शक्तिशाली हावाहुरीले २२ सय ५० पशुचौपाया र ५ हजार कुखुरा मरे

0
332

काठमाडौं । बारा र पर्सामा आइतबार बेलुकी ७ः४५ बजेदेखि ८ः१५ बजेसम्म आएको शक्तिशाली हावाहुरीले २ हजार २ सय ५० पशुचौपाया र ५ हजार कुखुरा मरेको अनुमानित तथ्यांक संकलन गरिएको छ । प्रभावित क्षेत्रमा खटिएका पशुसेवा विभागअन्तर्गत राम परीक्षण साह नेतृत्वको टोलीले सो विवरण संकलन गरेको हो । उनका अनुसार हावाहुरीमा परी ४०० भैसी, १ हजार ५०० बाख्रा, २०० गाई र १५० गोरु मरेका छन् । त्यस्तै, बरिब ३ हजार पशुचौपाया घाइते भएको अनुमान गरिएको छ । प्रभावित क्षेत्रमा विभागअन्तर्गतको विज्ञ केन्द्र पर्सा र सम्पर्क केन्द्र बाराले संयुक्त रुपमा झण्डै २ सय पशुचौपायको उपचार गरेको छ ।

पशु सेवा विभागबाट पशु चिकित्सकको टोली बारा जाँदै

पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालका अनुसार पशु सेवा विभागबाट पशु चिकित्सतसहितको टोली हावाहुरी प्रभावित क्षेत्रमा जाँदै छ । ‘टोली मुभ भइसकेको छ,’ उनले भने, ‘मंगबार विहान ८ बजेबाट प्रावित क्षेत्रमा शिविर लगाई घाइते पशुको उद्दार तथा उपचार सुरु हुने छ ।
विभागका वरिष्ठ पशु विकास अधिकृत डा. लोकनाथ पौडेलको संयोजकत्वमा ३ जनाको टोली प्रावित क्षेत्रमा गएको उनले जानाकरी दिए । टोलीले प्राथमिक उपचारका लागि आवश्यक औषधि, भ्याक्सिनलगायत सामग्रीसमेत प्रावित क्षेत्रमा लैजाँदै छ ।

प्रधानमन्त्रीले गरे हवाई निरीक्षण

प्रधानमन्त्री केपी शर्मा ओली सबै भन्दा बढी प्रभावित बाराको फेटा गाउँपालिकाको हवाई निरीक्षण गरेका छन् । अपराह्न बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रमा सिमरा विमानस्थल हुँदै उनी पुगेका थिए । ओलीले राहत र उद्धारमा कुनै समस्या हुन नदिन निर्देशन दिएका छन् । प्रधानमन्त्रीले कलैयास्थित अस्पताल र वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल पुगेर घाइतेबारे जानकारी लिए । घटनामा २७ जना व्यक्तिको मृत्यु भएको छ । ६०० सय जनाभन्दा बढी घाइते भएका छन् ।

राहत सहयोग आउने क्रम जारी

प्रभावितलार्इ कांग्रेसका संघीय सांसदहले २ दिनको तलब सहयोग गर्ने निर्णय गरेका छन् । त्यस्तै, उद्योग वाणिज्य महासंघले बारा र पर्साका हावाहुरी पीडितलाई ५० लाख रुपैयाँ नगद तथा अन्य जिन्सी सामग्री सहयोग गर्ने निर्णय गरेको छ । धुर्मुस सन्तली फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल(धुर्मुस) र कुञ्जना घिमिरे समेत राहज सामग्री लिएर बारा पुगेका छन् ।

हावाहुरीले कलैया उपमहानगरपालिकासहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिका, परवानीपुर गाउँपालिका र पर्साका केही ठाउँमा ठूलो जन, पशु र भौतिक धनको क्षति भएको स्थानीय प्रशासनले जनाएको छ ।

LEAVE A REPLY