गोरखामा पशुको स्वास्थ्य सुधार्न दाम्लो भेटी

0
164

गोरखा — मन्दिरमा प्राय: फूल–प्रसाद चढाइन्छ तर गोरखा नगरपालिका–५, पस्लाङको नामरुङ मन्दिरमा भने दाम्लो चढाउने चलन छ । घरमा पालिएका पशु निरोगी हुने विश्वाससहित दाम्लो चढाउने गरिएको स्थानीय बताउँछन् ।
बाबियोको चलन हराएपछि केहीले नाइलनको दाम्लो पनि चढाउने गरेका छन् । ‘दाम्लो वर्षैभरि मन्दिरमा चढ्छ,’ उनले भने, ‘एकै दिनमा २०/२२ वटा पनि पुग्छ ।’ मन्दिरमा वर्षभरिको मौसम थाहा पाउन जमिनमुनि अन्डा गाड्ने चलन पनि छ । ‘चण्डी पूर्णिमाका दिन दुईवटा राम्रा अन्डा जमिनमा एक हात खाल्डो खनेर गाडिने गरेको स्थानीय बताउँछन् । ‘एक वर्षपछि आउने चण्डीपूर्णिमामा झिक्छौं । गाडेको अन्डा कुनै वर्ष कुहिन्छ, कहिले खोस्टा मात्र हुन्छ, कुनै वर्ष आधा रानो मात्र देखिन्छ,’ रानाले भने, ‘अन्डा राम्रो भए त्यो वर्षको मौसम र खेतीपाती राम्रो हुन्छ भन्ने विश्वास छ ।’ अन्डाको अवस्थाका आधारमा एक वर्षको मौसमको पूर्वानुमान गरेर खेतीपाती गर्ने चलन छ । ‘२०७२ मा गाडेको अन्डा सबै कुहिएको थियो, त्यही साल भूकम्प पनि गयो,’ रानाले भने, ‘अरूले अन्धविश्वास भन्छन् तर हामीलाई यसप्रति विश्वास छ ।’

अन्डा कुहिए प्राकृतिक प्रकोपले सताउने, असिना, हैजालगायत महामारी फैलन सक्ने भन्दै पूर्वसावधानी अपनाउने गरिएको उनले बताए । यो वर्ष अन्डा राम्रै भेटिएकाले खेतीपाती राम्रो हुनेमा स्थानीय आशावादी छन् । ‘अन्डा त्यति बिग्रिएको भेटिएन, यो वर्ष पानी पनि राम्रै परेको छ, खेतीपाती सप्रन्छ,’ उनले भने । अन्डा राम्रो भेटिएको वर्ष खडेरी पनि नपर्ने स्थानीयको विश्वास छ ।

स्थानीयवासीका अनुसार बाइसेचौबीसे राजाको पालादेखि नै उक्त मन्दिरमा पशुको स्वास्थ्यलाभको कामना गर्दै दाम्लो चढाउने र मौसम पूर्वानुमानका लागि अन्डा गाड्ने चलन रहेको हो । पस्लाङमा ७० घरधुरी छन् । छिमेकी गाउँबाट पनि पशुको स्वास्थ्यलाभको कामना गर्दै दाम्लो चढाउन नामरुङ मन्दिर आउँछन् ।

LEAVE A REPLY