पशुसेवा विभागमा महानिर्देशकको दौड

0
2407

काठमाडौं। पशुसेवा विभागका महानिर्देशकको कार्यकाल पूरा हुन लागेसँगै नयाँ महानिर्देशक को बन्ने भन्ने होडबाजी चल्न थालेको छ । पछिल्लो जानकारीअनुसार महानिर्देशकको लागि मन्त्रालयभित्रका ४ सहसचिव आकांक्षी देखिएका छन् ।
हालका महानिर्देशक डा. बिमलकुमार निर्मलले पुनः महानिर्देशकमै कायम रहने इच्छा देखाएका छन् । पशु स्वास्थ्य निर्देशनालयकी कार्यक्रम निर्देशक डा. सम्झनाकुमारी काफ्ले पाण्डेले समेत महानिर्देशक बन्न राजनैतिक लबिङ गरिरहेको बुझिएको छ । मध्यमाञ्चल क्षेत्रीय निर्देशक डा. महेशराज बिष्ट र प्रदेश नम्बर २ का सचिव डा. वंशी शर्मा समेत महानिर्देशक बन्ने आकांक्षी देखिएका छन् ।
पशुसेवा विभागको महानिर्देशकको चयन मन्त्रिपरिषदको बैठकले गर्नेछ । यसका लागि प्रस्ताव मन्त्रालयमार्फत पठाइन्छ र कृषि तथा पशु्पन्छी मन्त्रीले प्रस्ताव पेश गर्छन् । महानिर्देशक को बन्ने भन्ने मन्त्रीले पठाउने प्रस्तावमा निर्भर गर्छ । यसका लागि कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणी खनालमाथि पार्टीभित्रबाट ठूलो दबाब आएको बताइएको छ ।
मन्त्रीलाई पूर्व कृषिमन्त्री हरिबोल गजुरेलले दबाब दिइरहेको पार्टी स्रोत बताउँछ । हाल पशु स्वास्थ्य महानिर्देशनालयकी कार्यक्रम निर्देशक सम्झना काफ्ले पूर्वमन्त्री गजुरेलकी नातेदार हुन् । यही कारण सम्झनालाई महानिर्देशक बनाउन मन्त्री खनालमाथि ठूलो दबाब छ ।

कार्यक्रम निर्देशक काफ्लेले आफू महानिर्देशक बन्न पार्टीभित्र पारिवारिक सूत्र प्रयोग गरी दबाब दिँदै आएको भन्ने आरोपसमेत लागेको छ । यद्यपि काफ्लेले यस क्षेत्रमा आफू पनि योग्य भएको दावी गर्दै आफूभन्दा सिनियरलाई मन्त्रालयमा राखी आफूलाई महानिर्देशक बनाएमा महिलामाथि न्याय हुने र समग्र क्षेत्रलाई आफूले हाँक्न सक्ने बताएकी छिन् ।
अहिलेका महानिर्देशक डा. बिमलकुमार निर्मल पनि पछिल्लो समय विवादमा तानिएका छन् । सप्रमाण भ्रष्टाचारको आरोपमा समातिएका पशुपन्छी बजार प्रबद्र्धन निर्देशनालयका कार्यकारी निर्देशक बलराम थापा र लेखा अधिकृत रामप्रसाद बजगाईलाई बचाउन प्रयासरत रहेकै कारण निर्मलको छवि धमिलिएको छ । स्मरण रहोस् सेवाग्राहीसँग रकम लिँदालिँदै रंगेहात फेला परेका लेखा अधिकृतलाई ४ दिनको कसरतमा निर्मलकै अग्रसरतामा सरुवा गरिएको थियो । भ्रष्टाचारको दाग लागिसकेका थापालाई जोगाउने प्रयास गर्दा निर्मलमाथि पनि दाग लागेको छ । थापाको भ्रष्टाचारको नालिबेली आम नागरिकले थाहा पाइसके तर निर्मलले अहिलेसम्म थाहा नपाएझैं कानमा तेल हालेर बसेका छन् ।
निर्मलले थापामाथि कुनै कारवाही अघि नबढाउनुले उनी पनि भ्रष्टको मतियार सावित हुँदै गएका छन् । थापा प्रकरणमा निर्मलको मौनताले कतै उनी पनि भ्रष्टाचारमा भाग पाउनेवाला त थिएनन् भन्ने गम्भीर प्रश्न उठेको छ । थापा भ्रष्टाचार प्रकरण सार्वजनिक भएपछि तत्काली पशुपन्छी विकास मन्त्रालयले निर्मलकै संयोजकत्वमा स्थलगत अनुगमन समिति बनाएको थियो । तर, रहस्यमय रुपमा निर्मल स्वयं अनुगमनमा अनुपस्थित रहे । पछि मन्त्रालयलाई प्रतिवेदन बुझाउने बेला भने उनले आफूसमेत अनुगमनमा गएको भन्दै प्रतिवेदन बुझाए । यतिमात्र होइन प्रतिवेदनमा घुमाउरो पारामा कार्यविधि नै गलत भएको बताउँदै उनले थापालाई जोगाउने प्रयाससमेत गरे ।
महानिर्देशकको दौडमा कम चर्चामा रहेका मध्यमाञ्चलका क्षेत्रीय निर्देशक डा. महेशराज बिष्ट र प्रदेश २ का सचिव डा. वंशी शर्मा भने सबैभन्दा चर्चामा रहेकी काफ्लेभन्दा झण्डै ५ वर्ष सिनियर हुन् । चर्चा कम भएपनि महानिर्देशक भने यी दुईमध्ये एक बन्नुपर्ने विभागभित्रकै कर्मचारीको चाहना छ । हालका महानिर्देशक निर्मल थापा प्रकरणमा विवादित भएका कारण उनलाई मन्त्रालयमा तान्ने तयारीमा मन्त्री रहेको मन्त्रालय स्रोत बताउँछ । अहिलेसम्म विवादरहित रहेका मन्त्री खनालले विवादबाट जोगिँदै सेफल्याण्डिङको लागि शर्मा वा विष्टमध्ये एकलाई रोज्न सक्ने देखिएको छ । बिष्ट क्षेत्रीय निर्देशकको जिम्मेवारी पूरा गरेका हुन् भने शर्मा प्रदेश सचिवको जिम्मेवारी समेत सम्हालिरहेका हुनाले उनलाई ल्याएमा आफूलाई काम गर्न सजिलो हुने भन्दै मन्त्रीले शर्मालाई रोज्न सक्ने प्रबल सम्भावना छ ।

LEAVE A REPLY