उद्योगले बढी मुनाफा लिएर दाना महँगिएको होइन

0
602

उमेशचन्द्र सापकोटा, डाइरेक्टर, ग्लोबल एग्रो प्रोडक्टस प्रालि

नेपालमा पोल्ट्री उद्योग विकास र विस्तारको चरणमा छ । तर, नेपालमा कुखुरा उत्पादनका लागि सबै भन्दा बढी लागत दानामा रहँदै आएको छ । कुखुरा उत्पादनको कुल लागत मध्ये ६० देखि ७० प्रतिशत सम्म लागत दानाको रहने भएकाले पोल्ट्री उद्योगका लागि दाना महत्वपूर्ण छ । दानाको लगात बढेको र कुखुराको मूल्य सस्तिएकै कारण आफूहरु मर्कामा परेको विशुद्ध कुखुरा पालक किसानको गुनासो रहँदै आएको छ । यस सन्दर्भमा दानाको लागतलगायत विषयमा ग्लोबल दाना उद्योगका सञ्चालक उमेश सापकोटासँग गरिएको कुराकानीको सार ः

ग्लोबल दाना उद्योगले पशुपन्छीलाई आवश्यक के कस्ता दाना उत्पादन हुँदै आएको छ ?

हामीले ब्रोईलर कुखुरा, लेयर्स कुखुरा र गाइभैंसीका लागि आवश्यक दाना उत्पादन गर्दै आएका छौं ।
यहाँहरुले उत्पादन गर्ने दानाका लागि आवश्यक कच्चा पदार्थको व्यवस्थापन कसरी गर्दै आउनु भएको छ ?
दानाका लागि आवश्यक मुख्य कच्चापदार्थ मकै र भटमासको पिना भारतबाट ल्याउने गरिहेको छ । मकै भने करिब ३० प्रतिशत जति नेपालमै उपलब्ध हुने गरेको छ । ढुटो, चोकर, पिना लगायतका केही सहायक कच्चा पदार्थ नेपालमै उपलब्ध छन् ।

कुखुरा पालनमा झण्डै ७० प्रतिशत लागत दानामै हुने गरेको र दाना महँगिँदै जादाँ कुखुरा पालक किसानहरु समस्यामा परेको गुनासो आउने गरेको छ । के भन्नुहुन्छ ?

दानाको मूल्य कच्चा पदार्थको मूल्यले निर्धारण गर्छ । अहिले कच्चा पदार्थ अर्थात् मकै, भटमासको पिना, त्यसमा मिसाउने अन्य सहायक कच्चापदार्थको तथा भिटामिन मिनरल आदिको मुल्य अन्तर्राष्ट्रिय रुपमा बढेको हो । यसले गर्दा दानाको मूल्य बढेको हो । कच्चा पदार्थको मूल्य घट्दा दानाको मूल्य समेत कम भएको उदाहरण पनि छन् । जस्तो कि ४÷५ बर्ष पहिलेको दानाको मुल्य भन्दा गत वर्षमा दानाको मूल्य घटी थियो ।

यहाँहरुले दानामा लिने मुनाफाको दर बढी भएकैले कुखुरा पालक किसानले दानामै बढी रकम लगानी गर्नुपर्ने गुनासो पनि रहँदै आएको छ नी ?

