पशुपन्छीमा पनि ज्यान हुन्छ भनेर सम्झाउनु पर्ने अवस्थामा छौं

1
550

प्रमदा शाह, अध्यक्ष, एनिमल नेपाल  
बाँच्न पाउने मानव अधिकारको प्रत्याभूति समेत नगरी हत्याका घटनाहरु भइरहेका छन् । तर, नेपालमै यस्ता संस्थाहरु पनि छन्, जसले पशुपन्छी अधिकारका विषयमा आवाज उठाउँदै आएका छन् । त्यसैमध्येको एउटा संस्था हो, एनिमल नेपाल । पशुपन्छी पाल्ने, उनीहरुलाई काममा लगाउने, दूध दोहन गर्ने, मासु उत्पादन गर्ने जस्ता काम गरिरहेका छौं । तर, पशुपन्छीको कल्याणबारे खासै सोचेका छैनौं । यसै सन्दर्भमा एनिमल नेपालकी अध्यक्ष प्रमदा शाहसँग गरिएको कुराकानीः
‘आवाजविहीन पशुपन्छीको आवाज’ भन्ने नारासहित एनिमल नेपाल चलाइरहनु भएको छ । यो संस्था कहिले स्थापना भयो ? र, यसको लक्ष्य के हो ?
सन् २००८ डिसेम्बरमा हामीले एनिमल नेपाल संस्था स्थापना (दर्ता) गरेका हौं । अहिले हामी दशौं वर्षमा छौं । हामीले नेपालमा पशुपन्छीमाथि धेरै नै क्रुरता देख्यौं । मानिसले पशुपन्छीलाई अत्यन्तै कष्ट दिएको पायौं । विचरा पशुपन्छी मान्छेको भाषामा कुरा गर्न वा बोल्न सक्दैनन् । मानिसले उनीहरुको दर्दलाई बुझ्ने चेष्टा गरेनन् । त्यही क्रुरताको अन्त्य गर्दै पशुपन्छीको हकहित र अधिकार सुनिश्चित गर्ने हाम्रो लक्ष्य हो । आवाजविहीनहरुको आवाज (भ्वाइस अफ द भ्वाइसलेस) बन्ने हाम्रो प्रयास हो ।
पशुपन्छीको हकहितमा कसरी काम गरिरहनु भएको छ ?
पशुपन्छीको अवस्थाबारे हामीले रिसर्च गरिरहेका र्छौं । र, सामान्य हक समेत नपाएका पशुपन्छीको हक दिलाउन वकालत गर्छौं । सडकमा छाडा छोडिएका पशुलाई प्रत्यक्ष सेवा दिने र हाम्रा आश्रय स्थलमा लगेर राख्ने काम गरिरहेका छौं । खास गरी हामीले तीन ओटा मूख्य क्रार्यक्रम गरिरहेका छौं । ‘ह्युमन डग पपुलेशन म्यानेजमेन्ट’ कार्यक्रमअन्तर्गत कुकुरको बन्ध्याकरणको काम गरिरहेका छौं । यसका लागि ‘मोबाइल रेस्पोन्स टिम’ बनाएका छौं । कुनै कुकुर कतै बिरामी परेको, दुर्घटनामा परेकोजस्ता जानकारी आएपछि उक्त टोलीले गएर उपचार गर्छ । र, सडकमा उपचार हुन नसके चोभारमा रहेका हाम्रो कुकुर उपचार केन्द्रमा लगेर उपचार गर्छौं । यसरी हामीले ललितपुरको रिङरोडभित्रका ७५ प्रतिशतभन्दा बढी कुकुरको बन्ध्याकरण गरिसकेका छौं । यो कार्यक्रम हामीले लुम्बिनीमा पनि गरिरहेका छौं । कुकुर बन्ध्याकरण कार्यक्रमअन्तर्गत लुम्बिनीमा एक चरण पूरा गरिसकेका छौं । अब अर्को चरण सुरु गर्दै छौं ।
