अवैध एन्टिबायोटिक्स सिफारिसः प्रेमी र निर्मललाई फलिफाप लम्साललाई अभिशाप

0
819

राजन प्रसाई
काठमाडौं । पशु आहारमा एन्टिबायोटिक्स औषधी मिसाउन नपाइने कानुन हुँदा हुँदै सरोकारवाला निकायकै सहभागितामा ठूलो परिमाणमा एन्टिबायोटिक्स औषधी मिसाइएका पदार्थलाई पशु आहार भनी आयात गरिएको पाइएको छ । पशुपन्छीसम्बन्धी प्रत्यक्ष सरोकारवाला कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको पशुसेवा विभागकै सहभागितामा अत्याधिक एन्टिबायोटिक्स औषधी मिसिएका पदार्थलाई पशु आहार भनी आयात गरिएको हो । यतिसम्म कि त्यसरी आयात गरिने पदार्थको बाहिर टाँसिने लेबलमा ‘यो पशु आहार हो, औषधी होइन’ भनेर लेख्न पशुसेवा विभाग अन्तर्गतको लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाले निर्देशन दिएको छ ।

विद्यमान कानुनअनुसार पशु आहारमा कत्ति पनि एन्टिबायोटिक्स औषधी मिसाउन पाइँदैन । एन्टिबायोटिक्स औषधीलाई औषधी नै भनेर र पशु आहारलाई पशु आहार नै भनेर प्रचलित कानुनी व्यवस्था पूरा गरेपछि मात्र आयात गर्न पाइन्छ । कुनै पनि औषधी आयात गर्न औषधी व्यवस्था विभागले नै अनुमति दिनुपर्छ । पशु आहार आयात गर्न भने पशु सेवा विभागले अनुमति दिन सक्छ । यही ‘लुपहोल’मा टेकेर पशु सेवा विभागकै बरिष्ठ अधिकारी र बरिष्ठ पशुचिकित्सकको सहभागितामै अत्याधिक एन्टिबायोटिक्स मिसाइएका पदार्थलाई पशु आहार भन्दै आयात गरिएको हो ।

यसरी एन्टिबायोटिक्स मिसिएका पदार्थलाई पशु आहार भन्दै आयात गर्न अनुमति दिने बाटो २०७३ साउन ११ गते बसेको पशु आहारा तथा औषधी सिफारिस समितिको बैठकले खोलिदिएको थियो । पशुसेवा विभागका तत्कालीन महानिर्देशक डा. केशवप्रसाद प्रेमीको अध्यक्षतामा बसेको यो बैठकमा विभागका तत्कालीन उपमहानिर्देशक डा. बिमल कुमार निर्मल अर्का उपमहानिर्देशक डा. किशन चन्द ठकुरी, पशु स्वास्थ्य निर्देशनालयका कार्यकारी निर्देशक विजय चन्द्र झा, पशु उत्पादन निर्देशनालयका कार्यकारी निर्देशक केशव प्रेमी, पशु सेवा तालिम तथा प्रचार निर्देशनालयकी कार्यकारी निर्देशक डा. दमयन्ती श्रेष्ठ, पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालयका कार्यकारी निर्देशक डा. बलराम थापा सहभागी थिए ।

यस्तै बैठकमा विभागभित्रै विभिन्न जिम्मेवारीमा रहेका बरिष्ठ पशु विकाश अधिकृतहरु डा लोकनाथ पौडेल, डा. नारायण प्रसाद शर्मा, जीवलाल लम्साल, खुसीलाल साह बरिष्ठ पशु चिकित्सकहरु डा. मोहनदेव लेखक, डा. मोदनाथ गौतम, डा. जगदीश पाण्डे पशु चिकित्सकहरु नन्दकुमार श्रेष्ठ, काजी बहादुर श्रेष्ठ प्राविधिकहरु हरिसिं भाट मुक्तिराम पौडेल र लेखापाल देवी उप्रेती समेत सहभागी थिए । यो बैठकले तरल पशु आहारमा ६ प्रतिशतसम्म एन्टिबायोटिक्स औषधी मिसिएका पशु आहारलाई आयात सिफारिस दिने निर्णय गर्यो । त्यसपछि यही निर्णयमा टेकेर अत्याधिक एन्टिबायोटिक्स मिसिएका पदार्थलाई पनि पशु आहार भन्दै आयात सिफारिस दिने काम सुरु भयो ।

