पोल्ट्री उत्पादनमा भिटामिनको महत्व

0
1306

डा. युवराज पन्थ
प्राविधिक अधिक्रित
लुम्बिनि एग्रो ईन्डस्ट्रिज, बुटवल
पोषण भनेको विज्ञान हो जसले सन्तुलन, वृद्धि, प्रजनन, स्वास्थ्य र जीवको रोगको सम्बन्धमा पोषक तत्वहरू र अन्य पदार्थहरूको अन्तरक्रियाको व्याख्या गर्दछ। शरीरका आधारभुत कोषहरुलाई अधिकतम कार्यक्षमताको लागि आवश्यक तत्वको परिपुर्ती पोषणले गर्दछ । दाना अथवा अन्न खाएपछी शरीरले पचाउने, सोस्ने काम गर्दछ र यि पोषक तत्वहरु शरीरका सम्पूर्ण कोषहरुमा पुग्दछन् आफ्नो आफ्नो कार्य सम्पादनको लागि । कुखुराको शरिरमा कार्बोहाइड्रेटस, चिल्लो पदार्थ (फ्याट), प्रोटिन, खनिज, भिटामिन, पानी जस्ता वर्गका पोषण तत्वहरुको आवश्यकता पर्दछ ।
अन्य पोषक तत्व जस्तै भिटामिनको पनि कुखुराको शरीरमा महत्वपूर्ण भूमिका रहेको हुन्छ । भिटामिनको आवश्यकता शारिरिक ब्रिद्धी, रोग सङ्ग लड्ने क्षमता राख्न तथा विभिन्न शारिरिक रसायन प्रकृयामा हुने भएकोले यसको कमिले ठुलो असर गर्दछ ।
कुखुराको आहारमा भिटामिनको पर्याप्त आपूर्ति नहुँदा बहु-लक्षणहरु देखिने गर्दछन । तथापि सामान्यतया, बी-भिटामिन कमजोरीहरूको सङ्केतहरू पहिले देखिन्छ। शरीरमा फ्याट-घुलनशील भिटामिन (भीटामिन -ए, डी, इ, के) का केहि भण्डारहरू हुने भएकाले यसले पंछिलाई असर पार्न लामो समय लाग्छ । त्यस्तै , वयस्क पंछिहरूलाई असर गर्न भिटामिन-ए को कमीले महिनौ लाग्न सक्छ।

विभिन्न भिटामिनको कमिले हुने समस्याहरु :
भिटामिन ए:
भिटामिन ए एपीथेलियल कोषहरु (छाला तथा पाचन, प्रजनन र श्वास अङ्गका भित्री पत्रहरु) को सामान्य वृद्धि, विस्तार र संरक्षणको लागी एक आवश्यक घटक हो।
भिटामिन ए को कमी हुँदा शारिरिक वृद्धि विकासमा ह्रास आउछ, प्वाँख लथालिङ्ग पर्दछन, उभिदा खुट्टा थरथर काप्छन, आँखा सुख्खा हुन्छन्, अण्डा उत्पादन र ह्याचेविलिटी कम हुन्छ, र भ्रूणको मृत्युदर बढ्छ। लामो समयसम्म भिटामिन-ए को कमी भएमा आँखामा दुध जस्तो सेतो पदार्थ बस्दा पंक्षिलाई देख्न असम्भब बनाउछ । मुखको माथिल्लो भागमा सेता फोकाहरु देखिन्छन र भित्री छाला चिरा पर्दा बाह्य सुक्ष्म जिवहरुको आक्रमण हुन सक्छ ।

भिटामिन डि-३:
भिटामिन डि-३ ले क्याल्सियम र फस्फोरसको शोषण र प्रयोगमा सहयोग गर्दछ, जुन शरीरको व्रिद्धी, हड्डी बिकास तथा अण्डाको बोक्रो बनाउन अत्यन्तै आवश्यक हुन्छन । यसको कमिले कुखुराहरुमा हड्डी कमजोर र अण्डाको बोक्रो कम्जोर निस्किन्छ । कम्जोर बोक्रो हुँदा ह्यचाबिलिटी घटाऊछ ।

भिटामिन ई:
यसको कमिले स्नायु समबन्धी समस्याहरु देखा पर्दछन । इन्सेफालोमालासिया (क्रेजी चिक डिजिज्), उभिन नसक्ने, हिडडुलमा असन्तुलन आउने, गोलो घेरामा घुम्ने, मस्तिष्क श्राव हुने, जस्ता लक्षणहरु देखिन्छन ।

भिटामिन के:
भिटामिन के शरीरमा हुने रक्तश्राब रोक्न मद्धत गर्दछ, त्यसैले कक्सीडियोसिस (रातो छेर्ने रोग)मा अत्यन्तै महत्वपूर्ण हुन्छ । यसको कमिले शरीरको आन्तरिक अंगहरु तथा छालामुनी रक्तश्राव देखिन्छ, अन्डामा रगतका थोप्ला देखिन्छ र रगत जम्ने समय लम्बिन्छ ।