त्यस्तै, इँटा भट्टामा काम गर्ने घोडा, गधा, खच्चरका हक अधिकारका क्षेत्रमा काम गरिरहेका छौं । गोरखालगायत खास गरी पहाडी जिल्लाका इँटा भट्टामा इँटालगायत सामग्री बोक्ने काम यी जनावरले गरिरहेका छन् । त्यसरी काम गरिरहेका जनावरसँग मालिकले कसरी मानवीय व्यवहार गर्ने, उनीहरुको स्वास्थ्यको ख्याल कसरी गर्ने, राम्रो व्यवहार र हेरचाह कसरी गर्ने भन्ने जस्ता विषयमा ती जनावरका मालिकलाई सिकाउँछौं । तालिम दिन्छौं ।
अर्को, लाइभस्टक इन्डस्ट्रीमा भइरहेको गलत अभ्यास र पशुपन्छीप्रतिको क्रुरता हटाउने कार्यक्रम सुरु गर्दैछौं । ‘ह्युमन लाइभस्टक डेभलपमेन्ट’ कार्यक्रम चलाउन लाग्दै छौं । झण्डै डेढ वर्ष लगाएर हामीले नेपालका लाइभस्टक इन्डस्ट्रीहरुको रिसर्च सकेका छौं । रिसर्चले सबैभन्दा बढी क्रुरता लाइभस्टक इन्डस्ट्रीमा देखेका छौं । पशुपन्छी पालन गर्ने, ढुवानी गर्ने, मासु तथा दूध उत्पादन र खपतसम्मका प्रक्रियामा धेरै ठाउँमा हामीले कमी कमजोरी, गलत अभ्यास र क्रुरता पाएका छौं । त्यसलाई अन्त्य गर्नुपर्ने छ । यसतर्फ हामी लाग्दै छौं ।
कुकुर बन्ध्याकरणको कुरा गर्नु भयो । यो कार्यमा अरु संस्थाले पनि काम गरिरहेका देखिन्छ । तर, भुस्याहा कुकुरको संख्या घटेको जस्तो भान हुँदैन त ?
हो, हामीसहित दुई÷तीन संस्थाले कुकुर बन्ध्याकरण गरिरहेका छन् । यसले कुकुरको संख्या निश्चित रुपमै घटेको छ । पहिलेको संख्या कति थियो भन्ने थाहा नहुँदा घटेको जस्तो नलाग्न सक्छ । तर, बन्ध्याकरण गर्नुअघिको र अहिलेको संख्याको तुलना गर्ने हो भने ललितपुरमै भुस्याहा कुकुरको संख्या धेरै घटेको छ । बध्याकरण गर्नुअघि हामीले ललितपुरका वडा÷वडामा गएर कुकुरको गणना गर्यौं । त्यसपछि प्रत्येक वडामा यो कार्यक्रम चलाएका हौं । तर, काठमाडौं उपत्यकाभरीको नतिजा हेर्नका लागि भने अझ २÷४ वर्ष कुर्नुपर्छ ।
भुस्याहा कुकुर नियन्त्रणमा यहाँहरुलाई सरकारले पनि सहयोग गरेको छ ?
