मकै भटमास जति उत्पादन गर्नुस्, किन्ने जिम्मा हाम्रो

0
4959

नेपाल दाना उद्योग संघको भर्खरै सम्पन्न अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएका रविन पुरीले जिम्मेवारी सम्हालेको केही महिना मात्र भएको छ । उनको काँधमा देशैभरीका दाना उद्योगीको हकहितको संरक्षण गर्दै व्यवसायिक सुरक्षाको जिम्मेवारी छ । २७ वर्षदेखि दाना व्यवसायमा रही यसका उतारचढाव भोग्दै आएका पुरीसँग व्यवसायलाई सही बाटोमा हिँडाउने कस्ता योजना छन् ? यही सेरोफेरोमा रही पुरीसँग भेट टाइम्सका लागि विष्णुप्रसाद पाण्डेयले गरेको कुराकानीको सम्पादित अंश ।

व्यवसायमा कसरी प्रवेश गर्नुभयो ?

व्यवसाय ३८ सालदेखि मेरो बुवाले सुरु गर्नुभएको हो । मैले भने २०४८ सालदेखि यो व्यवसायमा हात हालेको हुँ । २०४८ सालमा बुवाको दाना उद्योग छँदै थियो । मैले भने कोल्ड स्टोरबाट व्यवसाय सुरु गरें । ४ वर्षसम्म कोल्ड स्टोर संचालन गरेपछि २०५२ सालमा मैले त्यो व्यवसाय छोडेर पढाइतिर लागें । २०५७ सालमा म पुनः व्यवसायमा फर्किएँ र त्यसपछि यो व्यवसाय मैले नै हेर्दै आइरहेको छु ।

बुवाको प्रेरणाले यो व्यवसायमा आउनुभएको हो वा आफ्नै रुचिले ?

बुवाले नै ल्याउनुभएको हो । उहाँले नै यो व्यवसायका बारेमा सिकाउनुभयो अनि मात्र मैले यो व्यवसाय थालें । त्यसअघि मैले विभिन्न सरकारी सेवामा जाने प्रयास पनि गरेको थिएँ । आर्मीमा, प्रहरी इन्स्पेक्टरमा प्रयास गरें तर त्यता सफल हुन सकिन । त्यही बीचमा बुवाले आफ्नै व्यवसाय ग¥यो भने अरुलाई पनि फाइदै हुन्छ आफूलाई पनि आर्थिक हिसाबले सहज हुन्छ त्यसैले यही व्यवसायमा निरन्तरता दिन भन्नुभयो । त्यसपछि मैले पनि यही व्यवसायमा लाग्नु नै उचित देखेर यतै सक्रिय हुन थालें ।

२०४८ सालतिरको दाना व्यवसायको अवस्था र अहिलेको अवस्थामा कत्तिको फरक देख्नुहुन्छ ?

उतिबेलाको र अहिलेको व्यवसायमा धेरै नै फरक छ । त्यो बेला हामीले सत्तरी दिनमा पनि कुखुरालाई २ किलो सम्मको बनाउन समस्या हुन्थ्यो । अझ भनौं २ किलोको बनाउन सकिँदैनथ्यो । अहिले आएर कुखुरा लगभग ३६ दिनमा नै २ किलोको हुन्छ । त्यो बेलामा एउटा कुखुराले ५–६ किलो दाना खाएर २ किलो हुन्थ्यो भने अहिले ३ किलोजति दाना खाएरै २ किलोको हुन्छ । त्यो प्रविधि अहिले नेपालमा भित्रिइसक्यो । यस्ता धेरै प्रविधिहरु भित्रिइसकेका छन् । त्यो बेला र अहिलेको अवस्थामा दाना उद्योगमा धेरै नै फरक आइसकेको छ ।

पहिले दाना उत्पादन गर्दा कस्ता कस्ता प्रविधि प्रयोग हुन्थे ?

पहिले सुरुमा नेपालमा दाना उद्योग स्थापना हुँदा एउटा ग्र्याण्डरले मकै पिन्यो । ग्रयाण्डरबाट पिनिएको मकै निस्किएपछि साबेलले घोलेर बोरामा प्याक गरेर किसानकहाँ पु¥याइन्थ्यो । तर अहिले आएर यो प्रविधिमा रेडिकल चेन्ज नै आएको छ । कम्प्युटरबाट नै सबै मेसिन चलाउन सकिने स्थिति बनिसक्यो । संसारकै उत्कृष्ट प्रविधियुक्त स्विट्जरल्याण्डमा बनेको मेसिन नेपालमा आइसक्यो । अहिले दाना उद्योगमा मेसिनहरुको कुनै कमी छैन । अत्याधुनिक र स्वचालित प्रविधिबाट दाना बन्छ ।

दाना उद्योगलाई यो अवस्थामा ल्याउन सरकार भन्दा धेरै व्यवसायीको हात देखिन्छ । पहिले र अहिले कस्ता कठिनाइहरु छन् ।

