भ्रष्टलाई भएन कारबाही, मन्त्री नै शंकामा

0
531

राजन प्रसाई, काठमाडौं। तत्कालीन पशुपन्छी बजार प्रबद्र्धन निर्देशनालय (साउन १ गतेदेखि खारेज भइसकेको) का कार्यक्रम निर्देशक डा. बलराम थापाले व्यवस्थित मिटमार्ट स्थापनामा व्यापक भ्रष्टाचार गरेको खुलासा भएको छ । उनले मापदण्ड नै नपुगेका व्यवसायलाई नियम मिचेर अनुदान दिँदै अनुचित आर्थिक लाभ लिएका हुन् । कार्यविधिमा काम सम्पन्न भएपछि मात्र अनुदान दिनुपर्ने प्रस्ट व्यवस्था भए पनि थापाले केही कामै नगरी व्यवसायीलाई अनुदान दिएका छन् ।
कार्यविधिमा मिट मार्टमा कोल्ड रुम हुनुपर्ने प्रस्ट व्यवस्था भए पनि अनुदान लिएका व्यवसायीले कोल्ड रुम नै बनाएका छैनन् । तर कोल्ड रुम नै नभएका मिट मार्टले अनुदान भने पाएका छन् । अनुदान माग्ने मिट मार्टले आवश्यक संरचना बनाए÷नबनाएको अनुगमन गर्न थापा स्वयं गएका थिए । आफैंले हेरेर संरचना नभएको देख्दादेख्दै पनि थापाले अनुदान भने दिएका छन् ।
अनुदान दिनको लागि थापाले व्यवसायीसँग अनुदानको ५० प्रतिशतसम्म लिएको व्यवसायी बताउँछन् । ‘अनुदान पाउने रकमको आधा रकम त कर्मचारीले लिए’ एक व्यवसायीले भने ‘आधा मात्रै रकममा कोल्ड रुम कसरी बनाउने ?’ थापाले व्यवसायीलाई काम नै नगरी अनुदान दिने र त्यो अनुदान रकमको आधा हिस्सा आफैंले लिने गरेका हुन् । यसरी कामै नगरी आधा भए पनि अनुदान पाएपछि व्यवसायी पनि यस विषयमा बोल्न चाहेका छैनन् । थापाले पनि कागजमा काम देखाएर व्यापक रकम असुल्ने गरेका छन् ।
आर्थिक वर्ष २०७३÷७४ को अनुदान रकम पाएका ललितपुरको पूर्वेली मासु पसल एण्ड सप्लायर्स एण्ड मिटमार्टका संचालकले आफूसँग कोल्ड रुम नभएको स्वीकारे । कोल्ड रुम नै नभइ कसरी अनुदान दिइयो त ? उनले कोल्डरुम नबनाए पनि कोल्ड रुम बनाएको कागजात लिएर कार्यालयमा अनुदान लिन पुगेका थिए । त्यही कागजातको आधारमा उनलाई अनुदान रकम भुक्तानी दिइयो । तर, भुक्तानी दिनुअघि कागजको मात्र भर पर्न पाइँदैन, सम्बन्धित कर्मचारी सम्बन्धित ठाउँमा गएर काम भए नभएको हेर्नुपर्छ ।
काम भए नभएको हेर्न थापा नै गएका थिए तर उनले हुँदै नभएको कोल्ड रुम भएको रिपोर्ट बनाइदिए । यही रिपोर्टका आधारमा व्यवसायीलाई अनुदान दिइयो । कुनै पनि सरकारी कर्मचारीले हुँदै नभएको काम भयो भनेर किन रिपोर्ट बनाउँछ ? आफूलाई कुनै लाभ नभइ कर्मचारीले गलत रिपोर्ट बनाउँदैनन् । थापाले पनि व्यवसायीसँग आर्थिक लाभ लिएका छन् । यद्यपि कुन व्यवसायीसँग कति लिए भन्ने प्रस्ट भइसकेको छैन । बार्गेनिङमा कोहीसँग धेरै कोहीसँग थोरै लिएको हुनसक्छ ।
पूर्वेली मिटमार्टका संचालकका अनुसार उनको मिटमार्ट हेर्न कृषि मन्त्रालयमा तत्कालीन सचिव डा. युवकध्वज जिसीसमेत पुगेका थिए । तर, जिसीले पनि यस विषयमा कुनै आपत्ति जनाएनन् ।
थापाले गलत रिपोर्ट बनाएको जान्दाजान्दै सचिव जिसी किन बोलेनन् ? अनियमिततामा साझेदारी रहेको शंकाको सुई जिसीतर्फ पनि मोडिएको छ । जिसीमात्र नभइ थापालाई पशुसेवा विभागमा महानिर्देशक डा. बिमलकुमार निर्मलले पनि साथ दिएको पाइएको छ । थापाविरुद्ध विभागमै उजुरी पर्दा र पर्याप्त आधार प्रमाण भेटिँदा पनि निर्मलले समेत कारवाही अगाडि बढाएका छैनन् । माथिल्लो तहका कर्मचारीको साथ पाएकै कारण थापाको भ्रष्ट रवैयाले प्रोत्साहन पाउँदै गएको छ ।
