गाईपालक पन्त बने सर्वोत्कृष्ट किसान

0
1033

ललितपुर । गोरखास्थित पालुङटार नगरपालिका–७ का किसान राजेन्द्रराज पन्त यस वर्षको सर्वोत्कृष्ट किसानका रुपमा पुरस्कृत भएका छन् ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले स्थापना गरेको ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ बुधबार उनलाई प्रदान गरिएको हो । पुरस्कार कदरपत्रसहित दुई लाख राशीको हो ।

त्यसैगरी चितवनका बाख्रापालक किसान योगेन्द्रबहादुर खड्का, बाँकेका च्याउ खेती गर्दै आएका लालबहादुर सुनार, धनुषाका माछा उत्पादक किसान बौएलाल मुखिया र कैलालीका केरा खेती गर्दै आएका रामबहादुर कुँवर राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत भएका छन् । उनीहरु चारैजनाले प्रमाणपत्रसहित एक/एक लाख रुपैयाँ प्राप्त गरे ।

कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रमा पछिल्लो समयमा केही सुधार देखिएको बताए । उनले भने, ‘धेरै मेहनत गरेर राम्रो गरेका किसानबाट अरुले पनि सिक्न सक्छन् ।’ कृषिको अहिलेको अवस्था चिरफार गर्न खाँचो रहेको उनको धारणा छ ।

मन्त्रालयका सचिव युवकध्वज जिसीले किसानलाई प्रोत्साहन गर्नसके मात्रै यस क्षेत्रको रुपान्तरण सम्भव भएको विचार व्यक्त गरे ।

राष्ट्रिय योजना आयोगका सदस्य दिलबहादुर गुरुङले कृषिमा सुधारका प्रयास भएपनि अझै धेरै सुधारको खाँचो रहेको बताए ।

सर्वोत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत पन्तले आफूले सरकारको अनुदान नलिई दुई दशक पशुपालन गरेको बताए ।

LEAVE A REPLY