हामीलाई नेपालबाट सहयोग छैन । विदेशी दाताकै भरमा यो कार्यक्रम चलाइरहेका छौं ।  दाताले १÷२ महिनाका लागि पैसा दिन्छन् । त्यसैबाट हामीले कार्यक्रम चलाइरहेका छौं । हो, पशुपन्छीको कल्याणबारे विस्तारै सरकारको आँखा खुल्दै छ । सरकारले पनि यस विषयमा सोच्न थालेको छ । यस क्षेत्रमा सरकारले अहिलेसम्म गरेको ठूलो काम भनेको ‘एनिमल वेलफेयर डाइरेक्टिभ (पशुपन्छी कल्याण निर्देशिका)’ निर्माण हो । त्यो निर्देशिकाले खास गरी कामदार जनावरलाई कसरी व्यवहार गर्ने भन्ने नीतिगत व्यवस्था गरेको छ । अब, ‘एनिमल वेलफेयर एक्ट(ऐन)’ बनाउने भनेर सरकार लागिपरेको छ । यस कुरामा हामीलाई खुसी लागेको छ । कुकुरलगायत छाडा पशुको बन्ध्याकरण गर्ने कार्यक्रम सरकारको हुनुपर्छ । र, हामी जस्ता संस्थाले सरकारलाई सघाउने भूमिका निर्वाह गर्नुपर्छ । अनि आमूल परिवर्तनको अनुभव गर्न पाउनुहुन्छ । अहिलेसम्म त्यस्तो हुन सकेन ।
समस्या त भुस्याहाको मात्रै छैन नि । स्याम्फुले नुहाइदिएर घरमा पालिएका कुकुर पनि ‘अन ह्याप्पी’, आक्रोशित, थुनिएका, बाँधिएका, समयमा खाना नदिइएका देखिन्छ ?
मलाई त के लाग्छ भने बरु बाटोबाटो डुल्ने भुस्याहा कुकुर खुसी छ, घरमा पालिएका ८० प्रतिशत कुकुरले कष्टप्रद जीवन बाँचिरहेका छन् । घरका कौसीमा बाँधेर, थुनेर कुकुर पाल्ने गरिएको छ । स्वतन्त्र रुपमा हिँड्न डुल्न नदिएर बन्दी बनाइएको कुकुरले नयाँ मान्छेलाई देख्नासाथ भुक्छ । भेट्न पाए टोक्छ । आक्रोशित कुकुरको यस्तो व्यवहारबाट हामीले आफ्नो घरको सुरक्षाको भ्रमपूर्ण अनुभूति गरिरहेका छौं । त्यस्तै, मसँग वा मेरो घरमा यो नश्लको कुकुर छ भनेर फुर्ती लगाउँछौं । कुकुरकै नश्लबाट आफ्नो सामाजिक प्रतिष्ठा बढ्छ भनेर सोच्नेहरु पनि छौं । यस्तो गलत सोच त्याग्नु पर्छ । कुकुर बाँध्दैमा घरको सुरक्षा हुँदैन । उसको पनि ज्यान हुन्छ । उसले पनि समयमा खान, हिँड्न पाउनुपर्छ । त्यसो हुँदा कुकुरलाई स्वतन्त्र रुपमा छाडा छोडेर, माया गरेर पाल्नु पर्छ । स्वतन्त्र छोडिएको कुकुरले नयाँ मान्छे देख्नासाथ टोकिहाल्दैन । बरु मानिसको साथी जस्तो बनेर व्यहार गर्छ ।
पशु कल्याणको कुरा गर्नुभयो । घोडा, खच्चरलगायत कामदार जनावरको हितको कुरा गर्नुभयो । तर, पोल्ट्री उद्योगमा चाहिँ कस्तो अवस्था पाउनु भएको छ ।
पन्छी कल्याणका लागि नेपालका पोल्ट्री उद्योगमा धेरै काम गर्नुपर्ने हामीले देखेका छौं । मासु नखाऊँ भनेर हामीले कसैलाई भन्दैनौं । मानिसको जीवनका लागि पशुपन्छी पालन, माछा, मासु, दूध, अण्डाजस्ता पशुपन्छीजन्य उत्पादनसम्बन्धी व्यवसाय आवश्यक छ भने त्यो व्यवसाय नै त्याग्नुपर्छ हामी भन्दैनौं । कामदार जनावरको कामले मानिसको जीवन चल्छ भने त्यो नगरौं भनेर पनि भन्दैनौं । तर, जुनसुकै पशुपन्छी पालेर पशुजन्य उत्पादन गरे पनि वा कामदार पशुलाई काम गराएर जिविका चलाए पनि त्यसमा सही अभ्यास गर्नुपर्छ भन्ने हो ।
पोल्ट्रीको कुरा गर्ने हो भने ए–फोर साइजको साँधुरो केजमा चल्ला र कुखुराहरु राख्ने, कुखुरालाई उल्टो झुण्ड्याएर ढुवानी गर्ने, राँगा भैंसीलाई उसको पुच्छर बाँधेर ट्रकमा राखेर ढुवानी गर्ने, घनले हानेर मार्ने, सुँगुर बंगुरलाई भालाले रोपेर मार्ने जस्ता क्रुर अभ्यास बन्द गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो ।
भइरहेका सबैजसो अभ्यास बन्द गर्नु प¥यो भने त कुखुरा, भैंसी, बंगुर पाल्ने र मासु उत्पादन गर्ने व्यवसाय चलाउन सकिएला र ?