थापाले माथिल्लो तहका कर्मचारीसँगै सम्बन्धित मन्त्रीलाई समेत आफ्नो प्रभावमा पार्ने गरेका छन् । पूर्व मन्त्रीसँग सेटिङ भएकै कारण कारवाहीबाट जोगिँदै आएका थापा मन्त्रालयमा नयाँ मन्त्री आएपछि उनलाई पनि प्रभावमा पार्न मन्त्रीको अघिपछि चाकडी गर्दै हिँड्न थालेको मन्त्रालय स्रोतले बताएको छ । नयाँ मन्त्री आएको लामै समय भयो तर थापामाथि कुनै कारवाही भएको छैन । सप्रमाण ‘एक्सपोज’ भइसकेका थापामाथि नयाँ मन्त्रीले समेत कुनै ‘एक्सन’ नलिँदा मन्त्रीसमेत शंकाको दायरामा तानिएका छन् ।
यद्यपि थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा चलिरहेको छ । मुद्दा विचाराधिन छ र थापालाई निलम्बन भने गरिएको छैन । उनीविरुद्ध कार्यालयमा आफूले भ्रष्टाचार गरेको र भ्रष्टाचारमा आफूमातहतका कर्मचारीलाई समेत संलग्न गराएको आरोप छ । अख्तियारमा मुद्दाको अनुसन्धान कहाँसम्म पुग्यो भन्ने खुलिसकेको छैन । मुद्दा विचाराधिन भएकोले अख्तियारले यससम्बन्धी सूचना सार्वजनिक गरेको छैन ।
अख्तियारले अनुसन्धान थालेपछि भने थापा भ्रष्टाचारका प्रमाण मेटाउनतिर लागेका छन् । पछिल्लो समय पशुपन्छी बजार प्रबद्र्धन निर्देशनालयले कृषकलाई दिने अनुदानमा समेत उनले आर्थिक लेनदेन गरेको आरोप लागेपछि उनले निर्देशनालयले गरिसकेको निर्णय उल्ट्याएका छन् । आफू फस्ने डरले उनले निर्णय उल्ट्याएका हुन् । यस विषयमा बाँकेको प्रगति ह्याचरीले छनोट समितिले मापदण्डअनुसार छनोट गरेमा आफैं सर्वोत्कृष्ट हुने दावीसहित समितिले छनोटमा अनियमितता गरेको आरोप लगाउँदै पशुसेवा विभागमा उजुरी दिएको थियो ।
पशुपन्छी बजार प्रबद्र्धन निर्देशनालयका कार्यक्रम निर्देशकको हैसियतले छनोटसम्बन्धी सबै कार्यका हर्ताकर्ता थापा नै हुन् । उनको नेतृत्वमा ह्याचरीसम्बन्धी काम गर्ने तीन व्यवसायी छनोट गरिसकिएको थियो । तर, उजुरी परेपछि आफू फस्ने डरले उनले छनोट भइसकेका एक व्यवसायीलाई अनुदानबाट बञ्चित गरिदिए । पोखराका एक व्यवसायीले अनुदान पाउने निर्णय भइसकेकोमा थापाले त्यो निर्णय रद्द गरे ।
निर्णय बदर गरिसकेपछि उनले उजुरीकर्ता प्रगति ह्याचरी लाई अनुदान दिएको देखाउन अर्कै शीर्षकमा दिइएको रकमलाई अनुदान भन्ने शब्दावली प्रयोग गरेर छल्ने प्रयास गरेका छन् । त्यो ह्याचरीले तीन सातासम्म सरकारले दिएको चल्ला हुर्काएवापतको रकम भुक्तानी लिनुपर्ने थियो । तर, थापाले जिल्ला पशुसेवा कार्यालयमार्फत चल्ला हुर्काएवापतको रकमलाई अनुदान लेख्न लगाइ अनुदान पाएको पत्र बनाउन लगाएका छन् । जबकि यो कुनै अनुदान नभइ उनले चल्ला हुर्काएवापत पाउनुपर्ने सेवा शुल्क थियो । जिल्ला पशुसेवा कार्यालय बाँकेका प्रमुख डा. वेदबहादुर केसीले पनि उनले भनेबमोजिम चल्ला हुर्काएको शुल्कलाई अनुदान लेखी पत्र लेखिदिएका छन् ।
छविलालको धमिलो छवि
थापासँगै यो घुसकाण्डमा केन्द्रीय बंगुर कुखुरा प्रबद्र्धन कार्यालयका प्रमुख छविलाल अधिकारीसमेत संलग्न रहेको सेवाग्राहीले आरोप लगाएका छन् । छविलालकै कारण मापदण्ड मिचेर अनुदान दिने निर्णय गरिँदा पहिले छनोट भइसकेका व्यवसायी अनुदानबाट बञ्चित भएको र योग्यता पुगेर अनुदान पाउनुपर्ने व्यवसायीले पनि अनुदान नपाएको उनीहरुको गुनासो छ ।
अनुदानबाट बञ्चित पोखराका एक व्यवसायीले आफूले छविलाल अधिकारी र बलराम थापाकै कारण अनुदान नपाएको किटेरै भनेका छन् । उनले आफूले अनुदान नपाएको भन्दा पनि यी दुईका कारण धेरै सेवाग्राहीले दुःख पाउनुपरेको बताए । उनले ‘बुढी मरी भन्दा पनि काल पल्क्यो भन्ने चिन्ता’ भएको बताए ।

LEAVE A REPLY