नेपालमा विकसित शैली विदेशमा सफल

0
216
शुभनारायण महतो, राष्ट्रिय निर्देशक, हेफर इन्टरनेशनल नेपाल

गएको सेप्टेम्बर २६ तारिखमा मात्र नेपालमा आफ्नो स्थापनाको २० औं वार्षिकी मनाएको अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हेफर इन्टरनेशनल अमेरिकामा सन् १९४४ मा स्थापना भएको थियो । दोस्रो विश्वयुद्धताका युरोपमा शरणार्थीहरुलाई खाद्य उपलब्ध गराउन पुगेका अमेरिकी कृषक नागरिक डान वेस्टको पशु उपहार प्रदान श्रृंखलाको अवधारणामा संसारबाटै भोक र गरिबी निवारण गर्ने उद्देश्यले स्थापना भएको यस हेफर इन्टरनेशनलले नेपालमा आफ्नो सेवा विस्तारका लागि २०५४ सालमा संस्थागत रूपमा स्थापना भएको हो ।
नेपालमा हेफरको कार्यक्रम, कार्य तथा सेवा क्षेत्र एवं परियोजनाबारे बुझ्न हामीले हेफर इन्टरनेश्नल नेपालका कन्ट्री डाइरेक्टर÷महानिर्देशक डा. शुभनारायण महतसँग कुराकानी गरेका थियौं । यसको स्थापनाकालबाट कुरा गर्दै उनले डान वेस्टले भोक तथा गरिबी निवारणका लागि विकास गरेको अवधारणा अन्तर्गतको पशु उपहार श्रृंखलालाई कोरोली गाई उपहार दिएर विकास गरेको बताए । कोरोली गाईलाई अंग्रेजीमा हेफर भनिने गरिएकोले संस्थाको नाम नै हेफर राखेर यसलाई संस्थाको रुपमा सुरुवात गरेको उनी बताउँछन् । छिमेकी मुलुक भारत र अन्य दक्षिण एसियाली मुलुकहरुमा हेफरले आफ्नो सेवा विस्तार गरेपछि नेपाल सरकारका एक कर्मचारी डा. महेन्द्रनाथ लोहनीको पहलमा नेपालमा हेफरको सम्भावनालाई परीक्षण गर्न पहिलो कार्यक्रम ल्याइएको थियो ।
यस कार्यक्रम अन्तर्गत १९९३ मा चितवनको गीतानगरमा पहिलो पटक एउटा २५ सदस्यीय महिला समूहलाई करिब १२ हजार डलर रकममा २÷२ वटा बाख्रा उपहार प्रदान गरिएको थियो । डान वेस्टको अवधारणाको उक्त उपहार कार्यक्रम, जसलाई बरुवा गोट रेजिङ प्रोजेक्ट नाम दिइएको थियो, त्यसमा प्रदान गरिएको बाख्राको हाल पन्ध्रौं पुस्ताको उपहार वितरणमा पुगेको उनले बताए । सुरुवाती कार्यक्रमको सफलता देखेर उत्साहित भएपछि हेफरले सन् १९९५ मा नुवाकोट जिल्लामा भैंसी वितरणको दोस्रो कार्यक्रम सञ्चालन ग¥यो । ती सबै कार्यक्रमको नेपालमा सफलता र सम्भावनालाई देखेर २०५४ सालमा समाज कल्याण परिषद्मा दर्ता गराएर यसको विधिवत् रुपमा संस्था सुरुवात गरियो ।
नेपालको पहाडी तथा तराई क्षेत्रका पाँच सदस्यीय परिवारको सम्पूर्ण आधारभूत आवश्यकतालाई पूरा गर्नसक्ने किसिमको जीवनशैलीका लागि हेफरले प्रतिमहिना २७ देखि ३५ हजार नेपाली रुपैयाँ लाग्ने आफ्नै आकँडा निकालेको छ र यसैलाई पूरा गर्ने उसको प्रमुख लक्ष्य रहेको महानिर्देशक शुभनारायण महतले बताए । हाल नेपालको ४१ जिल्लामा सेवा विस्तार गरेको हेफरको ३१ देखि ३८ जिल्लामा भने परियोजना सक्रिय रुपमा सञ्चालन भैरहेको छ । यसबीच हेफर अहिलेसम्म २ लाख ५५ हजार परिवारमाझ पुगिसकेको महानिर्देशक महत बताउँछन् । हालै १ लाख ३८ हजार परिवारलाई समेटेर एउटा दुध र बाख्राको परियोजना समापन गरेको महानिर्देशक महतले बताए । यसका लागि मानव, तथा पशु स्वाथ्य एवं उत्पादन र उत्पादकत्व वृद्धिका लागि विभिन्न अनुसन्धान, तालिम परियोजनामाथि काम गरिरहेको बताइयो ।
