माछासँगै बग्यो माझीको रोजीरोटी

0
29

तेह्रथुम। तीन वर्ष पहिले तमोरमा आएको बाढीले खोलामा पाइने माछा सखाप पारेपछि माछा मारेर जीविकोपार्जन गर्दै आएका तमोर किनारका माझी विचल्लीमा परेका छन् । ताप्लेजुङका उत्तरी गाउँमा खसेको पहिरोसँगै आएको बाढीले तमोर नदीमा रहेका धेरै माछा बगाएपछि माझीको रोजीरोटी नै खोसिएको छ । तेह्रथुम र पाँचथरका माझीटार, नक्कलेघाट, पिनासी, लुमुघाट, सिम्राघाटलगायत तमोर किनारमा रहेका माझी परम्परागत पेशाबाट विस्थापित भएका हुन् । तमोर किनारका यी बस्तीमा करीब १५० माझी परिवारको बसोबास रहेको छ ।

पहिरो खसेपछि तमोरमा आएको बाढीले ढुङ्गा, मुढा, रुख, बुटासँगै माछा मारेर गुजारा चलाउने आफूहरूको रोजीरोटी पनि सँगै बगाएको आठराई गाउँपालिका–५, छातेढुङ्गाको माझीगाउँका शिवनारायण माझीले बताए । “बाढीले खोलामा रहेका धेरै माछा मार्यो र बगायो”, उनले भने, “त्यसपछि हामीले दिनभरि खोलामै बिताउँदा पनि एक केजी माछासमेत पाउन छाड्यौँ, कमाइ पनि ठप्प भयो ।”

माछा मार्ने काम ठप्प भएपछि माझी युवा जाल, थकौली र बल्छी थन्क्याएर रोजगारीका लागि देश परदेश जान थालेका छन् । काम गर्नसक्ने युवाले घर छाडेपछि गाउँमा भने केटाकेटी र बूढाबूढी मात्र रहेको पाँचथर, कुम्मायक गाउँपालिकाको स्याबरुम्बा लुमुघाटकी दिलकुमारी माझीले बताइन् । “तमोर किनारको बास छ, खेती गरौँ जग्गा जमीन छैन”, दिलकुमारीले भनिन्, “दुई छाक टार्ने माछा पनि बाढीले बगाएपछि माझीको विचल्ली भयो, जसोतसो जिउनै पर्यो, त्यसैले केटाठिटा सबै कमाउन घरबाहिर गएका छन् ।”

माझीहरूका अनुसार, २०३५ सालमा तमोरमा आएको यस्तै बाढीले सबै माछा बगाउँदा पाँच वर्षसम्म माछा भेटिएनन् । त्यसैले यसपटक पनि माछाका लागि अझै दुई वर्ष जति कुर्नुपर्ने उनीहरूको भनाइ छ । त्यसो त यी माझीलाई बाढीले मात्र होइन, झोलुङ्गे पुल र बाटोले पनि बेरोजगार बनाएको छ । तमोरमा डुङ्गा चलाइ गुजारा गर्ने माझीका लागि नक्कले, सिम्रा, पिनासी, माझीटार र लुमुसहित अधिकांश घाटमा पुल बनेपछि चिन्ता थपिएको माझीटारका जसबहादुर माझीले बताए ।

नाउ चल्ने घाटमा पुल बनेपछि र नदी किनारासम्मै मोटरबाटो समेत पुग्न थालेपछि गडतीरमा माछा मार्न जोकोही पुग्ने गरेका छन् । यसले पनि माझीको पुख्र्यौली पेशा जोखिममा परेको छ । “आफ्नै खेतीपाती गर्ने जग्गा जमीन छैन”, जसबहादुरले भने, “पुल बनेपछि नाउ थन्क्यायौँ, नदीमा आएको बाढीले माछा पनि लगिदियो, खै अब के गरिखाने हो ?”

यहाँका माझीमध्ये अधिकांशको व्यवसाय माछा मारेर बिक्री गर्नु नै थियो । उनीहरूले मारेका माछामध्ये केही ग्राहक घरघरमा गएर खरीद गर्थे भने केही माझीले नजिकका बजारमा बिक्री गर्न ल्याउने गरेका थिए । यो वर्ष बाढीले माछा बगाएपछि माझी फुर्सदिला बनेका छन् । विगत वर्ष दिनभरिमा पाँचदेखि सात किलोसम्म माछा पर्ने दोभानमा बाढीपश्चात् एक किलो पनि पर्न छोडेपछि विभिन्न घाटमा बस्ने माझीले माछा मार्ने काम छाडेको जसबहादुरले बताए ।

परम्परागतरूपमा नाउ तार्ने र माछा मार्ने पेशा अँगाल्ने माझीका दुई वटै पेशा विस्थापित हँुदै गएपछि उनीहरूको अवस्था भने दयनीय बनेको छ । लोप हुने अवस्थामा पुगेका माझीलाई पनि राज्यले उचित शिक्षादीक्षा र समान अवसर दिएर न्याय गर्नुपर्ने आठराई गाउँपालिका–५ का जयकुमार माझीले बताए ।

LEAVE A REPLY