के हो ब्रुसेल्लोसिस र यसबाट कसरी बच्ने ?

0
347

डा.मुकुल उपाध्याय

परिचयः ब्रुसेल्लोसिस् जनावरहरुमा देखा पर्ने एक प्रकारको संक्रामक सरुवा रोग हो । जीवाणुका कारण पशुहरुमा लाग्ने यस रोगलाई गर्भ तुहाउने तथा बांझोपन सृजना गर्ने रोग भनेर पनि चिनिन्छ । यो रोग पशुहरुबाट मानिसमा पनि सर्न सक्ने हुनाले यो जनस्वास्थ्यका दृष्टिकोणबाट ज्यादै महत्वका साथ हेर्ने गरिन्छ । यस रोगलाई अनडुलेन्ट फिभर तथा माल्टा फिभर पनि भनिन्छ । गाई, भैंसी, भेडा, बाख्रा, बंगुर आदिमा लाग्ने यस रोगले दूधालु पशुहरुमा संक्रमण गरे पछि वांँझोपना सृजना गर्न समेत भूमिका खेलेको हुन्छ । संक्रमित पशुहरुसंगको संपर्क तथा प्रदूषित दुध, मासु आदिको माध्यमबाट मानिसमा पनि सर्न सक्ने यस रोगलाई प्रमुख जुनोटिक रोगको रुपमा लिइन्छ ।

रोग सार्ने माध्यमः ब्रुसेल्ला नामक जिवाणु यस रोगको कारक तत्व हो । विभिन्न पशुहरुमा भिन्न भिन्न प्रकारका कारक तत्वहरुले संक्रमण सृजना गर्दछन् । गाई भैंसीमा ब्रुसेल्ला एबोर्टस्, भेडाबाख्रामा ब्रुसेल्ला मेलिटेन्सिस्, बंगुरमा ब्रुसेल्ला सुइस् तथा कुकुरमा ब्रुसेल्ला क्यानिस् जीवाणुले रोग पैदा गर्दछन् ।

पशुबाट मानिसमा रोग सर्ने तरिकाः संक्रमित पशुको काँचो दूध पिउनाले, प्रशोधन (पास्चराइज) नगरेको दुध, दही, आइसक्रिम, चिज तथा दूधजन्य पदार्थहरु खानाले, संक्रमित पशु चौपायाको काँचो मासु खानाले, संक्रमित गाई, भैसीं तथा सुँगुर, बंगुरको स्याहार गर्ने मानिसहरुमा प्रत्यक्ष सम्र्पकबाट, बधशालामा काम गर्ने कामदारहरुमा संक्रमित पशुसँगको प्रत्यक्ष सम्र्पकबाट, प्रयोगशालामा काम गर्ने, कृत्रिम गर्भाधान कार्य गर्ने वा पशु उपचारमा संलग्न पशु स्वास्थ्यमकर्मीहरु तथा भेटेरीनरी प्रविधिकहरुमा संक्रमित पशुसँगको सम्पर्कबाट, संक्रमित जनावरसँगको प्रत्यक्ष सम्पर्क तथा दूध, वीर्य, पाठेघरको श्राव वा तुहिएको भ्रुण आदिको सम्पर्कबाट ।

भौगोलिक अवस्थितिः विश्व परिवेशमा यस रोगको सबै भन्दा बढी असर मध्य पूर्व, मेडिटेरियन क्षेत्र, अफ्रिकी उपक्षेत्र, चीन, भारत, पेरु र मेक्सिकोमा बढी पाइएको देखिन्छ । हाल आएर दक्षिणी पश्चिमी एशियाका मुलकहरुमा यसको प्रकोप बढ्दै गरेको तथ्यांक पाइन्छ । उत्तरी र मध्य युरोपका धेरै देशहरु, अस्ट्रेलिया, क्यानाडा, जापान र न्युजिल्याण्डरुले यो रोग उन्मुलन गरिसकेका छन ।

नेपालमा बु्रसेल्लोसिस्को वर्तमान अवस्थाः नेपालमा यो रोगका बारेमा विभिन्न समयमा विभिन्न प्रकारका अध्ययन अनुसन्धानहरु भएका छन् । सन् २००३ मा हिमाली भेगका चौंरीहरुमा गरिएको एक अध्ययनमा १७ प्रतिशत प्रिभालेन्स भएको उल्लेख भएको पाईन्छ (लेफ्कोविज एट अल, २००३) । सन् २००८ मा भैंसी, वाख्रा र बंगुरमा गरिएको एक अध्ययनले नेपालमा बु्रसेल्लोसिस्को बारेमा सिरोप्रिभालेन्सका बारेमा उल्लेख गरेको पाइन्छ । अनुसन्धानको परिणाम अनुसार बाख्रामा १७ प्रतिशत र बंगुरमा ७ प्रतिशत नमुनामा पोजेटिभ भेटिएको तर भैंसीमा पोजेटिभ देखा नपरेको बताइएको थियो (श्रेष्ठ,२०१३) उक्त प्रतिवेदनमा भालेमा भन्दा पोथी जनावरमा बढी र बाख्राको नमुनामा बढी भेटिएको विवरण प्रस्तुत भएको छ । वर्तमान अवस्थामा पनि यो रोग नेपालमा विद्यमान रहेको अनुमान गर्न सकिन्छ ।