अवश्यै सकिन्छ । संसारमा पशुपन्छी पालन गर्ने र मासु उत्पादन गर्ने देश हामी मात्रै होइनौं । बाटोबाटो मासु काट्ने, जहाँ पायो त्यहीँ, जसरी पायो, त्यसरी पशुपालन गर्ने देश हामी मात्रै हो । कुखुरालाई पनि कष्ट नहुने गरी पाल्ने, ढुवानी गर्ने प्रविधि छ । भैंसी र बंगुरलाई घनले हानेर र भालाले रोपेर उनीहरुको मनमा त्रास सिर्जना गर्नुको साटो त्यसो नगरी मार्न पनि सकिन्छ । जनावरमा डर र त्रास उत्पन्न गराएर ‘अडोनिलिन हाइ’ भएको ‘टकसिन मिट’ खाएर मानिसलाई फाइदा छैन । हामीसँग नीतिगत व्यवस्था नभएर समस्या भएको पनि होइन । पशुपन्छी ढुवानी, मासु उत्पादनलगायतका नीतिहरु छन् । तर, कार्यान्वयन भएका छैनन् । अर्को कुरा भैंसीलाई काठमाडौं ल्याउनुभन्दा जहाँ छ त्यही ठाउँमा बधशालाहरु खोलेर मासु बनाउने र फ्रोजन मिट ढुवानी गर्न सकिन्छ । स्वास्थ्यका लागि पनि ताजा भन्दा फ्रोजन मिट नै राम्रो हुने सल्लाह चिकित्सकहरुको छ ।
हामीकहाँ राँगाभैंसी, बाख्रा, कुखुरा, अस्ट्रिच, गाईजस्ता पशुपालन र उत्पादनको कुरा गरियो । तर, ती उत्पादन गर्दै गर्दा पशुपन्छीको सामान्य हितको समेत ख्याल गरिएन । गाई पाल्छौं । बुढी भएपछि दूध दिन छोडेपछि छाडा छोदिदिन्छौं । गाईको बाच्छालाई त्यसै छोडिदिन्छौं । तिनीहरुको पनि समाधानको कुरा त सोच्नु पर्ने हो नि ।
पशु अधिकारकै कुरा गर्ने हो भने अब गोरु, राँगा जोत्ने कार्य, रक्सोल–वीरगन्ज, नेपालगञ्ज जस्ता सीमा क्षेत्रमा घोडाले चलाउने टाँगा पनि बन्द गर्नुपर्ने होला ?
