क्यान्जिनमा निजी क्षेत्रबाट चीज उत्पादन सुरु

0
45

रसुवा। पर्यटकीय क्षेत्र क्यान्जिनमा निजी क्षेत्रबाट चीज उत्पादन सुरु भएको छ । यो वर्षदेखि चीज उत्पादन सुरु गरिएको हो । यो वर्ष करिब एक हजार आठ सय केजी चीज उत्पादन भएको सञ्चालक ङेरूप तामाङले बताए। त्यहाँ प्रतिकेजी चीज एक हजार सात सय रुपयाँमा बिक्री हुन्छ । त्यहाँ पुगेका स्वदेशी तथा विदेशी पर्यटकले चीज खरिद गर्ने गरेका छन् । निजी क्षेत्रले चीज उत्पादन सुरु गरेपछि नेपालको पहिलो चीज उत्पादन केन्द्रमा उत्पादन घटेको छ।

भूकम्प जानुपूर्व वार्षिक पाँच हजार केजी चीज उत्पादन गर्दै आएको केन्द्रले त्यसपछिका दिनमा दुई हजार सात सय केजी चीज उत्पादन गरिरहेको छ । २०७३ मा दुई हजार आठ सय, २०७४ मा दुई हजार सात केजी र यो वर्ष सात सय केजी चीज उत्पादन भएको केन्द्र प्रमुख ग्याल्बु लामाले बताए। भूकम्पपछि चौरीपालक कृषक घटेको, उपकरण अभाव, जनशक्ति अभाव, अगाडि पेस्की दिने कार्य रोकिनु र दूधको मूल्य नबढेका कारण कृषकले केन्द्रलाई दूध उपलब्ध गराउन छाडेका छन् । ‘यस वर्षदेखि निजी क्षेत्रले चीज उत्पादन सुरु गरेको छ,’ उनले भने, ‘कृषकलाई बढी रकम दिने हुँदा कृषकले निजी कम्पनीलाई दूध उपलब्ध गराउँछन्।’

सरकारी स्वामित्वमा रहेको उत्पादन केन्द्रले प्रतिलिटर ७६ रुपैयाँ रकम दिन्छ भने निजी कम्पनीले प्रतिलिटर एक सय रुपैयाँ दिने गरेको छ । भूकम्पपछि त्यस क्षेत्रमा १८ जना चौरीपालक कृषक छन् । पर्यटकीय क्षेत्र लाङटाङमा करिब पाँच प्रतिशत परिवार मात्रै पशुपालन क्षेत्रमा लागेका छन्।

केन्द्रमा उत्पादन भएको मखन तथा चीज स्थानीयस्तरमा नै खपत हुने गरेको छ । उत्पादित चीज बिक्रीका लागि समस्या नभएको लाङटाङ चीज उत्पादन केन्द्रका प्रमुख लामाले बताए । लाङटाङ राष्ट्रिय निकुञ्जमा आउने पर्यटकमध्ये ९० प्रतिशत पर्यटक लाङटाङ जाने गरेका छन्।

लाङटाङ गएका विदेशी पर्यटकले चीज लैजाने गरेका केन्द्रले जनाएको छ । सडक सञ्जालले नजोडिएको लाङटाङ क्षेत्रमा दूध संकलनका लागि तीन घन्टा हिँड्नु पर्ने बाध्यता रहेको छ । ‘हामी तीन घन्टा हिँडेर दैनिक दूध संकलन गर्छौं,’ केन्द्र प्रमुख लामाले भने, ‘केन्द्रमा दैनिक चार सय लिटर दूध संकलन हुन्छ ।’ दूध तीन ठाउँमा संकलन गर्ने गरिएको छ।

पर्यटकीय क्षेत्र लाङटाङको क्यान्जिनमा रहेको चीज उत्पादन केन्द्र २००९ मा स्थापना भएको थियो । गत वर्ष चार सय केजी मखन उत्पादन गरेको केन्द्रले यो वर्ष पनि त्यति नै उत्पादन गरेको छ । चीजको बजार मूल्य प्रतिकेजी एक हजार सात सय र मखनको एक हजार रुपैयाँ रहेको छ।

एक सय लिटर दूधबाट ११ किलो चीज र चार किलो मखन उत्पादन हुन्छ । केन्द्रमा अहिले दुई जना स्थायी र तीन जना अस्थायी कर्मचारी रहेका छन्।

जिल्लाको गोसाइँकुण्ड गाउँपालिकास्थित धुन्चे, चन्दनबारी र लाङटाङ तथा आमाछोदिङ्मो गाउँपालिकाको गत्लाङमा चीज उत्पादन हुँदै आएको छ । वार्षिक ३६ हजार केजी चीज उत्पादन गर्ने क्षमता रहेको भए पनि पर्याप्त मात्रमा दूध संकलन हुन नसक्दा ३४ हजारको हाराहारीमा चीज उत्पादन हुने गरेको केन्द्रहरुले जनाएका छन्।

गत्लाङ, धुन्चे र चन्दनबारीको केन्द्रमा वार्षिक १० हजार किलो र लाङटाङमा ६ हजार किलो चीज उत्पादन गर्ने क्षमता रहेको छ । जिल्लामा वैसाखदेखि असोज मसान्तसम्म चीज उत्पादन हुने गरेको छ।

LEAVE A REPLY