नेपाललाई पशुपंक्षीजन्य खाद्य बस्तुमा आत्मनिर्भर गराउन र भोकमरी गरिबीको समस्यालाई निराकरण गर्न हेफर नेपाल दुध, अण्डा र खसीको मासुमा आत्मनिर्भर बनाउने उदेश्यसहित काम गरिरहेको छ । महानिर्देशक महतले बताए अनुसार पशुपंक्षी विकास मन्त्रालयले दुई वर्षअघि प्रस्तुत गरेको ४० बुँदे प्रतिवद्धता पत्रमा उल्लेखित २ वर्षभित्र मासु, दुधमा आत्मनिर्भर बन्ने योजनालाई पनि सहयोग पु¥याउन लागेको बताए । विशेष गरी नेपालमा धेरै बाख्रा आयात हुने भएकोले त्यसलाई प्रतिस्थापन गर्न साथै दुध उत्पादनमा वृद्धि गर्न उत्पादन र उत्पादकत्व वृद्धिका लागि घाँसपात, नस्लजातमा सुधार र व्यवस्थापन जस्ता सर्वपक्षीय सुधारका लागि साझेदारी गरिरहेको बताए ।
उत्पादन र उत्पादकत्व वृद्धिले मात्रै किसानको आर्थिक अवस्था र जीवनस्तर नसुध्रिने भएकोले हेफरले कार्य सम्पादनमा नयाँ शैली अपनाउने गरेको महतले बताए । यो नयाँ शैलीको नाम भने ‘थ्योरी अफ चेन्ज’ रहेको छ । यसअन्तर्गत हेफरले आफ्ना परियोजनाबाट तीनवटा लक्ष्य राखेको छ – पहिलो परिवारको पूँजी र आम्दानीमा वृद्धि हुने, दोस्रो पोषण र खाद्य सुरक्षा बढ्ने र तेस्रोमा वातावरणलाई पनि सहयोग पुग्ने । तर, यी तीनवटै लक्ष्यलाई ज्ञान र सीपले मात्र प्राप्त गर्न सक्दैन, यसका लागि हेफरले पूर्वाधारहरु महिला सशक्तीकरण र सामाजिक पूँजी स्थापनालाई बनाएको छ । हेफरका महानिर्देशक शुभनारायण महतका अनुसार समाजमा रहेका साना साना उत्पादक एकाईको पूँजी र उत्पादनलाई संगठित गर्न सकियो भने त्यसलाई बजारमा लान पनि सजिलो हुन्छ साथै त्यसले ठूल्ठुला व्यवसायिक उत्पादक संस्थासँग पनि प्रतिस्पर्धा गर्न सक्छ । प्रत्येक उत्पादक परिवारबाट महिलाको प्रतिनिधित्व गराउँदा महिला सशक्तीकरण हुनुका साथै तालिमको राम्रो सदुपयोग हुने उनले बताए । तर, यी सबै योजनालाई मूर्तरुप दिन विभिन्न चुनौतीहरु रहेको महानिर्देशक महत बताउँछन् ।
नेपालमा अझै पनि जातीय तथा वर्गीय भेदभाव रहेको अवस्थामा सामाजिक पूँजी स्थापनाको योजना पूरा गर्न समस्या हुन्छ । तर यसलाई पनि हल गर्न हेफरले पृथक शैलीको योजना विकास गरेको छ जसलाई हेफरको आधारशिला अथवा ‘हेफर्स कर्नरस्टोन’ भनिन्छ । यस अन्तर्गत उपहार प्रदान, महिला सशक्तीकरण, पारदर्शिता, दीगो विकास, वातावरणसम्बन्धि मुद्दा लगायतका दशवटा वुँदाहरु रहेका छन् । यसअनुसार हेफरले समाजका सदस्यहरुलाई तालिम दिने र आत्मानुभूति गराई साझेदारी र समन्वयका लागि तयार गर्ने गरेको बताएको छ ।
हेफरले आफ्नो पृथक शैली एकदमै प्रभावकारी भएको बताउँदै यो पशुपन्छी विकास मन्त्रालय, पशुसेवा विभाग लगायत नेपालभरी नै प्रशंसनीय रहेको बताए । साथै सन् २००४ तिर नेपालबाट सुरु भएको यो शैलीमा हेफरले अन्य मुलुकमा पनि काम गर्न थालेको महानिर्देशक महतले बताए ।
अमेरिकाबाट सुरु भएको यस अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको कोष भने विशेष गरी अमेरिकी नागरिकको व्याक्तिगत सहयोग र अन्य कोषसंकलनका लागि मार्केटिङ मिडिया, कार्यालय, वेबसाइटहरु रहेको महानिर्देशक महतले बताए । साथै आफूहरुले कुनैपनि परियोजना सञ्चालन गर्दा लक्षित वर्गको पनि लगानी हुने साथै स्थानीय निकाय, सम्बन्धित संस्था, तथा अन्य लाइन एजेन्सीहरुले पनि लगानी गर्ने बताए ।
स्थानीय जनताले लगानी गर्दा परियोजनाप्रति अपनत्व महसुस हुने कार्यक्रम प्रभावकारी बन्ने उनले बताए । त्यसैले कुनैपनि परियोजनाका लागि संस्थाले समुदायबाट २५ प्रतिशत लगानीको अपेक्षा गर्छ तर अहिलेसम्म ५० प्रतिशतसम्म योगदान भएको पाएको उनले बताए ।
नयाँ संविधानको निर्माण र कार्यन्वयनका काम सुरु भएसँगै एक पार्टीले बहुमत ल्याएको छ र अबका दिनमा स्थिर सरकार बन्नसक्ने परिपेक्ष्यमा महानिर्देशक शुभनारायण महत अब सरकार कुर्सीको लुछाचुँडीमा भन्दा पनि विकासको काममा लाग्ने अपेक्षा गरेको बताउँछन् ।

LEAVE A REPLY