अण्डा उत्पादनमा आत्मनिर्भर नेपाल

0
119
शिवराम केसी, निवर्तमान अध्यक्ष, राष्ट्रिय अण्डा उत्पादक संघ

यही पुस महिनामा नेपाल अण्डा उत्पादनको क्षेत्रमा आत्मनिर्भर भएको छ । सरकारको पशुपंक्षी विकास मन्त्रालयले दुई वर्ष अघि सार्वजनिक गरेको ४० बुँदे प्रतिवद्धता पत्रमा नेपाललाई दुध, मासु र अण्डाजस्ता पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाउने उल्लेख थियो । ती योजनामध्येको अण्डा उत्पादनमा आत्मनिर्भर बनाउने योजना सफल भएको हो । गत वर्ष अण्डाको कूल उत्पादन र देशको जनसंख्यालाई हिसाब गर्दा प्रतिव्यक्ति ३३ अण्डा उपलब्ध थियो तर यो वर्ष अघिल्लो वर्षको कूल उत्पादन भन्दा करिब ४६ प्रतिशतले अण्डा उत्पादनमा वृद्धि भएको छ । यसै सन्दर्भमा हामीले अण्डा उत्पादक संघका निवर्तमान अध्यक्ष शिवराम केसीसँग कुरा गरेका थियौं ।

१.भर्खरै नेपाल अण्डा उत्पादनमा आत्मनिर्भर बन्यो, यसलाई सफल बनाउन कसरी सम्भव भयो ?
यसका लागि व्यवसायिक अण्डा उत्पादकहरुले आफ्नो उत्पादनमा वृद्धि गर्दै जानुभयो, यति भएपछि यहाँका उपभोक्ताहरुको माग पनि पूरा हुन थाल्यो । मागअनुसारको आपूर्ती सम्भव भएसँगै देशलाई अण्डा उत्पादनमा आत्मनिर्भर बनाउने योजना सफल भयो ।

२. पशुपंक्षी विकास मन्त्रालयको ४० बुँदे प्रतिवद्धता अन्तर्गतको यो योजनालाई सफल बनाउँदा कस्ता चुनौतीहरु आए ?

नेपाल अहिले मात्रै अण्डा उत्पादनमा आत्मनिर्भर भएको हैन । २०५१÷५२ सालतिर नै नेपाल अण्डा उत्पादनमा आत्मनिर्भर थियो । त्यस समयमा अण्डा उपभोग गर्ने फुड ह्याबिटको कमी थियो र त्यसै अनुपातमा अण्डा उत्पादन हुन्थ्यो । समयक्रमसँगै उपभोक्तामा अण्डा उपभोग गर्ने बानीको विकास हुँदै जाँदा पछिल्ला केही वर्ष मागअनुसारको आपूर्ति हुन सकेन । त्यतिबेला उत्पादन घटेको थिएन बरु बजारको माग अत्याधिक बढेको थियो । जुन अनुपातमा अण्डाको माग बढ्यो त्यो अनुपातमा उत्पादन नबढेको अवस्था थियो । लगत्तै हामीले अण्डा उत्पादनको परिमाण बढाउँदै गयौं । उत्पादन बढ्दै जाँदा अहिले आएर मागको अनुपातमा यसको उत्पादन पनि बढ्दै गएको हो । यथार्थमा भन्ने हो भने नेपाल सरकारको आत्मनिर्भरको व्याख्या र हाम्रो व्याख्या फरक छ । सरकार प्रतिव्यक्ति २ सय, ३ सय वा यस्तै निश्चित परिमाणमा अण्डा उत्पादन हुँदा आत्मनिर्भर भएको ठान्छ तर हामी व्यवसायी भने जतिबेला यहाँको जनताको अण्डा उपभोग गर्ने चाहना हाम्रै उत्पादनले पूरा गर्नसक्छ त्यसलाई हामी आत्मनिर्भर भन्छौं । हाम्रो परिभाषाअनुसार कुनै उपभोक्ताले जतिसुकै अण्डा उपभोग गर्ने चाहना राखे पनि त्यो माग हाम्रै उत्पादनले पूरा गर्नुप¥यो । खासमा भन्ने हो भने आत्मनिर्भर त हामी ४७÷४८ सालतिरै भएको हो । हामीले अण्डा उत्पादन गरेर मात्रै हुँदैन जनतामा अण्डा खाने फुड ह्याबिटको विकास हुनु पनि जरुरी छ । पहिले पहिले हामी अण्डा उत्पादन गथ्र्यौं तर अण्डा उपभोग गर्ने बानीको कमी हुँदा हामीलाई समस्या थियो । तर अहिले हाम्रो उत्पादन र उपभोगको अवस्था समान छ ।