भिटामिन बि-१ (थियामिन):
शरीरमा कार्बोहाइड्रेट मेटाबलिजम (शरीरमा रसायानिक परिवर्तन हुने प्रकृया) को लागी भिटामिन बि-१ आवश्यक पर्दछ । आलश्यता, शरीर थरथर काप्नु, अरुची, शारिरिक विकासमा कमी, अत्याधिक कमजोरी, प्वाँख लथालिङ्ग पर्नु, पक्षघात, पाचन प्रणालीमा अवरोध आउनु, यो भिटामिनको कमीका लक्षणहरु हुन् ।

भिटामिन बि-२ (राइबोफ्ल्याबिन):
मेटाबलिजम (शरीरमा रसायानिक परिवर्तन हुने प्रकृया)मा यसको पनि मुख्य भूमिका रहन्छ । अन्डा उत्पादनमा ह्रास आउनु, भ्रुड मृत्युमदर बढ्नु, कलेजोमा फ्याट बढ्नु, खुट्टाभित्र पट्टि फर्किनु (कर्लड् टो पारालाइसिस, वृद्धिमा ह्रास आउनु, पखला लाग्नु, घुडाले टेकेर हिड्नु, नशाहरु सुन्निनु, यस भिटामिनको कमीले गर्दा देखिने लक्षण हुन् ।

भिटामिन बि-३ (नियासिन):
नियासिनको कमिले दाना काम खाने, कम्जोरी, जिब्रोमा कालो देखिने, अन्डा उत्पादनमा ह्रास, पखाला लाग्ने,शारिरिक वृद्धिमा कमी, प्वाँखको कमी, टाउको र खुट्टाको छालाको संक्रमण, आदी समस्या देखिन्छन् ।

भिटामिन बि-५ (पानटोथेनिक एसिड):
पानटोथेनिक एसिडको काम कार्बोहाइड्रेट, फ्याट तथा एमिनो एसिडको मेटाबलिजममा रहन्छ । यसको कमिले अन्डा उत्पादनमा कमी, शारिरिक वृद्धिमा ह्रास, छालाको संक्रमण, प्वाँख राम्रोसँग नआउनु, कलेजो र स्पाइनल कर्डमा क्षति जस्ता लक्षण देखिन्छन् ।

भिटामिन बि-६ (पाइरिडोक्सिन):
पाइरिडोक्सिन भिटामिनको भूमिका एमिनो एसिडको मेटाबलिजममा रहन्छ । न्यून विकास, छालामा सन्क्रमण, रक्तअल्पता, सानो चल्लामा खुट्टाको स्नायुमा समस्या भई लरखराउदै हिड्नु, टाउको तलपट्टि पखेटा हल्लाउनु, घाँटी बङ्ग्याउनु, थकित हुनु, पाइरिडोक्सिनको कमिले देखिने समस्या हुन् ।

फोलिक एसिड:
रक्तअल्पता, लिउकोपेनिया (रगतमा सेतो कोष कमी), प्वाख राम्रो सँग नआउनु, शरिरको तौलको कमी, उत्पादनमा ह्रास, वृद्धिमा कमी आउनु, शिरको रङ सेतो हुनु, यस भिटामिन कमीका लक्षण हुन् ।

वायोटिन:
वायोटिनको कमिले कुखुरामा खुट्टाको तल खस्रो फुस्रो चिरा पर्नु, मुखको छेउ र आँखाको छेउको छालामा संक्रमण देखिनु, पेरोसिस, वृद्धिमा कमी जस्ता समस्या देखा पर्दछन् ।

भिटामिन बि-१२ (साइनाकोबालामिन):
भिटामिन बि-१२ को भूमिका कार्बोहाइड्रेट तथा फ्याट मेटाबलिजम, मिथाइल र निउक्लिक एसिड संश्लेषणमा रहन्छ । वृद्धि नहुनु, दाना खपत कम हुनु, पाङ्ग्रो खीइनु, प्वाँख निकै कम आउनु, चल्लाको मृत्युदर बढ्नु, रक्त अल्पता देखिनु, नशासम्बन्धी समस्या देखिनु, भिटामिन बि-१२ को अभावले देखिने लक्षणहरु हुन् ।

कोलिन:
कोलिनको कमिले कुखुराहरुमा दानाको राम्रो प्रयोग गर्न नसक्नु, वृद्धिमा ह्रास आउनु, पेरोसिस (खुट्टाको टेन्डन स्लिप हुने), कलेजोमा फ्याट अत्यधिक बढ्नु, जस्ता समस्या देखा पर्दछन् ।

भिटामिन सि कुखुराको शरीरले आँफै बनाउने भएकाले बाहिर बाट दिनु पर्दैन । यद्धपी तनाबमा भएका कुखुरालाई भिटामिन सि दिनु उपयुक्त हुन्छ ।

माथि उल्लेख गरिए जस्तै, कुखुराको शरिरमा भिटामिनको अभावले धेरै स्वास्थ्य समस्या उत्पन्न गर्न सक्छ, केही अवस्थामा मृत्यु समेत हुन सक्छ । यसकारण, पोषक कमजोरीहरू रोक्न वा कमजोरीका लक्षणहरू देखा पर्ना साथ, आवश्यक भिटामिनहरूसँग सन्तुलित पोल्ट्री आहार खुवाउनू पर्दछ ।

LEAVE A REPLY