पशुसेवा कार्यालय बाँकेका प्रमुखले अनुदानको आधा रकम मागेको खुलासा

0
1315

काठमाडौं। तत्कालीन पशुपन्छी बजार प्रबद्र्धन निर्देशनालयका कार्यक्रम निर्देशक डा. बलराम थापाको भ्रष्टाचारको जालोमा जिल्ला पशुसेवा कार्यालय बाँकेका प्रमुख डा. वेदबहादुर केसीसमेत मिलेको भेटिएको छ । केसीले बाँकेको प्रगति ह्याचरीसँग अनुदान दिएवापत पैसा मागेको प्रमाण भेटिएको छ । केसीले प्रगति ह्याचरीका संचालक योगेश रावलसँग अनुदान दिएवापत अनुदानको आधा पैसा मागेका थिए । यो अनुदान १ करोड रुपैयाँको थियो। यो रकममध्ये केसीले ५० लाख रकम माग गरेको अडियो रेकर्ड भेट टाइम्ससँग सुरक्षित छ ।
यो अनुदानको लागि पशुपन्छी बजार प्रबद्र्धन निर्देशनालयलाई जिल्ला पशुसेवा कार्यालयले यसअघि अनुदान लिए नलिएकोबारे खुलाइ पत्र पठाउनुपर्ने प्रावधान छ । यही प्रावधानअनुसार २०७४ माघ ५ मा केसीले प्रगति ह्याचरीले यसअघि कुनै सरकारी निकायबाट अनुदान नलिएको व्यहोराको पत्र लेखेका थिए । यतिबेला प्रगति ह्याचरीसँग केसीको पैसाको विषयमा कुरा भइरहेको थियो । कुरा भइरहेका बेला भविष्यमा आफूले आधा रकम पाउने आशामा केसीले अनुदान नलिएको व्यहोराको पत्र लेखेका थिए ।
तर, पछि प्रगति ह्याचरीले केसीलाई रकम दिन नसक्ने बतायो । आफूले रकम नपाउने अवस्था आएपछि केसीले पनि प्रगति ह्याचरीलाई अनुदानबाट बञ्चित गराउन नियतवश २०७५ बैशाख ३० मा प्रगति ह्याचरीले अनुदान लिइसकेको व्यहोराको पत्र लेखिदिए । पत्रमा उनले आ.व. २०७३÷०७४ को स्वीकृत कार्यक्रमअनुसार अण्डामा आत्मनिर्भर तथा पारिवारिक पोषण कार्यक्रम अन्तर्गत ५ हजार चल्ला हुर्काउने केन्द्र स्थापना अन्तर्गत १५ लाख अनुदान लिएको लेखेका छन् । जबकि यो कुनै अनुदान होइन र यो रकम उनले चल्ला हुर्काउने केन्द्र स्थापनाका लागि लिएका पनि होइनन् । यो त उनले तीन महिनासम्म आफ्नो फर्ममा चल्ला पालिदिएवापत प्रतिचल्ला ३ सयका दरले पाउनुपर्ने शुल्क हो ।
प्रगति ह्याचरी त्यही व्यवसायिक फर्म हो जसले अनुदान पाउने तीन व्यवसायी छनोट हुँदा आफू नपरेपछि व्यवसायी छनोटमा अनियमितता भएको भन्दै पशुसेवा विभागमा उजुरी हालेको थियो । प्रगतिले उजुरीमा छनोट भएका ३ व्यवसायीभन्दा आफू योग्य भएको दावी गरेको थियो । प्रगतिको उजुरी परेपछि पशुसेवा विभागले छानबिन अगाडि बढायो । छानबिन अघि बढ्नासाथ पशुपन्छी बजार प्रबद्र्धन निर्देशनालयले छनोट भइसकेका कास्कीका अर्का एक व्यवसायीलाई अनुदानबाट बञ्चित गरिदियो ।
कास्कीका यी व्यवसायीसँग पशुपन्छी बजार प्रबद्र्धन निर्देशनालयका कार्यक्रम प्रमुख डा. बलराम थापाले रकम माग गरेका थिए । रकम लिएर अनुदान पाउनको लागि योग्य ठहर गरिएका यी व्यवसायीलाई अनुदान दिने निर्णय यथावत राख्दा प्रगतिको दावीअनुसार छानबिन भए आफू फस्ने डरले थापाले यी व्यवसायीको नाम अन्तिम समयमा हटाएका थिए । यी व्यवसायीसँग अनुदान दिलाएवापतको रकम भनी निर्देशनालयको योजना शाखाकी पशु विकास अधिकृत डा. सीता भझ्राईले चेकसमेत लिइसकेको बताइएको छ ।

LEAVE A REPLY