करोड बढी लगानीका बाख्रा, माछा र कुखुरापालन

0
67

नेपालगन्ज । पश्चिम नेपालका विभिन्न जिल्लामा माछा मासुको माग बढ्दै गएपछि बाँकेमा व्यवसायीक रूपमा बाख्रा, माछा र कुखुरापालन गर्नेहरू पनि बढ्दै गएका छन् ।

बाँके, बर्दिया, सुर्खेत, कालिकोट, जुम्ला, दैलेख र दांग लगायतका जिल्लाबाट माछा र मासुको माग बढेको जनाउँदै नेपालगन्जका एक युवाले करोड बढीको लगानीमा तीनवर्टा फर्म दर्ता गराएर एकै ठाउँमा व्यवसायीक बाख्रापालन, माछापालन र कुखुरापालन सुरु गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर २३ हिरमिनियाको जङ्गलीपुरुवामा एनजे बाख्रापालन, एनजे माछापालन र एनजे कुखुरापालन फर्मका नाममा नेपालगन्ज परसपुरका युवा निजामुद्दिन इद्रिसीले एकै ठाउँमा बाख्रापालन, माछापालन र कुखुरापालन सुरु गरेका हुन् ।

१८ कठ्ठा आफ्नै जग्गामा सुरुमा ३ सय ब्राखा पालेर सो व्यावसायिक बाख्रापालन सुरु गरिएको जनाउँदै इद्रिसीले यो नै बाँके जिल्लाको हालसम्मकै सबैभन्दा ठूलो बाख्रापालन भएको दाबी पनि गरेका छन् ।

एक वर्षको अवधीमा २ हजार बाख्रापालन गर्ने लक्ष्यसहित सो व्यवसाय सुरु गरिएको जनाउँदै उनले बाख्राहरूका लागि आधुनिक गोठहरू तथा कुखुरापालनका लागि खोर र माछापालनका लागि तलाउ निर्माण गर्ने कार्य भैरहेको बताए ।

बाख्रापालनका साथै कुखुरापालन र माछापालन समेत एकै ठाउँबाट गरिने जनाउँदै उनले त्यसका लागि आधुनिक गोठ, खोर र ताल निर्माणको काम भइरहेको बताएका छन् ।

बाँके र सो वरिपरिका जिल्लामा मासु र माछाको माग बढ्दै गएको देखेरनै आफूले यति ठूलो लगानीमा बाख्रापालनसँगै कुखुरापालन र माछापालन सुरु गर्न लागेको संचालक इद्रिसीले जनाए ।

सुरुमा १२ हजार कुखुरा पाल्ने र १५ हजार माछा पाल्ने लक्ष्यका साथ ३ वटा आधुनिक कुखुराका खोर र आधुनिक किसिमका ३ वटा तालको निर्माणलाई हाल तिव्रता दिइएको उनले बताए ।

बाँके, बर्दिया र कर्णाली प्रदेशका अधिकांश जिल्ला अझै पनि माछा मासुमा भारतकै भर पर्दै आएकोले आफ्नै देशमा मासु र माछा उत्पादन गरेर आत्मनिर्भर बनाउन व्यावसायिक बाख्रा र माछापालन गरिएको सो फर्मका सञ्चालकको भनाइ छ ।

जिल्लाकै सबैभन्दा ठुलो व्यवसायीक यो कृषि फार्मका लागि अझै धेरै लगानी आवश्यक रहेकोले कृषि अनुदान कोषका लागि कृषि ज्ञान कार्यालयमार्फत अनुदान माग गरेर प्रस्तावना पेश गरेपनि अनुदान नपाएको गुनासो गरे । उनले सरकारी अनुदानसम्म वास्तविक कृषकको पहुँच नभएको पनि जनाए ।

एक करोडको लागतमा हाल आफ्नो एकल प्रयासमा सो व्यवसाय सुरु गरे पनि स्थानीय तथा प्रदेश सरकारले आफ्नो व्यवसायलाई सहयोग गरेर प्रोत्साहन गरिदिए व्यवसाय बढाउँदै लैजाने उनको योजना छ । अर्को वर्ष थप ४० कठ्ठा जग्गा भाडामा लिएर बाख्रापालन र माछापालनलाई बढाउनुका साथै अण्डा उत्पादन समेत गर्ने आफ्नो लक्ष्य रहेको ईद्रिसीले बताए ।

LEAVE A REPLY