अलैंचिदेखि दिक्क, खेतीमा धमाधम डोजर

0
59

ताप्लेजुङ । मूल्य अकासिएर प्रतिमन (४० किलोग्राम) को एक लाख २० हजारसम्म पुग्दा अलैंचीलाई आर्थिक समृद्धिको माध्यम ठानेर धान खेत मास्दै खेती विस्तार गरेका पूर्वी पहाडका किसानलाई त्यो कदम अहिले अभिशाप भएको छ। अलैंची खेतीले उकालो नलगाउने भन्दै ताप्लेजुङका किसानले खेतीमा डोजर चलाएका छन्।

फुङलिङ नगरपालिका ८ का अलैंची कृषक दिलकुमार मेन्याङ्वोले यसबाट आर्थिक उपार्जन सम्भव नभएको भन्दै खेती मासेर तरकारी लगाएको बताए। अलैंची खेतीमा बुधबार डोजर चलाएका मेन्याङ्वोले नागरिकसँग भने ‘उत्पादनले लगानी नै उठ्न छाडेपछि यसैमा अल्झिइरहन मन परेन, बरु तरकारी खेती लगाउँछु,’। उनले बरबोटे क्षेत्रमा रहेको आफ्नो पाँच रोपनी खेतमा लगाएको अलैंची बालीमा डोजर लगाएका छन्। डोजरले सम्याएको अलैंची बालीमा यसै महिनाबाट तरकारी खेती थाल्ने मेन्याङ्वोले जानकारी दिए।

सात वर्षअघि उनैले धानखेती मासेर बरबोटे क्षेत्रमा अलैंची खेती लगाएका थिए। त्यो बेला अलैंचीको मूल्य सालिन्दा वृद्धि हँुदै गइरहेको थियो। अलैंची उत्पादनका उत्पादनका दृष्टिले बर्सेनि वृद्धि हुँदै गइरहेको क्षेत्र हो– फक्ताङ्लुङ गाउँपालिकाको उपल्लो इलाका। उत्पादन वृद्धि र उच्च दरको मूल्यको प्रभावले केही वर्षअघिसम्म यो क्षेत्रमा अलैंची खेतीप्रतिको आकर्षण थामिनसक्नु थियो।

एकपछि अर्को गर्दै त्यो क्षेत्रका धानखेत मासिए र अलैंची बगानले पूरै क्षेत्र ढाक्यो। अहिले त्यो क्षेत्रका अलैंची किसानमा देखिएको निराशा कल्पना बाहिर छ। त्यसमध्येका एक किसान हुन्– फक्ताङ्लुङ–३ लिङ्खिमका वीरबहादुर विश्वकर्मा। अलैंचीको उच्च दरको आम्दानीको लोभमा वर्षभर खान पुग्ने धान र कोदोले भरिएको २० रोपनीभन्दा बढी जमिन मासेर अलैंची खेती लगाएका वीरबहादुरलाई अहिले निराशा छाएको छ। अलैंचीले खेतीमा गरिएको लगानी नै उठ्न छाडेपछि यसबाट प्राप्त हुने आर्थिक समृद्धिको योजना तुहिएको भन्दै उनी धमाधम अलैंची बगान फाँड्न थालेका छन्।

लगानी डुब्ने भय लिङ्खिमकै अर्का किसान सञ्चबहादुर लिम्बूलाई पनि छ। कुनै समय अलैंचीबाहेक अर्को बालीबाट गाँस, बास र कपास असम्भव देख्ने सञ्चबहादुर पछिल्लो समय निराश छन्। भन्छन्, ‘जे पहिले सोचिएको थियो, त्यो अलैंची खेतीबाट सम्भव हुन सकेन।’ उत्पादन बढे पनि पछिल्लो समय मूल्यमा देखिएको अस्वाभाविक गिरावटले किसानलाई अलैंची खेतीप्रति विकर्षण गराएको छ। अलैंची जोन ताप्लेजुङका संयोजक दिनेश अधिकारी परनिर्भर रहेको अलैंचीको मूल्य अस्थिर मात्र नभएर सालिन्दा ओरालो लाग्ने क्रम सुरु भएकोले किसान तथा व्यवसायी दुवैलाई त्यसले प्रत्यक्ष मारमा पारेको बताउँछन्। उनले मूल्य सन्तुलन कायम र बजारमा परेको नकारात्मक प्रभाव हटाउन उच्च स्तरीय पैरवीको आवश्यकता औंल्याएका छन्।

‘हामी किसान र व्यवसायीका समस्यालाई सरोकारवालासँगको समन्वयमा बुझ्ने र माथिल्लो तहमा पु¥याउने योजनामा छौं,’ अधिकारीले भने, ‘नेपाल सरकारले यसको समाधान खोज्न विज्ञसहितको टोलीमार्फत शीघ्र पहल गरोस् भन्ने हाम्रो अनुरोध हो।’

अलैंची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष बालमणि बरालका अनुसार चालु महिनाको तेस्रो साता पहाडी जिल्लामा अलैंचीको दर प्रतिमन २३ हजारमा स्थिर छ। पहिलो साता २६ हजार प्रतिमन पुगेको अलैंची मूल्यमा त्यसको दुईसातामै तीन हजार रुपैयाँ प्रतिमनले खस्केको उनले जानकारी दिए। उनका अनुसार अघिल्लो वर्ष यही अवधिमा अलैंचीको मूल्य ३० हजार प्रतिमन थियो। अघिल्लो वर्षको यही अवधिमा ५० हजार प्रतिमनका दरले अलैंचीको कारोबार हुने गरेको थियो। २०७१ सालमा एक लाख २० हजार प्रतिमनका कारोबार हुन थालेर अलैंचीको मूल्यले इतिहासकै सर्वाधिक मूल्य कायम गर्दा किसानले धान, मकै र कोदो खेतीको विकल्पमा अलैंची खेती विस्तार गरे। तर, त्यो मूल्य इतिहासकै बढी मात्र भएन, त्यसपछिका वर्षमा मूल्य क्रमशः ओरालो लाग्न थाल्यो। २०७२ मा औसतमा ९० हजारदेखि एक लाख प्रतिमन, २०७३ मा ७०–९० हुँदै ०७४÷७५ मा ५०–६० र अहिले औसतमा २० हजारदेखि ३० हजार प्रतिमनसम्म मूल्य कायम भएको व्यवसायीको अभिलेखमा उल्लेख छ। यस वर्ष अलैंचीको नयाँ फसल बजारमा आउँदा गत असोज–कात्तिकमा अलैंचीको मूल्य प्रतिमन ३० हजारसम्म कायम भएको थियो। त्यसपछि मूल्य महिनैपिच्छे ओरोलो लागिरहेको अलैंची व्यवसायी संघ ताप्लेजुङका पूर्वअध्यक्ष खड्गबहादुर मोक्तानले बताए। (नागरिक दैनिकबाट)

LEAVE A REPLY