व्यवसायीले आफ्नो सीमा नाघ्नु हुँदैन

0
392
चित्रबहादुर गुरुङ, अध्यक्ष, पशुपन्छी औषधी व्यवसायी संघ

नेपाल पशुपन्छी औषधी व्यवसायी संघको ११ औं केन्द्रिय महाधिवेशनबाट अध्यक्ष पदमा भारी मतले विजयी चित्रबहादुर गुरुङले आफ्नो कार्याकाल प्रारम्भ गरेका छन् । निर्वाचनमा उनले गरेका प्रतिबद्धता पूरा गर्दै संघलाई अगाडि बढाउने तर्खरमा रहेका गुरुङसँग भेटटाइम्सले गरेको कुराकानीः

पशुपन्छी औषधी व्यवसायी संघको अध्यक्षमा भारी मतले विजयी हुनुभयो, कस्तो महसुस भइरहेको छ ?

जिम्मेवारी थपिएको जस्तो महसुस भएको छ । पहिले अलि मध्यम तरिकाले काम गर्ने गरेकोमा अब अझै लगनशीलताका साथ काम गर्न जिम्मेवारी पाएको छु ।

उम्मेदवारी दिने बेला गरेका प्रतिबद्धता पूरा हुन्छन् त ?

ती अधिकांश प्रतिबद्धताहरु सामूहिक रुपमा गर्ने खालका थिए । ती काममा नेतृत्व मैले लिने हो । काम कार्यसमितिले मिलेर गर्ने हो । एक्लैले गर्ने भन्ने हुँदैन । टिममा गर्ने कामहरुको प्रतिबद्धता गरेको थिएँ । मुख्य प्रतिबद्धता पसलहरुलाई व्यवस्थित गर्ने कुरा थियो । त्यो काममा म लागिरहेको छु । हाम्रा प्रथम उपाध्यक्ष विष्णु बुर्लाकोटीले पसलहरुको समस्या, चुनौती र समाधानको विषयमा कार्यक्रमहरु गर्दै पनि आउनुभएको छ । त्यसमा निरन्तर सहयोग गरिरहेका छौं ।

संघको पहिलेदेखिकै महत्वाकांक्षी योजना थियो आफ्नै भवन बनाउने । यस विषयमा के गर्दै हुनुहुन्छ ?

भवन चाहिँदै नचाहिने भन्ने होइन । गैरनाफामुखी सामाजिक संस्थाहरुमा भवन भए त अति राम्रो तर भवन नभए पनि खासै फरक पर्दैन । हाम्रो योजना नै भएकोले भवन निर्माणको क्षेत्रमा पनि पहल भइरहेको छ ।

तपाँइहरुकै तथ्यांक अनुसार बिना दर्ता चलिरहेका १२८४ भेटेरिनरी पसलहरु छन् । त्यसलाई व्यवस्थित गर्ने के गर्दै हुनुहुन्छ ?

त्यस विषयमा बैठकहरु भइरहेका छन् । कसरी व्यवस्थित बनाउने भन्ने विषयमा कार्ययोजना बनाउने क्रममा छौं । १२८४ पसल संख्या चुनावका बेला चुनावी नारा पनि भयो । त्यो भन्दा पनि जहाँ समस्या छ त्यहाँ समाधान गर्ने हो । जस्तो सुर्खेतमा समस्या छ । २ नम्बर प्रदेशको पहाडी जिल्लाहरुमा समस्या छ । अहिले बिना दर्ता चलेका पसलको संख्या अझै बढी छ । पसलहरु अझै धेरै दर्ता भइसकेका छैनन् । ती सबैलाई व्यवस्थित गराउनुपर्ने छ । ३५ दिने तालिम लिनेहरुका पसल धेरै भेटिएका छन् । आवश्यकता भएका त्यस्तो विशेष ठाउँहरुमा औषधी व्यवस्था विभाग, पशुसेवा विभागसँग समन्वय गरेर व्यवस्थित गर्छौं ।

एण्टिबायोटिक प्रयोगका विषयमा औषधी व्यवसायी, औषधी व्यवस्था विभाग र पशुसेवा विभागबीच केही सहमति भएको पनि सुनिन्छ । अर्कोतर्फ गएको साउनदेखि पशुसेवा विभागकै सिफारिसलाई तोडमोड गरेर फिड सप्लिमेन्टमा एण्टिबायोटिक मिसाउने, बजार अस्वस्थ बनाउने जस्ता कामहरु भएको भन्ने सुनिन्छ नि ?