अण्डा उत्पादनको क्षेत्रमा यो उपलब्धीसम्म आइपुग्नुको पछाडि अण्डा उत्पादक संघको भूमिका के रह्यो त ?

हामीले व्यवसायिक रूपमा अण्डा उत्पादन गर्ने उद्देश्यसहित आएका साथीहरुको बीचमा समन्वयकारी भूमिका निर्वाह ग¥यौं । उत्पादित वस्तुलाई कुन बजारमा लैजाने, कसरी लैजााने भन्नेजस्ता विषयमा पहल र व्यवस्थापनको कार्यमा सहयोग ग¥यौ । यस क्रममा सरकारी निकायले जुन सहयोग गर्नुपर्ने हो त्यस्तो केही सहयोग दिएको छैन । विशेष गरेर किसानले आजसम्म यो व्यवसायको लागि लागत मूल्य कति लगाएको छ ? लागत अनुसारको प्रतिफल पाएको छ कि छैन ? त्यस्तै कतिपय विदेशबाट आउने दानाहरुमा प्रयोग भएका सामानहरु कति मूल्यमा आएको छ ? कति परिमाणमा आएको छ ? किसानहरुले के कति मूल्यमा लिइरहेका छन् ? त्यस्ता विषयहरुमा सम्बन्धित निकायले खासै सरोकार राखेको देखिँदैन ।

नेपाल झण्डै साढे २ दशक अघिदेखि नै अण्डा उत्पादनमा आत्मनिर्भर भएको कुरा गर्नुभयो तर हेर्ने हो भने अझैपनि नेपालका धेरै क्षेत्रमा भारतबाट आयातीत अण्डाहरु उपभोग गरिन्छन् । यसलाई रोक्न मूल्य व्यवस्थापन या अन्य केही उपायका योजना ल्याउनुभएको छ त ?

खुल्ला सिमानाको कारणले भारतसँग जोडिएका नेपालका २०–२२ जिल्लामा अण्डाको आयात तथा चोरी निकासी भइरहेको छ । जसका कारण भारतबाट कम दामका गुणस्तरहीन अण्डा पनि यहाँ भित्रिने गरेका छन् । यसमा हामी व्यवसायीले सामान्य गुनासोसम्म गर्न सकिएला तर त्यसबारेमा कानुनी रूपमा अघि बढ्ने र निगरानी राख्ने काम सरकारी निकायको हो । सरकारले यसबारे कदम नचालेको हैन चालेको छ, तर त्यो अप्रयाप्त छ । स्वदेशी उत्पादनलाई सहज बनाउने र वाह्य देशको अवाञ्छनीय बजार हस्तक्षेप रोक्न सरकारको तहबाट प्रयाप्त पहलको खाँचो छ । यसका लागि हामीले समय–समयमा सम्बन्धित निकाय, पशुसेवा विभाग, प्रशासनिक केन्द्रहरुलाई झक्झकाउने काम गरिरहेका छौं । संघको हैसियतले यस्तो समस्याको बारेमा अवगत पनि गराउँदै आएका छौं ।

