामी २ वर्षे कार्याकालका लागि नयाँ नेतृत्व चयन गर्न माघ १२ र १३ गते पोखरामा अधिवेशन हुँदैछ । प्यानलमा विभक्त भएर उम्मेद्वारी दिने देखि स्वतन्त्र उम्मेद्वारी घोषणा गर्नेहरु पनि चर्चामा आएका छन् । उम्मेद्वारी घोषणासँगै चुनावी प्रचारको होड पनि उत्तिकै गर्माएको छ ।

संघको बर्तमान कार्यसमितिका उपाध्यक्ष द्वय चित्र बहादुर गुरुङ र नवराज भण्डारीले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेद्वारी र चुनावी प्रचार अगाडि बढाएका छन् । यसैबीचमा तेस्रो अध्यक्ष उम्मेद्वार बनेर चर्चामा आएका छन् वर्तमान महासचिव दिनेशराज मिश्र । यो साँगै संघको आगामी कार्यकालका लागि अध्यक्षमा त्रिपक्षीय भिडन्त हुने पक्का भएको छ ।

पहिले नै अध्यक्षमा उम्मेद्वारी घोषणा गरेर विभिन्न जिल्ला भ्रमण गर्दै चुनावी माहोल बनाउन उत्रिएका वर्तमान दुई उपाध्यक्षका लागि मिश्रको आकस्मिक उम्मेद्वारी सरप्राइज बनेको छ । पशुपन्छी औषधी व्यावसायीहरुको लागी यो महासंग्राममा कसले बाजी मार्ला त्यो हेर्न भने अझै केहिदिन कुर्न पर्ने देखिन्छ । बर्तमान अध्यक्ष बडालको जोडदार साथ रहेको भनिएका मिश्रको आकस्मिक उम्मेद्वारीले चुनावी माहौलमा नयाँ तरंग पैदा गरेको छ ।

अध्यक्ष उम्मेद्वार भण्डारीलाई पूर्व अध्यक्षहरु कम्पोज बडाल र नवराज तिमिल्सेना समेतले समर्थन गरेका कारण उनीहरुको समेत क्षमताको परीक्षण यो चुनावी मैदानमा हुनेवाला छ । अकोतर्फ पूर्व अध्यक्ष रेवतिरमण निरौला र प्रजापति बास्तोलाको साथ पाएर हौसिएका गुरुङ संघको नेतृत्वमा आफ्ना विकल्प कोही हुनै नसक्ने दाबा गरिरहेका छन्। चुनावी सारगर्मीमा दुई पक्षको जोडदार भिडन्त हुने आँकलन गरेका व्यावसयीहरु सोमबार (आज) एकाएक मिश्रको उम्मेद्वारी घोषणा पछि चकित परेका छन् । चुनावी समिकरणमा व्यापक फेरवदल आएको भन्दै अवको नेतृत्व चयनका लागि पोखरामा पेचिलो प्रतिस्पर्धा हुने पूर्वानुमान गरिएको छ ।

संघको हालका महासचिव मिश्रले आफू पनि अध्यक्षको स्वाभाविक दावेदार रहेको र संघका विभिन्न समस्या समाधान गर्न आफू नेतृत्वमा जान इच्छुक रहेको भेटटाइम्ससँगको अन्तरवार्तामा बताएका छन् । उनले भेटटाइम्सको फेसबुक लाइभमा आफ्नो औपचारिक उम्मेद्वारी घोषणा गरेका हुन् । मिश्रले बाँकी दुई प्रतिस्पर्धी उम्मेद्वारहरुसँग आफू सहकार्य र सहमतीको आधारमा अगाडि बढ्न चाहेको भन्दै चुनावी तालमेल हुनसक्ने समेत संकेत दिएका छन् ।

संघका पूर्व अध्यक्षहरुले तटस्थता देखाएको खण्डमा नेतृत्व हत्याउन सकिने र उपत्यका बाहिरका व्यावसायीमाझ आफू लोकप्रिय रहेको दावा गर्ने गुरुङ लाई मिश्रको उम्मेद्वारी फापसिद्ध हुने अनुमान गरिएको छ । मिश्रको आकस्मिक उम्मेद्वारीका पछाडी बर्तमान अध्यक्ष क्रषि बडालको भुमिका रहेको कतिपय व्यवसायी र उम्मेद्वारहरुको बुझाइ छ । केहि घण्टा अगाडसम्म भण्डारीको समर्थनमा लबिङ गरिरहेका बडाल सामु मिश्रको उम्मेद्वारी धेरैका लागि अप्रत्यासित लागेको छ ।

आफ्नो कार्यकालको समाप्ती संगै आफ्नै पकडमा रहने व्याक्तिलाई संघ हस्तान्तरण गर्न ईच्छुक बडाल अब भने भण्डारी वा मिश्र कसको पक्षमा उभिन्छन् यसै भन्न सकिने अवस्था छैन । मिश्रको उम्मेदवारी आएपछि पनि नवराज भण्डारी व्याक नहुने सम्भावन रहेको आकलन गरिएको छ । तर भेटटाइम्ससँगको संवादमा भण्डारीले कुनै हालतमा आफू पछि नहट्ने अडान व्यक्त गरेका छन् ।

तीनैजना उम्मेद्वार व्यवसायीमाझा लोकप्रिय र नेतृत्वका लागि उत्तिकै सक्षम दावेदार रहेका कारण यो चुनाव रोचक हुने पूर्वानुमान गर्न सकिन्छ । तर वर्तमान अध्यक्ष वडालको आशिर्वाद पाउने उम्मेद्वारले नै आगामी दुईबर्षे कार्यकाल हाक्ने अवसर पाउने पक्का छ ।

LEAVE A REPLY