दाना उत्पादन गर्दा कच्चाको मूल्य, भिटामिन मिनरल्सको मूल्य, सञ्चालन लागत, ढुवानी लागत, बैंकको ब्याज, डिलर कमिसन, छूटजस्ता शीर्षकमा भएको खर्चलाई हिसाबकिताब गरेर केही मात्र मुनाफा राखेर दानाको मूल्य निर्धारण गरेर बजारमा पठाउने गरिएको छ । कतिपयले भन्ने गरेजस्तो ४० रुपैयाँमा उत्पादन गरेर ६० रुपैयाँमा बेच्ने र प्रतिकिलो दानामै ५० प्रतिशत मुनाफा हुने हो भने मानिसहरुले कुखुरा फार्म खोल्नुको सट्टा दाना उद्योग नै खोल्ने थिए होला । अहिले दाना उद्योग भन्दा बढी लगानीका ठूला ठूला कुखुरा फार्म, ह्याचरीहरु खुलेका छन् । त्यस्ता फार्म तथा ह्याचरीले पनि दाना उद्योगबाटै दाना लगेर खुवाइरहेका छन् । समान्य अबस्थामा प्रतिकिलो १देखि १.५० रुपैयाँ अर्थात् बढीमा ३ प्रतिशतसम्म मुनाफा दानामा राखिएको हुन्छ । बैंकको ऋण तथा ब्याज बढी हुँदा उक्त मुनाफा पनि धट्न सक्छ । कतिपय परस्थितिमा घाटा पनि लाग्न सक्छ । दाना उत्पादनमा कच्चा पदार्थ बाहेक एमिनो एसिड, माइक्रोन्युट्रिन, भिटामिन, मिनरल्सहरु मिसाइएको हुन्छ । जसले कुखुराको पाचनशक्ति बढाउनेलगायतका काम गर्छन् । दानामा प्रतिकिलो १ हजारदेखि ३ हजार रुपैयाँसम्म पर्ने माईक्रो न्यटिÞयन्सहरुसमेत मिसाउने गरिएको छ । परिमाणमा गणना गर्दा दानामा ९८ प्रतिशत जति मकै, भटमास पिना, ढुटो आदि कच्चापदार्थ हिस्सा हुन्छ । २ प्रतिशत भिटामिन तथा मिनरल्सहरु मिसाइएको हुन्छ भने यसको लागत मूल्य भने कुल मूल्यको १५ प्रतिशतसम्म हुन आउँछ ।

डिलरमार्फत उपभोक्ता कहाँ पुग्दा र उपभोक्ताले उधारोमा दाना लिँदा पनि मूल्य बढी पर्न गएको भन्ने सुनिन्छ नी ?

प्रथम त दाना उद्योगी स्वयंले किसानलाई प्रत्यक्ष दाना बिक्री गरेको छैन । डिलरमार्फत नै किसानले पाउने हो । कुखुरा पालनका पनि विभिन्न मोडालिटी चल्तिमा छन् । कतिपयले ब्रोईलर कुखुरा पाल्ने किसानलाई चल्ला हाल्दिने, दाना दिने र उत्पादन भएको कुखुरा पनि आफैंले बिक्री गरिदिने र बिक्रिबाट प्राप्त रकममा चल्ला र दानाको लागत कटाएर बचेको रकम किसानलाई फिर्ता दिने गरेका छन् । कतिपय किसानमा कुखुरा पालन सम्बन्धि ज्ञान सिपको अभाब, लगानी गर्ने क्षमताको कमि तथा बजारमा पहुँच नहुँदा सम्पूण रुपमा दाना डिलरको भरमा कुखुरा पालन गर्दा डिलरबाट दाना तथा चल्ला महँगोमा खरिद गर्नु पर्ने तथा आफुले उत्पादन गरेको कुखुरा सस्तोमा बेच्न बाध्य हुनुपर्ने अबस्था छ । नियमित कुखुरापालन गरिरहेका तथा तत्सम्बन्धि ज्ञान भएका ब्यावसायीले उचित मूल्यमा दाना तथा चल्ला प्राप्त गरिरहेको नियमित उत्पादनको कारण उचित मूल्य प्राप्त गरि रहेको पनि पाईन्छ । उधारो कारोबार र नगद कारोबारमा दानाको मूल्य फरक हुनु स्बभाबिक नै हो र विश्वभरको अभ्यास पनि यही नै हो । नगदमा दिँदो केही कममै दाना उपलब्ध गराउन सक्ने पनि देखिन्छ । नेपालमा अहिले पोल्ट्री व्यवसाय व्यवसायिक भएर प्रतिस्पर्धामै गइसकेको छ । हाम्रा कुखुराका जात, दाना, हामीले प्रयोग गर्ने प्रविधि सबै विश्व स्तरका छन् । पोल्ट्रिीमा हाम्रो ज्ञानसीप विश्वस्तरकै भइसकेका छन् । तर, अझै नेपालमा ३ प्रकारका कुखुरा व्यवसायी छन् । कोही विशुद्ध उत्पादन मात्रै गर्ने, कोही बिक्री मात्र गर्ने र कोही उत्पादन र बिक्री दुबै गर्ने व्यवसायी छन् । यस मध्ये कुखुरा उत्पादन मात्र गर्ने किसानहरु भने मर्कामा पर्ने गरेको देखिएको छ ।