विभिन्न जिल्लाहरुबाट रिपोर्टिङ हुने मासिक ईपिडेमियोलोजकल रिपोर्टमा एबोर्सन र इन्फर्टिलिटिका केशहरु प्रायः हिमाल, पहाड तराई तीनै क्षेत्रबाट उल्लेख भएको भएको पाइन्छ तर उक्त सबै केशका नमूना प्रयोगशालामा परीक्षण गर्ने चलन नभएकोले ब्रुसेलोसिसले गर्दा नै एबोर्सन भएको भन्ने अवस्था छैन । जुनोसिस् नियन्त्रण आयोजनाको कार्यक्रम बमोजिम विभिन्न ३२ जिल्लाहरुबाट संकलन गरिएका नमूनाहरुको केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वमा भएको परीक्षण परिणाम अनुसार पनि केही नमूनाहरु पोजेटिभ भेटिएको अवस्था रहेको छ । समग्ररुपमा अनुसंधानका तथ्यांकहरुको विश्लेषण गर्दा नेपालमा पशुहरुमा यस रोगको प्रिभालेन्स ७ प्रतिशत भन्दा कम रहेको अनुमान गर्न सकिन्छ ।

मानिसमा यस रोगको सिरोपोजीटिभिटी सम्बन्धमा सिरममा ब्रुसेला एग्लुटिनिनको टेष्ट गर्दा सोलुखुम्बुमा ५.२६, लेटाडमा ५.३६, बाग्लुडमा २.५६, पोखरामा १.४९, विराटनगरमा २.३२, भैरहवामा ३.६३ र काठमाण्डौमा १.६५ पाइएको थियो । (जोशी, २००९) त्यसैगरि जुनोसिस नियंत्रण आयोजनाले २००७ देखि २००९ सम्म गरेको एक अध्ययनमा १५०६ मानिसका सिरमका नमुना टेष्ट गर्दा ब्रुसेलाको लागि ८.१७ पोजिटिभ भएको पाइएको थियो भने पुरुष र महिलामा क्रमश ९.४२ र ६.६० प्रिभालेन्स दर पाइएको थियो ।

मानिसमा पर्ने प्रभावः
अनियमित तरिकाबाट ज्वरो आउने अर्थात ज्वरो कहिले बढ्ने कहिले घट्ने
टाउको दुख्ने, शरीर कमजोर हुंदै जाने, पसिना आउने
ढाड दुख्ने
अत्यधिक थकान हुने, रिङ्गटा लाग्ने
कब्जियत, नैराश्यता
घुँडा र जोर्नीहरु सुन्निने र दुख्ने आदि ।

पशुमा पर्ने प्रभावः
गर्भिणी गाईभैंसीहरु प्राय छ दखि ७ महिनाको अवधिमा गर्भ तुहाउने ।
गर्भधारण अवधि पुग्नु अगावै बच्चा जन्माउने र जन्मेको बच्चाहरु प्राय मरेको अवस्थामा पाइने ।
भाले जनावरहरुमा अण्डकोष सुनिने र जोर्नी सुन्निने समस्याहरु देखिन्छन् ।
गाईभैंसी तथा भेडाबाख्रा आदिमा बांझोपन सृजना गर्ने कारक तत्वका रुपमा पनि यो रोग रहेको पाइन्छ ।

रोगबाट बच्ने उपायहरुः नेपालमा यस रोग विरुद्धको खोप प्रयोग नगरिने भएकोले ब्रुसेलोसिस देखिएको पशुहरुलाई अलग्गै राखेर उपचार गर्ने बाहेक अन्य उपाय देखिँदैन । संक्रमित पशुहरुको उपचार गर्न पनि धेरै खर्चिलो भएको अवस्थामा उचित व्यवस्थापनको लागि रणनीति समेत तयार गरी लागू गरिनु पर्ने आवश्यकता देखिएको छ । यसका अलावा देहाय बमोजिका उपायहरु अवलम्बन गर्न सकेमा यस रोगबाट बच्न सकिन्छ ।

उमालेको दूध र प्रशोधित दूधजन्य पदार्थको मात्र उपभोग गर्ने
राम्ररी पकाएको मासु मात्र खाने
तुहिएको भ्रुण, सालनाल तथा अन्य स्रावहरुको सही तरिकाले बिसर्जन गर्ने
संक्रमित पशुलाई अन्य पशुसँग सँसर्ग नगराउने
जनावरको उपचार तथा स्याहार सुसार लगायत मासु काट्ने र बधशालामा काम गर्ने व्यतिmले रबरको पन्जा, चस्मा, बुट तथा एप्रोन प्रयोग गर्ने
शंकास्पद पशुको पाठेघरको जाँच तथा उपचारमा संलग्न पशु चिकित्साकर्मीहरुले अनिवार्य रुपमा पूरै हात ढाकिने ग्लोभ लगायतका साधनहरुको प्रयोग गर्नु पर्दछ ।
संक्रमित जनावरको सम्पर्क सीमित गर्ने
गोठको राम्रो सरसफाई गर्ने
तत्काल रोगको श्रोत पता लगाएर सो श्रोतलाई अन्यत्र पुग्नबाट रोक्न र कथम कदाचित रोग फैलिहालेमा कम समयमा निदान गरी त्यसको असरलाई न्यूनीकरण गरी पशुपालक कृषकहरुको आर्थिक स्थिति मजबुत बनाउन टेवा पु¥याउने र जुनोटिक रोग भएकोले मानिसमा सर्न नदिन रोकथामका उपायबारे जनचेतनाका कार्यक्रम समेत स्वास्थ्य सेवा विभाग अन्तर्गतका निकायहरुसंग समन्वयात्मक रुपले संचालन गर्नु पर्दछ ।

LEAVE A REPLY