अहिले सरकारले भन्ने गरेको छ कुखुरा र अण्डामा हामी आफैं आत्मनिर्भर छौं । यद्यपि यो व्यवसायमा समस्याहरु पनि छन् । केही दिनअघि गृहमन्त्री, कृषिमन्त्रीहरुले हाम्रो कार्यक्रममा हामीलाई तपाइँहरुले देशमै आत्मनिर्भर पोल्ट्री व्यवसाय गर्नुभएको छ । यहाँहरुलाई कस्तो समस्या पर्छ त्यसमा सहयोग गर्न हामी तयार छौं भनेर भन्नुभएको छ । हुन त हामी हाम्रा गुनासा र समस्या लिएर सरकारी निकायमा पहिलेदेखि नै गइरहेका छौं । अब पनि जान्छौं । अब चाहिँ हाम्रा माग केही सम्बोधन होलान् कि भन्ने लागेको छ । किनकि पहिले देशको राजनैतिक अवस्था पनि अस्थिर थियो तर अहिले त्यस्तो छैन । पहिले त एउटा मन्त्री आउनुहुन्छ, उहाँले कुरा बुझ्नुहुन्छ तर काम गर्न नपाउँदै सरकार फेरिन्छ । अर्को मन्त्रीलाई फेरि सुरुदेखि बुझाउनुपर्ने अवस्था थियो । अहिले राजनैतिक स्थिरता आएकोले हाम्रो समस्या सम्बोधन हुन्छ कि भन्ने लागेको छ । सरकारमा जाने दलका नेताहरुले पाि अबको हाम्रो लक्ष्य समृद्धि र विकास भन्नुभएको छ । त्यसैले पनि हाम्रो समस्या सम्बोधन होला भन्ने आशा गरेका छौं ।

यहाँ भर्खरै दाना उद्योगको देशभरीकै नेतृत्व गर्ने स्थानमा पुग्नुभएको छ । संघकै नेतृत्व गर्दा कस्ता योजना बनाउनुभएको छ ?

हाम्रो संघमा आबद्ध भएका सहित समग्र व्यवसायलाई सहज रुपमा संचालन गर्न के कस्ता समस्या छन् ? ती समस्या समाधान गर्नको लागि हामीले सम्बन्धित निकायमा गइ लबिङ गरेर यो व्यवसायलाई समस्यारहित बनाउने मेरो प्रयास हुनेछ । हाम्रो सबैभन्दा ठूलो त्रास भनेको नेपाल भारतको खुला सिमानाका कारण सृजना हुने समस्या हुन्। अहिले भारतमा बर्डफ्लु देखिएको छ । खुला सिमानाका कारण भारतबाट चोरीनिकासी गरेर कुखुराहरु भित्रिइरहेका छन् । यसरी भित्रिँदा बेलाबेलामा बर्डफ्लु भित्रिएको छ । यसले विगतका वर्षमा कैयौं कुखुरा मरे, कैयौं व्यवसायी टाट पल्टिए । यो क्रम रोकिएको छैन । यसले हाम्रो व्यवसाय चौपट बनाउँछ । त्यसैले हाम्रो सबैभन्दा प्रमुख माग भनेको त खुला सिमानालाई टाइट गर्नुप¥यो भन्ने हो । अर्को कुरा हामीलाई दाना बनाउनको लागि चाहिने प्रमुख कच्चा पदार्थ भनेको मकै हो । मकैको उत्पादन नेपालमा घट्दै गइरहेको छ । हामीले उद्योग चलाउन चाहिने मकैमध्ये ३० प्रतिशत मात्रै नेपाली उत्पादन पाउँछौं । बाँकी ७० प्रतिशत भारतबाटै आयात गर्नुपर्ने अवस्था छ । अर्को कच्चा पदार्थ भटमास पिना त शतप्रतिशत नै भारतबाट ल्याउनु पर्छ । यो दुई कच्चा पदार्थमा मात्रै ठूलो रकम बाहिरिएको छ । मकै र भटमास पिना मात्रै वार्षिक १५–१६ अर्बको आयात हुन्छ । अर्कोतर्फ हाम्रो देशबाट दैनिक १५–१६ सय युवा विदेश पलायन हुनुपर्ने अवस्था छ । यस्तो अवस्थामा तिनै युवालाई परिचालन गरेर नेपालमै मकै र भटमास उत्पादन हुने हो भने युवाले पनि रोजगार पाउँथे । हाम्रो पूँजी पनि स्वदेशमै रहन्थ्यो । यी क्षेत्रमा केही गर्न सकियो भने हाम्रो व्यवसायलाई अझै सुदृढ बनाउन सकिन्छ ।

नवनियुक्त कृषिमन्त्रीले पनि कृषिजन्य वस्तुहरु सकेसम्म आयात नगर्ने नीति लिने भन्नुभएको छ । यस्तो अवस्थामा संघले सरकारसँग सहकार्य गर्नको लागि केही खास काम गर्न सक्छ ?