विभागअन्तर्गतको लाइभस्टक गुण नियन्त्रण प्रयोगशालाका बरिष्ठ पशुविकास अधिकृत जीवलाल लम्सालले यही निर्णय अनुसार भन्दै विभिन्न समयमा विराटनगर भन्सार कार्यालय, वीरगञ्ज भन्सार कार्यालय र त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई पत्र लेखे । ती पत्रमा राजधानीका विभिन्न सप्लायरलाई विभिन्न किसिमका पदार्थ आयात गर्न दिनू भन्ने व्यहोरा उल्लेख छ । पत्रमा आयात गरिने पदार्थहरु पशु आहार भएको व्यहोरासमेत उल्लेख भएपनि ती पदार्थहरुमा ठूलो परिमाणमा एनिटबायोटिक्स मिसिएको उत्पादक कम्पनीले नै प्रस्ट लेखेका छन् ।

पत्रमा उल्लेखित पदार्थमध्ये एक ‘टाइलोसिन’ मा के–के पदार्थ मिसिएका रहेछन् भनी जाँच गर्दा त्यसमा प्रति १ ग्राममा १०० मिलिग्राम टाइलोसिन टार्टरेट र २०० मिलिग्राम डक्सिसाइक्लिन मिसिएको उत्पादक कम्पनीले नै प्रस्ट लेखेको छ ।
यी दुवै पदार्थ एन्टिबायोटिक्स हुन् । प्रति ग्राममा दुई पदार्थ गरी ३ सय मिलिग्राम मिसाइएको छ । अर्थात यो पदार्थमा ३० प्रतिशत एन्टिबायोटिक्स मिसिएको छ । यतिमात्र होइन यसरी आयात गरिएका केही पदार्थमा शतप्रतिशतसम्म एन्टिबायोटिक्स भएको समेत पाइएको छ । ६ प्रतिशतसम्म मिसिएको आयात गर्न दिने भन्ने निर्णयमा टेकेर ३० देखि १०० प्रतिशतसम्म एन्टिबायोटिक्स मिसिएको पदार्थलाई पशु आहार भन्दै कसरी आयात सिफारिस दिइयो ? पशु सेवा विभागमा यसबारे प्रश्न गर्दा फरक–फरक किसिमका जवाफ आउँछन् । पशुसेवा विभागका महानिर्देशक (निर्णय भएको बैठक बस्ने बेलाका उपमहानिर्देशक) डा. बिमल कुमार निर्मल यसको जिम्मेवारी अध्यक्षले (तत्कालीन महानिर्देशक) नै लिनुपर्ने बताउँछन् ।

डा. निर्मलले अहिले भने आफूहरुले पशु आहारमा कुनै पनि एन्टिबायोटिक्स कत्ति पनि मिसाउन सिफारिस नदिएको बताए । डा. निर्मलले त आफू महानिर्देशक नियुक्त भएपछि नै पशु आहारमा एन्टिबायोटिक्स मिसाउन र यसरी एन्टिबायोटिक्स मिसाइएका पदार्थ आयात अनुमति दिन बन्द गरेको बताए । ‘म महानिर्देशक भएपछि फिड सप्लिमेन्टमा एन्टिबायोटिक्स मिसाउन पूरै बन्द गराएको छु’ उनले गर्वसाथ दावी गरे । तर, लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाले ३० प्रतिशत एन्टिबायोटिक्स मिसिएको पदार्थलाई पशु आहार भन्दै आयात अनुमति दिँदा डा. निर्मल नै महानिर्देशक थिए । डा. निर्मल २०७३ मंसिरको सुरुवातमै महानिर्देशक नियुक्त भएका हुन् र प्रयोगशालाले त्यसको एक महिनापछि पुस १३ गते मात्र आयात अनुमति दिनू भन्दै भन्सारलाई पत्र लेखेको पाइएको छ ।

