‘विश्वगज’ मितज्यु र हात्तीहरूकाे कथा !

0
207

डा. विश्व पाैडेल ।

हात्तीहरुको गुण्डागर्दीको कथा चितवनमा हुर्कंदा हामीले सुनेका हुन्थ्यौं । हालसालै चर्चामा आएका रोनाल्डो, ध्रुवे जस्ता हात्तीहरु राष्ट्रिय सेलेब्रिटी भए । हालै जन्मिएकाे ध्रुवेको छोराकाे नाम खै कसले ‘विश्वगज’ राखिदिएछ ।

विश्वगज हात्ती

वि.सं. २०२६ मा सौराहामा अहिलेको ठुलो हात्तीसार बनाउनुअघि सोनवर्षामा हात्तीसार थियो । त्यहाँ प्रख्यात हात्तीहरु मोतिप्रसाद, विजुलिप्रसाद (जसले नेपालमा कती क्षेत्रफल लाई एक विघा भन्ने भन्नेकुरा निर्धारण गरेको थियो रे) र त्रिभुवनप्रसाद (जसलाई विरेन्द्रको राज्यभिषेकमा प्रयोग गरिएको थियो) बस्थे । मोतिप्रसाद हात्ती यती बलियो थियो रे कि एकपटक रापतिखोलामा ट्रक फस्दा उसले सुँडले उचालेर आफ्नो काँधमा ल्याइ बोकेर तारेको थियो रे । यी हात्तीहरुको बारेमा जनकवि केशरी धर्मराज थापाले आफ्नो किताब ‘चितवन दर्पण’ मा लेख्नुभएको छ । हात्तीको डर चितवनमा केही अघिसम्म पनि थियो । थापाले बाटाबाटामा हात्तीले साप्रो चिरेर छोडिएका मान्छेका लाश हुन्थे भनेर १०/२० साल तिरको चितवनको सम्झनामा लेख्नुभएको छ ।

मेरा पूज्य बुवाले मलाई सुनाउनुभएको त्यो बेलाको एक कथा यस्तो छ । २०१९ सालतिर हाम्रो परिवार बस्ने पूर्वी चितवनको जौका जौदारी क्षेत्रमा एउटा हात्तीले साह्रै दुःख दियो । खेती नाश गर्‍यो । एकजना छिमेकीलाई साप्रो च्यातेर मारिदियो । वनको गस्ती प्रहरीलाई खबर गर्दा उसले ६५ वटा फायर खोल्दा पनि त्यो हात्ती मरेनछ । तर, पूर्वी चितवन छोडेर चाँही हिँडेछ ।

फास्ट फर्वार्ड एक वर्ष । बुवाहरु बसेको ठाउँँ मृगकुन्ज बनाउन भनेर सरकारले अधिग्रहण गर्ने र त्यसको सट्टा माडीमा जग्गा दिने भयो । बुवासहित जौका जौदारीका केही वासिन्दाहरु जग्गा हेर्न माडी जाने हुनुभएछ । गएको बेला उहाँँहरु नुन किन्न भनेर ठोरी बजार पनि जानु भएछ। त्यहाँबाट माडी फर्कँदा सुरक्षाको दृष्‍टिले घाँघरचौकीमा बास बस्नुभएछ । त्यही राति उक्त हात्ती घाँघरचौकीमा आक्रमण गर्न आएछ । चौकी हवलदारले अब यसै मर्ने उसै मर्ने भनेर गोली ताकेर हानेको, ठ्याक्कै कन्चटमा लागेर उक्त हात्तीको मृत्‍यु भएछ । त्यसका बाक्ला छालाहरुमा अघिल्लो वर्ष हानेका ६५ वटा फायरहरु मध्य कतिपयको टाटो अझै थियो रे।

मीतज्यु विश्वगजको जीवन चाँही सुख, आनन्दमा बितोस् र उहाँँ मोतिप्रसाद हात्ती जस्तै दीर्घायु हुनुहोस् भन्ने शुभकामना सहित…! (याे लघुलेख अर्थविद् डा. विश्व पाैडेकाे फेसबुकबाट लिइएकाे हाे ।)

LEAVE A REPLY