मन्त्रीले रोपे ग्रिनहाउसमा गोलभेँडा

0
153

काठमाडौं। कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले काठमाडौंको नागार्जुन नगरपालिका– ६, रामकोटमा रहेको आधुनिक ग्रिनहाउसमा गोलभेँडाको बिरुवा रोपेका छन् । विगत १० वर्षदेखि व्यावसायिक गोलभेँडा खेती गरिरहेका अर्घाखाँची एग्रो प्रालिका सञ्चालक पुष्कर केसीले दुई रोपनी क्षेत्रफलमा बनाएको टनेल हाउसको मन्त्रीले गोलभेँडा रोपेर शुभारम्भ गरेका हुन् ।

मन्त्री खनालले वास्तविक किसानलाई राज्यले प्रदान गर्ने सेवा, सुविधा प्रवाह गरी कृषि क्षेत्रको उत्पादन वृद्धिमा अघि बढ्ने प्रयास गरिरहेको बताए । व्यावसायिक कृषिमा लाग्ने सबैलाई सरकारले सहज वातावरण बनाउने भन्दै उनले काठमाडौं आसपासका जमिनको सदुपयोग गरेर तरकारी उत्पादन बढाउन सक्ने प्रशस्त सम्भावना रहेको बताए ।

वैदेशिक सहयोगमा सञ्चालित कार्यक्रमले कृषिमा २५ करोड अनुदान दिने भने पनि त्यो रकम लिन किसानले १० करोड लगानी गर्नुपर्ने सर्त रहेको उनको भनाइ छ । ‘अहिलेको अवस्थामा किसानले १० करोड लगानी गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘त्यसैले अबका दिनमा साना किसानलक्षित प्रत्यक्ष अनुदान कार्यक्रम ल्याउन खोजिएको छ ।’

केसीले चार रोपनी जग्गा भाडामा लिएर गोलभेँडा खेती थालेका हुन् । तरकारी खेती गर्न मन्त्रालयमातहतको तरकारी विकास निर्देशनालयले १६ लाख ४५ हजार रुपैयाँ अनुदान दिएको छ । नयाँ टनेलबाट केसीले वार्षिक ३० हजार किलो गोलभेँडा उत्पादन गर्ने लक्ष्य लिएका छन् ।

१० वर्षदेखि फार्म सञ्चालन
पुष्कर केसीले १० वर्षदेखि रामकोटमा जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका छन् । ३० रोपनी जग्गामा तरकारी खेती गरिरहेका उनले त्यसमध्येको २ रोपनीमा मंगलबारबाट गोलभेँडा लगाउन थालेका हुन् । ग्रिन हाउसमा सिजना जातको गोलभेँडा रोपेको उनले बताए । मंगलबार रोपेको बिरुवाले दुई महिनापछि फल दिने उनले बताए । केसीले ३० रोपनी जग्गा वार्षिक ६ लाख रुपैयाँ भाडा तिर्ने गरी भाडामा लिएका छन् । गोलभेँडा खेतीमा २० लाखजति खर्च हुने उनको अनुमान छ । गोलभेँडा खेतीबाट यो वर्ष ५० लाख आम्दानी गर्ने लक्ष्य लिएका उनले गत वर्ष ३५ लाख रुपैयाँको गोलभेँडा बिक्री गरेका थिए । (नयाँ पत्रिका दैनिकबाट)

LEAVE A REPLY