यतिमात्र होइन निर्मल महानिर्देशक भएपछि पटक पटक यसरी मापदण्ड मिच्दै अवैध आयातको अनुमति दिइने, आर्थिक लाभ लिएर व्यवसायीको हितमा काम गर्ने लगायतका काम भएको विभाग स्रोत बताउँछ । विभागमा बेथिति भित्र्याउनेमध्ये निर्मल पनि जिम्मेवार रहेको विभाग स्रोतले बतायो ।

हालका महानिर्देशक डा. निर्मलले तत्कालीन अध्यक्ष प्रेमीले जिम्मेवारी लिनुपर्ने भने पनि अध्यक्ष प्रेमीले भने प्रयोगशालालेनै जिम्मेवारी लिनुपर्ने बताउँछन् । बैठकको निर्णयमै ६ प्रतिशतसम्म एन्टिबायोटिक्स मिसिएका पशु आहार आयात गर्न दिने उल्लेख भएकोमा ३० प्रतिशतसम्म एन्टिबायोटिक्स मिसिएका पदार्थ आयात अनुमति दिने प्रयोगशालाकै कमजोरी भएको उनले बताए । ‘निर्णयमा जे उल्लेख छ त्यही अनुसार गर्नुपर्छ, कानुनभन्दा माथि कोही पनि छैन’ प्रेमीले भने ‘निर्णय उल्लंघन गर्दै गलत सिफारिस दिएको जिम्मेवारी प्रयोगशालाले नै लिनुपर्छ । उनले त्यतिबेला १६ प्रतिशतसम्म एन्टिबायोटिक्स मिसिएका पशु आहार आयात अनुमति दिइँदै आएकोमा आफूले त्यसलाई घटाएर पाउडरमा शून्य बनाएको र केही तरलको हकमा ६ प्रतिशतसम्म झारेको बताए ।

पत्र लेख्ने प्रयोगशालाका बरिष्ठ पशुविकास अधिकृत जीवलाल लम्साल भने सप्लायर्सले गलत ‘कल्चर’ पेश गरेर आयात अनुमति लिएको हुन सक्ने बताए । ‘हामीसँग आयात अनुमति माग्दा एन्टिबायोटिक्स मापदण्डभित्र भएको विवरण उल्लेख गरी अनुमति लिएको र पछि आयात गर्ने बेला बढी भएको पदार्थ आयात गरिएको हुन सक्छ’ उनले भने । लम्सालले यस्तो गर्ने केही फर्महरुलाई कारवाहीसमेत गरिएको दावी गरे ।

लम्सालले पशु आहारमा एन्टिबायोटिक्स औषधी मिसाउन नहुने कुराको वकालत गर्ने आफू नै भएको र आफैंले पशु आहार सम्बन्धी निर्देशिका ल्याउन समेत ठूलो पहल गरेको दावी गर्दै आफूबाट यस्तो गल्ती हुनै नसक्ने दावी गरे । उनले सप्लायर्सले नै झुटो विवरण पेश गरी अनुमति लिएकोमा जोड दिँदै सबै दोष सप्लायर्सतर्फ पन्छाए । यस विषयमा खोजी बढ्दै जाँदा विभागका जिम्मेवार अधिकारीहरु एकले अर्कोतर्फ दोष पन्छाउँदै उम्किने प्रयासमा देखिए ।

एउटा सप्लायर्सलाई दिइएको आयात अनुमतिमै मापदण्डभन्दा धेरै एन्टिबायोटिक्स मिसाइएका ३–४ किसिमका पदार्थ छन् । यो निर्णय हुनुभन्दा अगाडिदेखि नै यसैगरी अनुमति दिइँदै आएको विभाग स्रोत बताउँछ । निर्णय भएपछि समेत यसैगरी निर्धारित सीमाभन्दा बढी एन्टिबायोटिक्स मिश्रित पदार्थहरु आयात अनुमति दिइँदै आएको थियो । औषधीसम्बन्धी सम्पूर्ण अधिकार औषधी व्यवस्था विभागभित्र हुँदाहुँदै पनि क्षेत्राधिकार मिचेर पशुसेवा विभागले यसरी आयात अनुमति दिनुको पछाडि पशुसेवा विभागका अधिकारीहरुले आर्थिक लाभ लिएको व्यवसायीले दावी गरेका छन् । व्यवसायीसँगको आर्थिक लेनदेन मिलेपछि विभागका अधिकारीले नियोजित रुपमै यसरी एन्टिबायोटिक्स मिश्रित पदार्थ आयात अनुमति दिएका थिए ।

