पशु सेवा विभागका नवनियुक्त महानिर्देशक डा. वंशी शर्माको स्वागत तथा पदबहाली, डा. विमलकुमार निर्मलको बिदाइ

    0
    617

    काठमाडौं । पशु सेवा विभागका नवनियुक्त २० औं महानिर्देशक डा. वंशी शर्माले सोमबार पदबहाली गरेका छन् । विभागमा आयोजित एक स्वागत समारोहपछि उनले पदबहाली गरेका हुन् । स्वागत कार्यक्रममा विभागका उपमहानिर्देशक, निर्देशकलगायत उपस्थित सबै कर्मचारीले पुष्पगुच्छा, खादा, फूलमालाले नवनियुक्त महानिर्देशक शर्मालाई स्वागत गरेका थिए ।

    विभागमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उनले पशु सेवा विभागलाई आगमी दिनमा कसरी अघि बढाउने भन्नेबारे आफ्नो योजना तथा प्रतिबद्धता प्रस्तुत गरेका थिए । ‘विभागबाट विदा हुँदै गर्नुभएका डा. विमल कुमार निर्मलका पालामा अघि बढेका सकारात्मक कामलाई हामी संस्थागत गर्दै अघि बढ्ने छौं,’ उनले भने, ‘धेरैलाई थाहा छ म पशुपन्छी क्षेत्रमै लामो समयदेखि कार्यरत छु र विकट बझाङजस्ता दूरदराजका जिल्लामा समेत काम गरेर आएको छु ।’

    आफूलाई सरकारले प्रदेश २ मा पठाउँदा समेत आफूले नेपालको माछा पालन तथा माछा व्यवसायको क्षेत्रबारे राम्रो अनुभव प्राप्त गर्ने मौका पाएको उनले बताए ।

    ‘माछामा पोल्ट्रीमा जस्तो मेहनत छैन, पानी हाल्यो, दाना दियो, हुर्किएपछि झिकेर बेच्न सकिन्छ,’ उनले भने, ‘कुखुराकै जस्तो मेहनत गर्ने हो भने त माछामा नेपाल आत्मनिर्भर हुन समय लाग्दैन ।’

    उनले डेरी व्यवसाय, पशुपालन, पन्छीपालनलगायत क्षेत्रबारे आफ्नो योजना समेत सुनाएका थिए । ‘तपाइँहरुको साथ सहयोग भयो भने हामीले पशु सेवाका लागि आउने बजेट पनि शतप्रतिशत नै खर्च गर्न सक्छौं,’ उनले भने, ‘अहिले पनि केही प्रतिशत बजेट मात्र फिर्ता गएको अवस्था छ ।’

    कार्यक्रममा विभागबाट मन्त्रालय सरुवा भएका महानिर्देशक विमल कुमार निर्मलको बिदाइ समेत गरिएको थियो । फूलमाला, खादा, अबिर लगाएर विभागका सबै कर्मचारीले उनको बिदाइ गरेका हुन् । निर्मलले आफू विभागमा रहँदा काम गर्न विभागको कर्मचारीको समुहबाट कुनै अप्ठ्यारो नभएको बताए ।

    ‘म भाग्यमानी रहेछु, विभागमा राम्रो टिम पाएँ, ६/८ जना साथीहरुले त यस्तो काम गर्नुभयो कि मेरो कार्यकाल नै सफल बनाइदिनु भयो,’ उनले भने, ‘तर, निर्मलले विभागलाई तहसनहस पारी विगारेर गयो भन्ने आलोचना पूर्वमहानिर्देशक ज्युहरु, सचिव ज्युहरुबाट आउने हो कि भन्ने एउटा बोझिलो चिन्ताप्रति सदैब सजग रहनुपर्ने अवस्था भने थियो ।’

    उनले आफू मन्त्रालयमा पहिलो पटक जान लागेको भन्दै आफूले विभागलाई हरदम सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

    कार्यक्रमको अध्यक्षता महानिर्देशकको दौडमा पछि परेकी उपमहानिर्देशक डा. सम्झना कुमारी काफ्लेले गरेकी थिइन् ।

    यो पनि पढ्नुहोस्-

    पशु सेवा विभागको महानिर्देशकमा डा. वंशी शर्मा, डा. निर्मल तानिए मन्त्रालय, डा. काफ्ले मैदानबाट आउट

    पशु सेवा विभागमा महानिर्देशकको दौड

    LEAVE A REPLY