गर्नेहरुले त जसरी पनि गरिहाल्छन् । खुला सिमाना भएकोले औषधी व्यवस्था विभाग र पशुसेवा विभागलाई दोष नलगाऔं । बजारलाई व्यवस्थित गराउने त हामी व्यवसायीले नै हो । अहिले बजारमा भएका त्यस्ता फिड सप्लिमेन्ट यो नियम बन्नुभन्दा अगाडि आएजस्तो मलाई लाग्छ । असारभन्दा अगाडि नै केही धेरै ल्याएका सामग्रीहरु अहिले पनि बजारमा बिक्री भइरहेजस्तो मैले बुझेको छु ।

अध्यक्ष भएपछि पसलहरु दर्ताको लागि के के पहल गर्नुभयो ?

हामीले त्यसको लागि विभिन्न चरणमा छलफलहरु गरेका छौं । यस विषयमा निर्देशिका आउने काम अन्तिम चरणमा छ । तर औषधी व्यवस्था विभागको आन्तरिक समस्याका कारण निर्देशिका भने आउन सकेको छैन । निर्देशिका कसरी आउँछ त्यसरी नै पशुसेवा विभाग र औषधी व्यवस्था विभाग अगाडि बढ्छन् । हामीले पनि पहल गर्ने आफ्नो ठाउँमा छ ।

व्यवसायीले तपाइँसँग धेरै आशा गरेका छन् । तपाइँलाई निर्वाचनमा दिएको मतले पनि यही देखाउँछ । पदमा पुगेपछि त यो विश्वास टिकाइराख्न गाह्रो हुन्छ होला ?

काम गर्ने जोस, जाँगर र तीब्र इच्छाशक्ति छ । आफूले सक्ने काम इमान्दारितापूर्वक गर्ने हो । नतिजा के कति हातलाग्छ त्यो गर्दै जाँदा थाहा लाग्ने हो । त्यसैले म कामका लागि प्रतिबद्ध छु । हिजो पनि मैले यसै भनेको हुँ । त्यसैले मलाई साथीहरुले मत पनि दिनु भएको हो । अब पोखरामा हुने तेस्रो कार्यसमितिको बैठकमा बजारमा के कस्ता समस्या छन् भन्ने प्रस्ट रुपमा ल्याउन सम्बन्धित उपाध्यक्षलाई निर्देशन दिइसकेको छु । उहाँहरुले बैठकमा भएका समस्या ल्याउनुहुन्छ त्यसपछि हामी त्यसलाई कसरी समाधान गर्ने भन्नेतर्फ अगाडि बढ्छौं ।

नीतिगत र व्यवहारिक दुबै समस्या छन् । जुध्न त निकै सामथ्र्य चाहिन्छ नि ?

हामीले सबैभन्दा पहिले सबै कुरा सिस्टममा ल्याउनु पर्छ । सिस्टम भयो भने सबै बाँच्छौं । सबै व्यवसायीको आ–आफ्नो क्षेत्र छ । आफ्नो क्षेत्र मिचेर काम गर्नु भएन । त्यसैलाई व्यवस्थित गराउने हो । यसका लागि हामीले उपाध्यक्षहरुलाई जिम्मा दिइसकेका छौं । यसरी पनि भएन भने हामीले प्रदेशलाई जिम्मेवारी दिने सोच बनाएका छौं । साथीहरुले सहयोग गर्नुभयो भने यसलाई व्यवस्थित गर्न समस्या छैन । हामीले नै सबै पूरा गर्न नसकेपछि हामीले सुरुवात गर्ने हो अर्को कार्यकालसम्म पूरा होला । जे भए पनि हाम्रो उद्देश्य भनेको व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउने हो । हामीले सम्बन्धित विभागसँग पनि त्यही किसिमले लबिङ गरिरहेका छौं ।

LEAVE A REPLY