गृहमन्त्रीकै आडमा संघका पूर्वअध्यक्षद्वारा प्रतिबन्धित बर्डफ्लु भ्याक्सिन आयात

0
2503

राजन प्रसाई, काठमाडौं। पोल्ट्री व्यवसायीले नै आफैंले बर्डफ्लु भित्र्याउने गरेको तथ्य फेला परेको छ । जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यस्तो संवेदनशील विषयमा राजधानीकै व्यवसायीले खेलवाड गर्ने गरेको पाइएको हो । नेपालमा अहिले बर्डफ्लुको भ्याक्सिन ल्याउन सरकारले इजाजत दिएको छैन तर व्यवसायीले भने अवैध रुपमा भ्याक्सिन भित्र्याउने गरेका छन् । विशेषज्ञका अनुसार यसरी अवैध रुपमा भित्र्याइने भ्याक्सिनकै कारण नेपालका कुखुरामा बर्डफ्लु संक्रमण देखिएको हो ।

राजधानीको त्रिपुरेश्वरमा रहेको लोटस भेट इन्टरनेशनलले यस्तो भ्याक्सिन भित्र्याउने गरेको हो । संचालक भरतबहादुर पाण्डेले भेटेरीनरी गुणस्तर तथा औषधी व्यवस्थापन कार्यालयबाट एउटा भ्याक्सिनको इजाजत लिने र त्यसको आडमा लुकिछिपी अर्कै अवैध भ्याक्सिन भित्र्याउने गरेका छन् । उनले ल्याउने भ्याक्सिनको बाहिर लेबलमा इजाजत लिएकै भ्याक्सिनको नाम हुन्छ तर भित्र भने बर्डफ्लु संक्रमण गराउने भ्याक्सिन भएको भेटिएको छ ।

२०७५ साउन २५ गते शुक्रबार लोटसका संचालक भरतबहादुर पाण्डेले नेपाल भित्र्याउँदै गरेको भ्याक्सिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्वारेन्टाइन कार्यालयमा पछिल्लाे समय भ्याक्सिनमा अनियमिता भएको गुनासो बढे संगै यसको रहस्य खुलेको हो । क्वारेन्टाइन कार्यालयले बाहिर एउटा लेबल उल्लेख भएको भ्याक्सिनभित्र अर्कै भ्याक्सिन रहेको शंका लागेपछि उनको सामान नियन्त्रणमा लिएको थियो । सामान समातिएपछि पाण्डेले कार्यालयका केही कर्मचारी सामान छुटाउन क्वारेन्टाइन कार्यालय पठाएका थिए । कार्यालयले भने ती कर्मचारीलाई सामान छोड्न नमिल्ने भन्दै फर्काएको थियो ।कार्यालयमा पाण्डेका कर्मचारीले भने अहिले सम्म यहि सामान यसै प्रकृयाबाट आउने गरेको समेत बताएका थिए।

लोटसका संचालक पाण्डे गृहमन्त्री रामबहादुर थापाका निकट हुन् ।  क्वारेन्टाइन कार्यालयले नेपाल भित्रिने यस्ता हरेक सामानको नमूना परीक्षणका लागि राख्ने नियम भए पनि  पाण्डेले नमूना पनि नछोडी र नमूना परीक्षण नगराइ सबै भ्याक्सिन ल्याएका थिए ।

पाण्डेले शुक्रबार हेस्टर कम्पनीको जुलाइ २०१८ मा उत्पादित ब्याच नं. ३७९०४ को ‘न्यूक्यासल डिजिज भ्याक्सिन –इनएक्टिभेटिड’ भित्र्याएका थिए । यद्यपि बाहिर यो नाम लेखिएपनि भाइलभित्र भने अर्कै भ्याक्सिन भएको पाण्डे स्वयंले घुमाउरो पारामा स्वीकार गरेका छन् । भेट टाइम्सको जिज्ञासामा उनले भित्र के हुन्छ भन्ने आफूलाई थाहा नहुने बताएका छन् । जबकि कसैले पनि भ्याक्सिन आयातको अनुमति लिँदा नै त्यसभित्र कुन कुन तत्व कति परिमाणमा मिश्रण हुन्छ भन्ने खुलाएर मात्र इजाजत पाउँछन् । यद्यपि यसरी भित्र्याइएको भ्याक्सिन समेत उनले बिक्री गर्न भने पाउँदैनन् । यसरी भित्र्याइएको भ्याक्सिनमाथि शंका लागेमा त्यसको परीक्षण गरी रिपोर्ट आएपछि सम्बन्धित निकायले इजाजत नदिँदासम्म बिक्री वितरण गर्न पाइँदैन ।

नेपालमा अहिले बर्डफ्लु विरुद्धको भ्याक्सिन ल्याउने सरकारले इजाजत दिएको छैन । अर्कै देशमा बनेको भ्याक्सिन नेपालमा देखिएको भाइरसको लागि उपयुक्त नहुने हुँदा सरकारले भ्याक्सिन आयात बन्द गरेको छ । तर, व्यवसायीले यी भ्याक्सिन लगाएमा बर्डफ्लु हुँदै नहुने दावीसहित अवैध भ्याक्सिन भित्र्याउने गरेमा छन् । तर, यसरी परीक्षणबिना मनपरी लगाइने भ्याक्सिनले बर्डफ्लुको संक्रमण रोक्नुको सट्टा उल्टै संक्रमण गराउने डा. केदार कार्की दावी गर्छन् । यो भ्याक्सिन अहिले भारतमा समेत प्रतिबन्धित छ तर नेपालमा भने लोटस भेट इन्टरनेशनलका संचालक भरतबहादुर पाण्डेले अवैध रुपमा भित्र्इरहेका छन् । पाण्डे नेपाल पशुपन्छी औषधी व्यवसायी संघका पूर्व अध्यक्ष हुन् भने उनकी पत्नी हाल संघकी केन्द्रीय सदस्य छिन् ।

LEAVE A REPLY