माछामा मुलुक आत्मनिर्भरतर्फ

0
40

काठमाडौँ। केही वर्षदेखि व्यावसायिक रुपमा माछापालन हुन थालेपछि माछामा मुलुक आत्मनिर्भरतर्फ अग्रसर हुँदैछ । प्रत्येक वर्ष माछाको उत्पादन बढ्दै गएकाले विदेशबाट आयात हुने गरेको माछाको परिणाम क्रमशः घट्दै जान थालेको छ । केन्द्रीय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्रका अनुसार अघिल्लो वर्षको तुलनामा पछिल्लो वर्ष माछा उत्पादन बढ्दै गएको हो ।

आर्थिक वर्ष २०७०/७१ मा ६४ हजार ९०० मेट्रिक टन उत्पादन भएको माछा आव २०७४/७५ मा आइपुग्दा ८६ हजार ५४४ मेट्रिक टन उत्पादन भएको हो । जुन उत्पादन चार वर्षको समयमा झण्डै २० हजार मेट्रिक टन बढी हो । विदेशी मुलुकबाट आयात हुने माछाको क्रम भने घटेको छ । आव २०७०/७१ मा १२ हजार ८६९ मेट्रिक टन आयात भएकामा आव २०७४/७५ मा १० हजार ७५६ मेट्रिक टन आयात भएको छ । जुन आयात क्रम चार वर्षमा दुई हजार मेट्रिक टन कमी हो ।

केन्द्रका सूचना अधिकारी सुमित्रा लौडारी नेपालमा माछापालन व्यवसायमा कृषकको आकर्षण बढेको बताउँछिन् । “माछापालन पोखरी खन्न गाह्रो भएपनि धेरै जनशक्ति नलाग्ने र धेरै आम्दानी हुने भएकाले धेरै कृषक यस पेशाप्रति आकर्षित भएको देखिन्छ,”–उनले भनिन् । विश्वका विकसित मुलुकले वार्षिक प्रतिव्यक्ति २८ किलो माछा खाने गरेपनि नेपालमा उत्पादित माछाले वार्षिक ३ दशमलव ०१ किलोग्राम मात्र उपलब्ध हुने गरेको छ । अल्पविकसित मुलुकमा भने प्रतिव्यक्ति वार्षिक ११ किलोग्राम माछा प्रयोग हुँदै आएको छ ।

केन्द्रका वरिष्ठ मत्स्य विकास अधिकृत गायत्रीराज वाग्ले नेपालमा माछाको उत्पादन वृद्धिका लागि केन्द्र र प्रदेशले विभिन्न कार्यक्रम ल्याएको बताउँछन् । नेपाललाई सन् २०३१ सम्म माछाको प्रयोगका लागि अल्पविकसित मुलुकको दाँजोमा पुर्याउन माछापालनसम्बन्धी विभिन्न कार्यक्रम ल्याउन लागेको छ । नेपालमा हाल प्रयोग हुँदै आएको माछामध्ये ८० प्रतिशत स्वदेशमा र २० प्रतिशत विदेशी मुलुकबाट आयत हुने केन्द्रले जनाएको छ । राजधानी काठमाडौँमा प्रयोग हुने माछा ६५ प्रतिशत भारतबाट तथा ३५ प्रतिशत नेपालकै विभिन्न स्थानबाट आयात गरिन्छ ।

नेपालको तराईमा माछा अत्यधिक मात्रामा उत्पादन हुन्छ । सिरहा, धनुषा, चितवन, कैलाली, मकवानपुर, रुपन्देही, कपिलवस्तुलगायतका जिल्लामा धेरै माछा उत्पादन हुँदै आएको छ । नेपालका विभिन्न नदीनाला तथा तालतलैयामा हाल २३२ प्रजातिका माछा पाइन्छ । त्योमध्ये ११ प्रजातिका माछालाई व्यावसायिकरुपमा पालन गरिएको छ । कमनकार्प, विगहेडकार्प, सिल्भरकार्प, ग्रासकार्प, रहुकार्प, नैनीकार्प, भाकुरकार्प, टिलापिया, माङ्गुर, पङ्गास, जलकपुर, असला र ट्राउटलाई व्यवसायिक रुपमा पालन गरिएको छ ।

नेपालमा पाइने विभिन्न किसिमका माछामध्ये ट्राउट माछा चिसो पानीमा पाईने र महँगो मूल्यमा बिक्री हुने माछा हो । ट्राउट माछा नेपालको स्तरीय होटलमा प्रयोग हुँदै आएको केन्द्रले जनाएको छ । नेपालका तारे होटलमा प्रयोग गर्नका लागि तेस्रो मुलुकबाट समेत माछा भित्रिने गरेको छ । माछाको उत्पादनलाई बढाउन देशभर केन्द्रसहित १३ वटा फार्म सङ्लग्न रहेका छन् ।

यीबाहेक विभिन्न जिल्लामा जिल्ला कृषि विकास कार्यालयमा मत्स्य विकास अधिकृत र थप केही जिल्लामा प्राविधिक सहायकमार्फत काम भइरहेको छ । माछाको विकास र विस्तारका लागि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत नौ वटा अनुसन्धान केन्द्र स्थापना गरी माछाको अध्ययन तथा अनुसन्धान भइरहेको केन्द्रले जनाएको छ ।

केन्द्रले किसानलाई प्राविधिक सेवा दिने पोखरी निर्माण, एरियटर (माछाको पोखरीमा अक्सिजन वृद्धि गर्ने मेशिन), ह्याचरी (भुरा उत्पादन गर्ने ठाउँ) निर्माणमा अनुदान सहयोग गरिरहेको छ ।

चालू आर्थिक वर्षमा मात्र ह्याच्लीङ, फ्राई र फिंगलिङ नामका माछाका भुरा बिक्रि गरेर रु तीन लाख ६९ हजार ९६५ राजश्व सङ्कलन भएको सूचना अधिकारी लौडारीले बताईन् । केन्द्रले हाल माछापोखरीमा रहेका १४ पोखरीबाट भुरा तथा माउ उत्पादन गर्दै आएको छ ।

नेपालको कुल ग्रार्हस्थ्य उत्पादनको एक प्रतिशत माछा क्षेत्रको योगदान रहेको छ भने कुल रोजगारमा तीन प्रतिशत रोजगार दिएको छ । नागरिकले पोषणको महत्व बुझ्दै गएको वर्तमान अवस्थामा स्वस्थ माछाको उपलब्धतामा कमी रहेको केन्द्रले जनाएको छ ।

LEAVE A REPLY