पहिलो कुरा त प्रविधिमा आएको आमुल परिवर्तनका कारण अहिले गोरु र राँगाको प्रयोग नगरी पनि ट्रयाक्टरको सहायाताले जोत्न सकिन्छ । बरु त्यसमा केही लगानी बढाउन सकिन्छ । अहिले त करिब करिब जनावरले जोत्ने कार्य बन्द नै हुन लागिसकेको छ । टाँगाको विषयमा कुरा गर्ने हो भने हामीले नेपालगञ्जमा टाँगावालाहरुलाई अटो रिक्सा किन्न सहयोग गर्ने कार्यक्रम ल्याएका थियौैं । त्यो ठाउँबाट टाँगा विस्थापित त भयो । तर, टाँगा चलाएर जीवन निर्वाह गरेकाहरुले रोजीरोटी नै गुमाउन पुगे । पैसावाल साहुजीहरु नै अटो व्यवसायी बने । त्यसो हुँदा विकल्पसहितको समाधान हामीले दिने विषयमा काम गरिरहेका छौं । संभव भएसम्म नयाँ प्रविधिको प्रयोग गरेर जनावरको कष्ट अन्त्य गर्नुपर्छ भनेका हौं ।
यहाँहरुले अहिले कति ठाउँमा यो अभियान चलाइरहनु भएको छ ?
गोरखा, धादिङ, ललितपुर इँटा भट्टाका कामदार जनावरको हितमा, लुम्बिनीमा कुकुरको हितमा, चितवन, निजगढ र पोखरामामा पशुपन्छीको कल्याणको क्षेत्रमा काम गरिरहेका छौं ।
नेपालमा मानव कल्याणको विषय नै चुनौतीपूर्ण बनिरहेको बेला यहाँहरुले पशुपन्छीलाई पनि मानव बनाएर सोच्न र व्यववहार गर्न आग्रह गर्दै हुनुहन्छ । यो कामका लागि आर्थिक सहयोग चाहिँ कहाँकहाँबाट पाइरहनुभएको छ ?
हामीलाई अहिलेसम्म सबै विदेशी संस्थाहरुले सहयोग गरिरहेका छन् । एनिमल वेलफेयरका क्षेत्रमा काम गरिरहेका विश्वका ५÷६ ओटा संस्थाले सहयोग गरिरहेका छन् । र, ती संस्थाबाट आएको शत प्रतिशत रकम हामीले एनिमल वेलफेयरकै क्षेत्रमा खर्च गरिरहेका छौं । अफिस सञ्चालन गर्ने, कर्मचारीलाई तलब दिने र वेलफेयरमा खर्च गरिरहेका छौं । तर, मैले के कुरा स्पष्ट गर्नुपर्छ भने हामीले गरेको काम दीगो हुँदैन । दाताले बजेट रोकिदियो भने हाम्रो काम पनि त्योसँगै रोकिन्छ । त्यसो हुँदा यो क्षेत्रमा विस्तारै सरकारले काम थाल्नुपर्छ । सरकारका देशभरी रहेका संयन्त्रले एकसाथ काम गरे परिणाम राम्रो आउन सक्छ । हामी सहयोगी हुन सक्छौं ।
नेपालमा अब सरकार, निजी क्षेत्र, व्यक्ति र यहाँहरु जस्ता संस्थाले पशुपन्छी कल्याणको क्षेत्रमा कसरी अघि बढ्नु पर्ला ?
अहिले एनिमल वेलफेयरको कुरा नेपालमा सिकाउनु पर्ने अवस्थामा हामी छौं । पशुपन्छीमा पनि ज्यान हुन्छ, उसलाई पनि दुख्छ, कष्ट हुन्छ है भनेर भन्नु पर्ने अवस्थामा छौं । यती हुँदा हुँदै पनि नेपाल सरकार सकारात्मक सोच देखेको छु । केही नीति बनेका छन् । केही कानुन बन्ने क्रममा छन् । विस्तारै सबै क्षेत्रमा एनिमल वेलफेयरबारेको सचेतना बढ्दै जाला । यसका लागि यहाँहरुको जस्तो सञ्चार माध्यमको धेरै ठूलो भूमिका हुन्छ । हामी सँगै मिलेर अघि बढ्ने हो भने आगामी दिन राम्रो हुने देखिन्छ ।

1 COMMENT

LEAVE A REPLY