औषधी व्यवसायलाई कानुनी दायरामा ल्याउ (सम्पादकीय)

0
132

नेपाल पशुपन्छी औषधी व्यवसायी संघको ११ औँ राष्ट्रिय महाधिवेशनले अबको दुई बर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ । दुई दशक समय पार गरेको भेटेरीनरी क्षेत्रमा क्रियाशील व्यवसायीहरुको हकहित संरक्षण गर्ने संघका अगाडि चुनौतीको पहाड निकै ठूलो छ । मुख्यतः भेटेरिनरी व्यवसायलाई मर्यादित र व्यवस्थित रुपमा संचालन गर्ने चुनौती संघका सामुन्नेमा छ । यद्यपी यो नयाँ चुनौती हैन तर मुख्य समस्याका रुपमा ठहर गरिएको समस्याबाट पार पाउने उपायको खोजी गर्नु अब ढिला भैसकेको छ ।

पशुपन्छीको औषधी, आहार लगायत आवस्यकीय वस्तुको कारोबार गर्ने देशभरका व्यवसायी संघमा आवद्ध छन् । ती व्यवसायीलाई पर्ने पीरमर्का समाधान गर्ने देखि नीतिगत, कानुनी र व्यवहारिक अप्ठेराहरुसँग जुधेर व्यवसायिक सुरक्षा ग्यारेन्टी गर्ने दायित्व संघको हो । त्यति मात्रै हैन व्यवसायमा विद्यमान विकृति विसंगति हटाएर मर्यादित व्यवसायका रुपमा स्थापित गर्नु संघको मुख्य दायित्व हो ।

संघकै तथ्यांकलाई आधार मान्ने हो भो १२८४ भेटेरिनरी पसल अहिले पनि दर्ताविनै संचालनमा छन् । संघका लागि यो एउटा कलंककै रुपमा रहँदै आएको छ । संघको नयाँ नेतृत्वले यो कलंकलाई मेट्नका लागि के पहल गर्छ र त्यसमा कति उपलब्धि हुन्छ भन्ने कुरा नै सफलता वा असफलताको मानक हुनेछ । संघको नेतृत्वले यो विषयलाई गम्भीरतासाथ सम्बोधन गर्नुपर्नेछ ।

विश्वमा भएका नविनतम अभ्यास र विकसित नयाँ प्रविधिलाई आत्मसाथ गर्दै नेपालमा पनि व्यावसायलाई आधुनिकीकरण गर्ने तर्फ संघले सांगठनिक प्रयत्नहरु अगाडि बढाएको छ, जुन आफैमा स्रहानीय छ ।

नेपाल पशुपन्छी औषधी व्यवसायी संघको प्रमुख उद्देश्य भनेको गुणस्तरीय औषधीहरु पशुपंक्षी तथा मत्स्य पालन व्यवसायीहरुलाई उपलब्ध गराउनु हो । पशु आहारको सहज उपलब्धता र त्यसको गुणस्तरीयता एवं मापदण्डलाई पूरा गर्दै मानव स्वास्थ्य अनुकुलमा उत्पादनलाई केन्द्रि गर्नु संघको लक्ष्य रहेको स्पष्ट छ । यसबाहेक सहज रुपमा देशका दूरदराजका स्थानहरुमा सेवा र वस्तु पु¥याउनु पनि संघको उद्देश्य हो । तर यिनै उद्देश्य पूरा गर्नका लागि देशभर खोलिएका भेटेरिनरी पसलहरु नै राज्यको कानुनी दायरामा छैनन् भने ती पसल र व्यवसायीहरुबाट मर्यादित व्यवसाय हुने अपेक्षा राख्नु आफैमा नमिल्दो हुनेछ । हो, नीतिगत र व्यवहारिक कठिनाइका कारण पसलहरु कानुनी दायरामा आउन चाहँदा पनि पाएका छैनन् । यो एउटा तितो यथार्थ हो । तर सधै समस्या मात्रै देखाएर स्थितिलाई यथावत रहन दिने नेतृत्वलाई सफल नेतृत्व मान्न सकिदैन ।

स्थापनाकालदेखि अहिलेसम्म आइपुग्दा विभिन्न आरोह अवरोह पार गर्दै अगाडि बढेको संघले आफ्ना मुख्य दोष पक्ष के हुन् र सवल पक्ष के हुन् भन्ने यकिन गरेर दोष मेटाउने र सवल पक्षलाई थप वढावा दिने स्पष्ट नीति र योजनासाथ अगाडि बढ्नुको विकल्प छैन ।

देशको संघीय संरचनाअनुसार रुपान्तरित हुँदै प्रदेशसस्तरीय शाखा र जिल्लास्तरीय शाखाहरुमा विस्तारित भएको संघको नयाँ संरचनामा काम गर्ने सुरुवाति चरण आफैमा चुनौतीपूर्ण छ । तर देश नै संघीय संरचना अवलम्बन गर्ने चरणमा रहेको यो संक्रमणकालीन समयमा संघले अझ चुस्त भएर आफ्नो सञ्जाल व्यवस्थित गर्ने र सेवा प्रभावकारी बनाउने दायित्व वहन गर्नै पर्ने हुन्छ ।

संघको नेतृत्वले महसुस गरेकै छ कि पशुपन्छीका औषधी आयातकर्ता, थोक व्यवसायी र खुद्रा व्यवसायीबीचको तालमेल मिलेको छैन । एकले अर्कोको कार्यक्षेत्र मिचेर अस्वस्थ प्रतिस्पर्धा गरिरहेको स्थिति जगजाहेर नै छ । यो स्थितिले भेटेरिनरी व्यवसायलाई थप समस्याग्रस्त बनाएको छ ।

२०४७ साल पुस २४ गते सीमित व्यवसायीहरु मिलेर स्थापित संघ आजको मितिमा आइपुग्दा देशकै एक ठूलो सञ्जालमा रुपान्तरित भएको छ । अहिले संघमा देशभरीका २५०० भन्दा बढी व्यवसायी संगठित छन् । यो निकै ठूलो सञ्जाल हो । यो भिमकाय सञ्जाल व्यवस्थित गर्ने र व्यवसायलाई कानुनी दायरामा ल्याउने एवं मर्यादित बनाउने दायित्व नयाँ नेतृत्वले वहन गर्नै पर्छ ।

LEAVE A REPLY