यदि सरकारले त्यस्तो नीति लिन्छ भने हामी आफैं खेती गर्न त सम्भव नहोला तर त्यसरी उत्पादन भएका कुराहरु हामीले बजारमा चलनचल्तीको मूल्यमा किनिदिने ग्यारेन्टी दिन सक्छौं । जस्तो हाम्रो कच्चा पदार्थ मकै उत्पादन गर्न सरकारले पहल गर्छ भने त्यो उत्पादनले बजार नपाउने समस्या हुँदैन । सबै किनिदिने ग्यारेन्टी हामी दिन्छौं । ती हामीलाई चाहिने चीज हुने । हामीले बाहिरबाट ल्याउनुपर्छ । यदि हाम्रै देशको उत्पादन छ भने हामी बाहिरबाट ल्याउनेतिर त लाग्दै लाग्दैनौं । केही समयमै हामी सरकारी निकायसँग छलफल गर्ने योजनामा छौं । त्यतिबेला यी कुरा राख्छौं ।

अन्य केही नयाँ योजनाहरु ल्याउने सोच्नुभएको छ ?

अहिले नेपालमा दैनिक २७०० देखि ३ हजार मेट्रिक टन दाना खपत भइरहेको छ । देशको मासु खपतको अनुपातको कुरा गर्ने हो भने वर्षमा प्रतिव्यक्ति ५ किलोको हाराहारीमा मासु खपत हुन्छ । यो अत्यन्तै न्यून हो । एसियाकै अनुपात हेर्ने हो भने प्रतिव्यक्ति वार्षिक ११ किलोको हाराहारीमा मासु खपत हुन्छ । युरोप अमेरिकातिरको कुरा गर्ने हो भने त प्रतिव्यक्ति ५७–६० किलोसम्म खपत हुने गरेको छ । विकसित देशलाई नहेर्दा पनि हामीले एसियाको सरह मासु खपत अनुपात बढाउने हो भने दाना पनि अहिलेको दोब्बर चाहिन्छ । यही कुरालाई ध्यानमा राख्दै हामीले अबको ५ वर्षमा उत्पादन दोब्बर गर्ने लक्ष्य राखेका छौं । त्यसका लागि खपत पनि दोब्बर बनाउनुपर्ने हुन्छ त्यो चुनौती सामना गर्न पनि तयार छौं । अहिले १ लाख ५० हजार जनाले पोल्ट्री व्यवसायमा प्रत्यक्ष रोजगारी पाइरहनु भएको छ । अप्रत्यक्ष २ लाखले पाउनुभएको छ । यदि हामी आफ्नो लक्ष्यमा रफल रह्यौं भने त्यो रोजगारी बढेर ४ लाख हुन जान्छ । हामी यो लक्ष्य पूरा गर्नेतर्फ सक्रिय छौं ।

देशमा सहकारीताको प्रचलन बढेको छ । यदि कुनै संघ संस्थाले हामीले सामूहिक रुपमा यति मकै उत्पादन गर्न सक्छौं भनेर यहाँहरुसँग आउनुभयो भने ?

यदि यस्तो भयो भने हामी सम्झौता नै गरेर अगाडि बढ्छौं । उहाँहरुको उत्पादन लिनको लागि हामीलाई कहाँ पायक पर्छ । हाम्रा दाना उद्योग कहाँ छन् र उत्पादन हुने ठाउँ कहाँ छ त्यसको अवस्थाअनुसार हामीले हाम्रो संघको देशैभरीका संजाल परिचालन गरेर उहाँहरुको उत्पादन लिइदिने ग्यारेन्टी गर्न सक्छौं ।

यो व्यवसायमा केही विकृति देख्नुभएको छ ?

नेपालमा अहिले २७०० टन दाना दैनिक खपत हुन्छ । तर अहिले नेपालमा यहाँका उद्योगहरुको क्षमता १२ हजार टन उत्पादन गर्न सक्ने भइसक्यो । खपत भन्दा उत्पादन क्षमता धेरै भएपछि यहाँ अस्वस्थ प्रतिस्पर्धा त छ नै । अहिले कतिपय डिलरलाई उधारो थपेरै दाना दिनुपर्ने अवस्था छ किनकि उत्पादनले सहज बजार पाउन समस्या छ । यसरी आफ्नो उत्पादन बेच्न अस्वस्थ बाटो अपनाउनुभन्दा दानाको खपत नै बढाउन सक्यौं भने हामीले सहजै बजार पाउन सक्छौं । त्यसैले अस्वस्थ प्रतिस्पर्धा गर्नु भन्दा बरु खपत नै बढाउनेतिर पहल गर्नु राम्रो हुन्छ ।

LEAVE A REPLY