स्याल आतंकले गाउँले त्रसित, एकै रातमा दुईदर्ज पशु चौपाय घाइते

0
394

भरतपुर । भरतपुर ८ गौरीगञ्जमा स्यालले एकै रातमा दुई दर्जनभन्दा बढी पशु चौपायलाई टोकेर घाइते बनाएको छ । गोठमै आएर वस्तुलाई टोक्न थोपछि पशुपालक किसान त्रसित बनेका छन् । सोमबार बारीमा घाँस काट्दै गर्दा ५२ वर्षिया विविमाया परियारलाई टोकेर घाइते बनाएको स्यालले साँझ परेपछि गाउँमा सबैको गोठमा पसेर गाई भैँसी, बाख्रालगायत पशुचौपायलाई टोकेर घाइते बनाएको स्थानीय रमेश विश्वकर्माले जानकारी दिनुभयो ।

साँझ गोठमा घाँसपात गर्ने बेलामा आफ्नै अगाडी गाईको मुखमा झुण्डिँदा ब्याउने बेला भएको गाई घाइते भएको गौरीगञ्ज सापकोटा चोककी भीमा सापकोटाले बताउनुभयो । लौराले हिर्काएर छुटाएको उहाँँको भनाइ छ । सोही साँझ स्यालले टोक्दा स्थानीय भोला सापकोटाको सात दिनको पाडी मरेको थियो । स्यालको डरले साँझ परेपछि गोठमै कुरेर बस्नुपर्ने स्थिति आएको उहाँँले बताउनुभयो । मान्छेलाई समेत झम्टिने हुँदा साँझ परेपछि केटाकेटीलाई आँगनमा खेल्नसमेत डर भएको अर्का स्थानीय तिलक दर्लामीले बताउनुभयो । उहाँँका अनुसार गौरीगञ्ज क्षेत्रको शान्तिमार्ग टोल, शान्ति टोल, गणेश टोल र राधाकृष्ण टोलका गरी १४ जना किसानको गोठमा पालेका वस्तुलाई स्यालले टोकेर घाइते बनाएको छ ।

जथाभावी वस्तुलाई टोक्दै हिँडेपछि उक्त स्याललाई भने स्थानीयले मारेका छन् । एउटा स्याल मारे पनि गोठमा स्याल आउन भने नछाडेको उहाँँको भनाइ छ । आफ्नो गोठमा पालेको पशु चौपायलाई टोकेर घाइते बनाएपछि १४ जना पशुपालक किसानले जिल्ला पशुसेवा कार्यालयमा निवेदन बुझाएका छन् । कार्यालयका पशु चिकित्सक विकास श्रेष्ठले पशु कार्यालयमा ७÷७ वटा गाई र भैँसी, २÷२ वटा पाडा र बाख्रा र पाँचवटा कुकुर गरी २३ वटा जनावरलाई टोकेर घाइते बनाएको निवेदन परेको जानकारी दिनुभयो । किसानहरूको भनाइअनुसार बौलाएको स्यालले वस्तुभाउलाई टोकेको बुझिएको उहाँँको भनाइ छ ।

LEAVE A REPLY