भेडापालन व्यवसाय संकटमा पूर्वी पहाडमा चरन क्षेत्र अभाव

0
219

तेह्रथुम । पुख्र्यौली पेसाका रूपमा भेडापालन गरी राडीपाखी उत्पादन गर्दै आएका पूर्वी पहाडका भेडा कृषकलाई पछिल्लो समय चरन समस्या भएको छ । भेडापालक कृषक पर्याप्त चरन क्षेत्रको अभावमा व्यवसाय छोड्ने अवस्थामा पुगेका हुन् । तेह्रथुमसहित संखुवासभा र ताप्लेजुका उच्च पहाडी तथा कछाड क्षेत्रमा पुस्तौंदेखि व्यावसायिक रूपमा पालिएका भेडालाई बढ्दो सामुदायिक वन र घट्दो चरिचरनका कारण चरन क्षेत्र अभाव भएको किसानको भनाइ छ ।

चरन क्षेत्र साँघुरिएकाले पुराना भेडापालक किसानसमेत यो व्यवसाय छोडेर अर्को व्यवसायमा लाग्न थालेको तेह्रथुम लालीगुराँस नगरपालिका सुङनामका भेडापालक किसान छुमी गुरुङले बताइन् । पूर्वी पहाडमा ओखलढुंगाको रुम्जाटारपछि भेडापालनका लागि प्रख्यात मानिएका यी जिल्लामा १० वर्षअघिको तुलनामा अहिले भेडापालन गर्ने कृषको संख्या ९० प्रतिशतले घटेको छ । ‘यही गतिमा भेडापालन गर्न सबैले छोड्दै गए भने अबको पाँच वर्षभित्रमा यहाँ भेडा भेट्न मुस्किल छ,’ किसान गुरुङले भनिन् । एक दशक अघिसम्म साना र ठूला गरी यी तीन जिल्लामा ९ सयको संख्यामा रहेका भेडीगोठको संख्या पनि घटेर अहिले ३ सयको हाराहारीमा आइपुगेका छन् । कृषक गुरुङका भनाइमा यी बाँकी रहेका भेडीगोठमा पनि भेडाको संख्या अत्यन्तै थोरै छ । पुस्तौंदेखि भेडा चराउँदै आएका पुराना चउर र खर्कहरू सामुदायिक वनमा परिणत हुन थालेपछि भेडा चराउन खर्कको अभाव भएकोे छ । जिल्ला वन कार्यालयले प्राकृतिक रूपमा रहेको वनलाई स्थानीय जनतालाई संरक्षण गरी उपभोग गर्नेसम्मको अधिकार दिएर सामुदायिक वनका रूपमा समूहलाई जिम्मा दिएपछि बाँकी रहेका यी भेडीगोठका भेडालाई पनि कहाँ लगेर चराउने भन्ने चिन्ता कृषकलाई परेको छ ।

वन कार्यालयले समुदायलाई हस्तान्तरण गरेका ३ सय २० वटा सामुदायिक वनमा कुनै पनि सामुदायिक वन उपभोक्ता समितिले भेडा चराउन दिँदैनन् । पहिले भेडी गोठालाले तलुकदार वा जमिनदारलाई निश्चित कर बुझाएपछि लामो समयसम्म भेडा चराउन पाउँथे । बसन्तपुर टुटेदेउरालीका कृषक छिरिङ लामा चरन क्षेत्रमा पु¥याएका भेडालाई सामुदायिक वन र स्थानीय क्लबले चन्दा मागेर हैरान पार्ने गरेको बताउँछन् । जिल्ला वन अधिकृत देवीचन्द्र पोख्रेलले सामुदायिक वनमा भेडा चराएबापत कर लिने नलिने अधिकार स्थानीय वन समूहलाई नै भएको बताउँछन् ।

भेडापालनका लागि प्रसिद्ध मानिएका संखुवासभाका नुनढाकी, सिद्धकाली, सिद्धपोखरी, जलजला, नुम, हटिया, चेपुवा, सभापोखरी, तामाफोक, बाह्रबिसे, तेह्रथुमका श्रीजुङ, मोराहाङ, सुङनाम र सोल्माका माथिल्लो क्षेत्र तथा ताप्लेजुङका हाङपाङ, चांगे, ढुङगेसाँघु, निगुरादिन, फाकुम्बा, थिङलाबुलगायतका क्षेत्रमा पनि भेडापालन गर्नेको संख्या घटिरहेको छ । मेन्छुयायेम गाउँपालिका मोराहाङका भेडापालक कृषक रामबहादुर गुरुङ भेडाका लागि चरन क्षेत्र नै मासिएपछि बाध्य भएर भेडा मास्नुपरेको बताउँछन् । चरन क्षेत्र अभावमा दिनदिनै ओरालो लागेको भेडापालन व्यवसायमा हालसम्म कुनै उन्नत प्रविधि भित्रिएको छैन । भेडालाई समय समयमा लाग्ने विभिन्न रोग, महामारी, जुका, नाम्ले जस्ता आन्तरिक तथा बाह्य परजीविबारे समेत भेडीगोठालालाई कुनै जानकारी छैन । भेडापालक किसानहरू परम्परागत औषधिबाटै भेडाको उपचार गर्दै आएका छन् । भेडा चराउन स्थान र आसपासका इलाकाहरूमा पशु स्वास्थ्य कार्यालयहरू अहिलेसम्म स्थापना भएका छैनन् । जसले गर्दा भेडामा कुनै रोग लागेमा वा महामारी फैलिएमा भेडापालक कृषकले ठूलो क्षति बेहोर्नुपर्ने बाध्यता रहेको संखुवासभाका भेडापालक कृषक सुरेन्द्र घिसिङले बताए ।

घरमा आएका पाहुनालाई सत्कार गरेर ओछ्याइदिने, कोसेली तथा उपहार दिने र बिक्री गरेर नगद आम्दानी गर्ने राडीपाखी अहिले भेडापालनको गिरावटसँगै लोप हुँदै छ । राडीपाखीका लागि प्रमुख कच्चा पदार्थका रूपमा रहेको भेडाको ऊन नै पाउन मुस्किल भएपछि राडीपाखी बनाउने व्यवसाय पनि लोप हुन थालेको यसको व्यवसायमा संलग्नहरू बताउँछन् । संखुवासभा नुनढाकीकी राडीपाखीकी अनुभवी उद्यमी डोमा लामा कच्चा पदार्थ भेडाको ऊन अभावमा मागे जति राडी उत्पादन गर्न नसकेको बताउँछिन् ।

उनका अनुसार राडीपाखीको माग अत्यधिक भए पनि ऊनको अभावमा चाहिए जति उत्पादन गर्न सकिएको छैन । सामान्य व्यक्तिदेखि पर्यटकसम्मले खरिद गरेर लाने राडीपाखीका लागि ऊन अभाव भएपछि यहाँका प्रत्येक घरमा सञ्चालित चर्खा, राटा, ऊन फर्काउने, कात्ने, डल्याउने, तान लगाउने, बुन्ने, राडी माड्नेलगायतका कामसमेत बन्द हुने अवस्थामा पुगेको उद्यमी लामाले बताइन् । आफ्नै मौलिक परम्परागत सिप र प्रविधि प्रयोग गरेर बनाइएका राडीपाखी बिक्री गरेर घर व्यवहार चलाउँदै आएका महिलाले समेत ऊन पाउन छोडेपछि रोजगारी गुमेको छ ।

LEAVE A REPLY