नेपालमा हाल अण्डा उत्पादनको तथ्यांक हेर्दा हाँसको अण्डा उत्पादन प्रतिशत न्यून देखिन्छ, यसको कारण के होला ? उत्पादन वृद्धिमा संघको कुनै योजना छ ?
हाँसको अण्डा नेवार जातिहरुले उनीहरुको परम्परागत पूजाआजामा प्रयोग गर्छन् । यसबाहेक यसको त्यति धेरै उपभोग भएको देखिएको छैन । नेपालमा दैनिकरूपमा २० देखि २२ लाखसम्म अण्डा उत्पादन हुने गरेको छ । यो सहजरूपमा बजारसम्म पुगिरहेको छ र उपभोग पनि भइरहेको छ । हाँस, लोकल कुखुरा, ब्रोइलर कुखुरा अनुसारको अण्डाको वर्गीकरण भनेको कुनै ठाउँको तथ्यांकको आधारमा सरकारको कार्यालयले निकालेको हो र यसबारे हामीलाई त्यति धेरै थाहा पनि छैन ।
संघको अबको योजना के छ ? अण्डा निर्यात सम्बन्धि कुनै योजना तयार गर्नुभएको छ ?

भर्खरै हामी आफ्नो देशको उपभोगको क्षमतालाई पूरा गर्न सक्षम भएका छौं । विदेशमा निर्यात गर्नका लागि हामीसँग त्यही अनुसारको प्रविधि हुनुप¥यो । हामीले प्रयोग गर्ने दाना भारतबाट आयात हुन्छ । यस्तो अवस्थामा हामी उनीहरुको गुणस्तरसँग प्रतिस्पर्धा गर्न सक्दैनौं । यसका लागि नेपालमै हामीले दाना प्रयोजनको लागि मकै भट्मासको प्रशस्त उब्जनी गर्नु प¥यो । अण्डालाई उनीहरुको मूल्यभन्दा सस्तो मूल्यमा दिन सक्नुप¥यो, अझ राम्रो गुणस्तर बनाउन सक्नु प¥यो । निर्यातबारे सरकारले योजना बनाएको होला त्यो आफ्नो ठाउँमा छ । हामी आफैलाई आवश्यकता पर्ने वस्तुहरुको उत्पादनमा लाग्न सक्छौं तर अण्डा निर्यातको योजनाबारे म तत्काल यसलाई सम्भव देख्दिन ।

अण्डा उत्पादक संघको तर्फबाट केही भन्नुपर्ने छ?

अण्डा उत्पादनलाई प्रबद्र्धन गर्ने क्षेत्रमा नेपाल सरकारको भूमिका एकदमै कम छ । अण्डा उत्पादनको क्षेत्रमा यहाँसम्म आइपुग्नुको पछि व्यवसायीहरुको स्वस्फूर्त लगानी र कार्यले मुख्य भ्रमिका खेलेको छ । हामी अण्डा उत्पादनमा आत्मनिर्भर भैसकेपछि यसलाई कसरी निरन्तर कायम राख्ने भन्नेपट्टि सोच्न आवश्यक छ । व्यवसायीहरुले आफ्नो लागत मूल्य उठिन्जेल या फाइदामा भइन्जेल मात्र उत्पादन गर्ने हो । घाटामा गए भने व्यवसायीले निरन्तर उत्पादन गरिरहन सक्दैनन् र उत्पादन घट्न सक्छ । यसका लागि नेपाल सरकारले अझ मजबुत ढंगबाट भारतबाट अण्डा आयात तथा चोरी निकासी हुनेजस्ता गतिविधि माथि निगरानी राख्न जरुरी छ । किसानले आफ्नो लागत मूल्य अनुरुपको आय पाएका छन् कि छैनन् भन्ने कुरालाई पनि सरकारले निगरानी राख्न आवश्यक छ । सीमा नाकामा त्यस्तो किसिमको निगरानी राख्ने, नीति निर्माण गर्ने काम सरकारले गरिदियोस् भन्ने हामी अण्डा उत्पादक संघको धारणा हो ।

LEAVE A REPLY