कतिपय ह्याचरी तथा दाना उद्योगले आफ्ना उपभोक्ता किसानलाई बर्डफ्लुबाट घाटा हुन गए त्यसको केही प्रतिशत क्षतिपूर्ति उपलब्ध गराउने गरेका रहेछन् यसलाई कसरी लिनु हुन्छ ?

हामीले दाना उत्पादन गर्ने र बिक्री गर्ने भएकोले हाम्रो व्यवसायीक दायरात्रि बीमा पर्दैन । एच फाईब एन वान वर्डफ्लुले शतप्रतिशत क्षति पुग्ने र बिश्बस्बास्थ्य संगठनको चासोको बिषय समेत भएकोले सरकारले नै क्षतिपूर्ति उपलब्ध गराउने गरेको छ । पशुपन्छी बीमाका नीतिहरु पनि आएका छन् । तर, बीमा गर्ने प्रचलन कम भएकोले एच फाईब एन वानबाहेक बर्डफ्लुका कारण हुने क्षतिको पूर्ति अझै व्यवस्थित बन्न सकेको छैन । आफ्ना ग्राहकलाई क्षतिको न्युनिकरण गरी प्रोत्साहित गर्न केही सहयोग गर्नुलाई राम्रो मान्न सकिन्छ । दीर्धकालिन रुपमा बर्डफ्लु को जोखिम न्यनिकरण गर्न सबै प्रतिस्पर्धी कम्पनीले बजार प्रबर्धन सम्बन्धि आफना क्रियाकलाबमा पोल्ट्री बीमालाई पनि समाबेश गरे भने यो राम्रो सुरुबात हुनेछ ।

कुखुरा र गाइभैंसीको दाना उत्पादन गर्दै आएका कम्पनीले नेपालमा माछाको दानासमेत निर्माण सुरु गरेका छन् ? यहाँहरुले पनि माछाको दाना उत्पादन गर्ने लक्ष्य छ ?

नेपाल दानाको कच्चा पदार्थमा आत्मनिर्भर हुन सकोको छैन । तर, दाना उत्पादनमा भने आत्मनिर्भर छ । माछाका लागि पानीमा तैरिने दाना बनाउनु पर्छ । त्यसका लागि कच्चा पदार्थ पनि राम्रो चाहिन्छ । हाल नेपालमा उत्पादन भइरहेको माछाको दाना सामान्य फुड ग्रेटको मेशिनबाट उत्पादित छ । यसका लागि अत्याधुनिक र धेरै लगानी पर्ने मेशिन आवश्यक पर्छ । नेपालमा माछाको दानाको बजार सानो भएको कारण मछाको दाना उत्पादन त्यति ठुलो लगानीको अत्याधुनिक मेशिनमा लगानी गर्ने सम्भावना कम छ । तर, केही बर्ष यता बढदो माछा पालनको कारण माछा दानाको माग पनि बढ्ने देखिन्छ । हाललाई हामीले माछाको दाना उत्पादन गर्ने कुनै योजना बनाएका छैनौं ।

नेपालमा पोल्ट्री, डेरी, माछापालन, मौरीपालन जस्ता क्षेत्रमा विदेशी लगानी आवश्यक छैन भनेर व्यवसायीहरुले लगानी इन्कार गरिरहेका छन् । यहाँलाई कस्तो लाग्छ ?