व्यवसायीसँगको सेटिङमा निर्बाध रुपमा प्रतिबन्धित पदार्थ आयात गरिँदै आएकोमा पछि व्यवसायीसँगको सेटिङ बिग्रिएपछि कार्यविधि बनाउँदा एन्टिबायोटिक्स मिसिएका कुनै पनि पशु आहार आयात गर्न नपाइने गरी प्रतिबन्ध लगाइएको दावी व्यवसायीको छ । कार्यविधि २०७३ को फागुनमा लागु भएको थियो । त्यसअघि निर्बाध रुपमा यस्ता पदार्थ आयात गर्ने अनुमति पाइएको व्यवसायी नै बताउँछन् । विभिन्न समयमा गरिएका अध्ययनमा पनि नेपाली बजारमा पाइने पशुजन्य उत्पादनमा ठूलो परिमाणमा एन्टिबायोटिक्स भेटिएको देखिनुले पनि यो कुरा पुष्टि गर्छन् । पछिल्लो समय भएका विभिन्न स्वास्थ्य सम्बन्धी अध्ययनमा मासुजन्य पदार्थमा एन्टिबायोटिक्स भेटिएको तथ्यांक सार्वजनिक भइसकेको छ ।

विद्यमान कानुनअनुसार भने औषधी व्यवस्था विभागको अनुमतिबिना एन्टिबायोटिक्स औषधीको कच्चा पदार्थ र तयारी औषधी केही पनि आयात गर्न पाइँदैन । औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालका अनुसार औषधी आयात गर्ने अनुमति दिने अधिकार औषधी व्यवस्था विभागबाहेक अन्यत्र कहीँ पनि छैन । यसरी आयात अनुमति दिइनु नै गलत भएको भन्दै उनले यस्तो गरेको पाइएमा कारवाही हुने बताए । ‘तपाइँसँग भएका सूचनाहरुहामीलाई उपलब्ध गराउनुस्’ ढकालले भेट टाइम्ससँग भने ‘कारवाहीको प्रक्रिया अगाडि बढ्छ ।

पशुपन्छीलाई आहारमै एन्टिबायोटिक्स मिसाएर खुवाउँदा पशुको वृद्धि विकास छिटो हुने र उत्पादन पनि बढी हुने हुन्छ । यसो हुँदा किसानलाई तत्कालीन लाभ बढी हुने भएकोले किसानले यस्ता पदार्थ बढी खोज्छन् । बजारमा यस्ता पदार्थको माग बढेपछि व्यापार बढ्ने लोभमा व्यवसायी पनि यस्तै पदार्थको बिक्रीवितरण गर्न आकर्षित हुन्छन् । तर, यसरी नियमित रुपमा एन्टिबायोटिक्स खुवाइएका पशुको मासु, दूध मानव स्वास्थ्यको लागि भने निकै हानीकारक हुन्छन् ।

मानव स्वास्थ्यका लागि हानीकारक भएका कारण पशुलाई नियमित एन्टिबायोटिक्स खुवाउन प्रतिबन्ध लगाइएको हो तर व्यवसायी व्यापार बढ्ने र किसान उत्पादन बढ्ने लोभमा एन्टिबायोटिक्स मिसिएका पदार्थतर्फ आकर्षित हुन्छन् । यही कारण यस्ता पदार्थको गैरकानुनी तस्करी तथा आर्थिक सेटिङमा कानुन मिच्दै आयात हुने गरेको छ ।

LEAVE A REPLY