पशु सेवा विभागको महानिर्देशकमा डा. वंशी शर्मा, डा. निर्मल तानिए मन्त्रालय, डा. काफ्ले मैदानबाट आउट

0
1035

काठमाडौं । पशु सेवा विभागका महानिर्देशकमा डा. वंशी शर्मा नियुक्त भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको ८ वैशाखको निर्णय अनुसार मन्त्रीस्तरीय निर्णयबाट शर्मा आइतबार महानिर्देशक पदमा नियुक्त भएका हुन् । मन्त्रालयको महत्वर्ण विभागका रुपमा रहेको पशु सेवा विभागको महानिर्देशक हुन योग्य हुँदा हुँदै पनि विभागीय मन्त्रीकै स्वार्थका कारण डा. शर्मा पटक–पटक पाखा लाग्दै आएको विभागकै उच्च तहका अधिकारीहरु बताउँछन् ।

पछिल्लो पटक डा. शर्मा प्रदेश २ को कृषि, भूमि विकास तथा सहकारी मन्त्रालयको सचिवमा पठाइएका थिए । तर, हालै उनी संघीय सरकारको कृषि मन्त्रालयमा समायोजनमा परेका हुन् । मन्त्रालयलले उनलाई महानिर्देशकको जिम्मेवारी दिएको हो । विभागको २० औं महानिर्देशकमा शर्मा नियुक्त भएका हुन् । शर्मा लामो समयदेखि कृषि मन्त्रालयअन्तर्गत पशुपन्छीका विषयगत नियकाहरुमा रही योगदान गर्दै आएका थिए । हालका महानिर्देशक डा. विमल कुमार निर्मल पनि पशुपन्छी क्षेत्रका विज्ञ नै हुन् । निर्मलको कार्यशैली समेत किसानमैत्री भएको भन्दै उनलाई हटाइएकोमा केही व्याक्तिले मन्त्रीको आलोचनासमेत गरेका छन् ।

मन्त्रालय स्रोतबाट भेट टाईम्सलाई प्राप्त जानकारी अनुसार मन्त्रीले दिएको निर्देशन पटक—पटक अटेर गरेका कारण डा. निर्मललाई मन्त्रालय तानिएको हो । निर्मललाई मन्त्रीले सरकारी अनुदान रकम हिनामिना गर्ने तत्कालीन पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालयका कार्यक्रम निर्देशक डा. बलराम थापालाई कारवाही गर्न पटक पटक निर्देशन दिएका थिए । तर, डा. निर्मलले डा. थापालाई कारवाही गर्न अटेर गरेका थिए ।

महानिर्देशक नपाउँदा डा. सम्झना काफ्ले रुष्ट, धाउँदै शक्ति केन्द्र

यसैगरी आफूलाई महानिर्देशकको दाबेदार मान्दै आएकी पशुसेवा विभागकी उपमहानिर्देशक डा. सम्झना कुमारी काफ्ले समेत महानिर्देशक बन्न नपाएको रुष्ट बनेकी छिन् । अनुभव, कार्यक्षमता, वरिष्ठतालगायत सबैजसो आधारमा कमजोर भए पनि उनले पूर्वमन्त्री हरिबोल गजुरेलमार्फत आफूलाई महानिर्देशक बनाउन बहालवाला मन्त्री चक्रपाणी खनाललाई दबाब दिँदै आएकी थिइन् । तर, गजुरेलको दबाबसमेतलाई बेवास्ता गर्दै मन्त्री खनालले वरिष्ठता, दक्षता र योग्ताको आधारमा डा. शर्मालाई महानिर्देशक नियुक्त गरेको जानाकारी भेट टाइम्सलाई प्राप्त भएको छ ।

महानिर्देशक बन्न नपाएर रुष्ट बनेकी डा. काफ्लेका पति निरज पाण्डेले डा. शर्मालाई महानिर्देशकबाट हटाउन पार्टी(नेकपा)का शीर्ष नेताहरुलाई मोबाइलबाट पठाएको दबाबसहितका एसएमएस भेट टाइम्सलाई प्राप्त भएको छ ।

हेर्नुहोस् एसएमएसको स्क्रीनसट 

आफूलाई माओवादी नेता समेत बताउने पाण्डेले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता विष्णु पौडेललाई पठाएको एसएमएस भेट टाइम्सलाई प्राप्त भएको हो । यी दुई नेतासहित पाण्डे विभिन्न शक्ति केन्द्र धाइरहेको जानकारी समेत प्राप्त भएको छ ।

यसैगरी, महानिर्देशकका अर्का दाबेदार डा. महेशराज विष्ट भने सुदूरपश्चिम प्रदेशका सचिवका रुपमा समायोजमा परिसकेका छन् ।

विभागलाई किसानमैत्री बनाउँछु : नवनियुक्त महानिर्देशक डा. शर्मा

पशु सेवा विभागको महानिर्देशकमा नियुक्त भएका नवनियुक्त डा. वंशी शर्माले विभागलाई किसानमैत्री तथा उपभोक्ता अनुकुल बनाउने प्रतिवद्धता जनाएका छन् ।

महानिर्देशकमा नियुक्त भएपछि आइतबार भेट टाइम्ससँग संक्षिप्त कुरा गर्दै डा. शर्माले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
‘विभागका सेवाहरुलाई सरल निष्पक्ष र चुस्तदुरुस्त बनाउँदै राहत अनुभूति हुने गरी किसानलाई केन्द्रबिन्दुमा राखेर काम गर्ने छु,’ डा. शर्माले भने, ‘मन्त्री ज्युबाट प्राप्त जिम्मेवारी पूरा गर्न हरदम क्रियाशील रहने छु ।’

डा. शर्माको पद बहाली पशु सेवा विभागको कार्यालय हरिहर भवनमा सोमबार ११ बजे हुने कार्यक्रम रहेको छ ।

यो पनि पढ्नुहोस……

पशुसेवा विभागमा महानिर्देशकको दौड

LEAVE A REPLY