अहिले नेपालमा पोल्ट्री क्षेत्र निकै व्यवसायीक हुँदै गएको छ । पोल्ट्रि उत्पादनमा नेपाल आत्म निर्भर भएकोले यो क्षेत्रमा विदेशी लगानी आवश्यक छ भन्ने मलाई लाग्दैन । तर, दूधमा नेपाल अहिले पनि आत्मनिर्भर छैन । दूधलाई प्रोसेसिङ गर्ने ठूलो उद्योगको अभावमा किसानले उत्पादन भएकै दूध पनि खेर पाल्नु पर्ने अवस्था भएको हो । तर, नेपाललाई दूध आन्तरिक उत्पादनले पुगेको छैन । त्यसो हुँदा दूध उत्पादन बढाउनु पर्ने अवस्था छ । जबसम्म ब्याबशायिक रुपमा उच्च नस्लका गाई वा भैसि पालन गरि दुध उत्पादन गरिदैन तब सम्म यस्को उत्पादन लागत घटदैन । सरकारी क्षेत्रबाट प्राथमिकताका साथ बिभिन्न परियोजना मार्फत ठुलो लगानी गर्दा समेत दुध उत्पादन तथा प्रोसेसिङमा ब्याबशायीकरण नहुनु तथा पसु पालनमको ठुलो हिस्साले परम्परागत सैलीनै अपनाएकोले लगानी र मेहनतको तुलनामा प्रतिफल धेरै न्युन छ । तसर्थ, दुध उत्पादन लागि गाई भैंसीको फार्मीङसहित डेरी उद्योगको आवश्यक छ । त्यसका लागि विदेशी लगानी आवश्यक छ । र, आत्मनिर्भर हुन नसकेका तथा विदेशी लगानी आवश्यक हुने अन्य क्षेत्रमा पनि लगानी खुला गर्दा राम्रो हुन्छ । यसरी बिदेशी लगानीलाई अबसर दिँदा स्वदेशी लगानी कर्तालाई पनि सोही बमोजिमका सेवा सुबिधा र अबसर उपलब्ध गराउनु पर्दछ ।

नेपालको दाना उद्योग क्षेत्रका अवसर र चुनौती तथा समग्र पोल्ट्री क्षेत्रको चुनौती र अवसर के कस्तो देख्नुहुन्छ ?

हालै सरकारले भारतलगायत तेस्रो मुलुकबाट खसी, राँगाभैसी, कुखुरालगायतका पशुन्छी आयातमा क्वारेन्टाइन लागू गरेको छ । यसले नेपालको उत्पादनलाई बजार उपलब्ध हुन्छ । नेपालमै उत्पादन हुन सक्ने सामाग्रीको आयातामा सरकारले रोक लगाउनै पर्छ । पोल्ट्री क्षेत्रमा अवसर राम्रो देखिन्छ । सरकारले भारतबाट ल्याइने दानाको कच्चा पदार्थमा विगतको तुलनामा अहिले भन्सार शुल्क बढाइएको छ । नेपालमा उत्पादन नभएको वा उत्पादनले धान्न नसकेका दानाका कच्चा पदार्थमा आयात गर्दा भन्सार दर कम गर्न सके त्यसले समग्रमा नेपालकै पोल्ट्री उद्योगलाई सहयोग पु¬¥याउँछ । नेपालमै उत्पादन हुने प्रचुर सम्भावना रहेका मकै, भटमासआदिको उत्पादन बढाउन सरकारको तर्फबाट प्रभाबकारी परियोजना संचालन गरेमा कच्चापदार्थ आयातको ठुलो हिस्सालाई प्रतिस्थापन गर्न सकिने छ ।

एन्टिबायोटिकको प्रयोग गरेको कुखुराको मासु खाँदा मानव स्वास्थ्यमा असर पर्ने विज्ञहरु बताउँछन् । दानामा एन्टिबायोटिकको प्र्रयोग हुने गरेको छ कि छैन ?

विगत दुई वर्षदेखि कुखुराको दानामा एन्टिवायोटिकको प्रयोग गरिएको छैन । विज्ञका अनुसार सबै खाले एन्टिबायोटिकको असर मासु उपभोक्तामा पर्दैन । तर, कतिपय एन्टिबायोटिक प्रयोग गरिएका कुखुराहरु निश्चित समयभित्र उपभोग गर्दा त्यसको असर मानिसमा पनि पर्न सक्छ । खासगरी ३५ दिनभन्दा कम उमेर र २ किलोग्राम भन्दा कम तौलका कुखुरामा एन्टिबायोटिक प्रयोग नभएको हुन सक्छ । त्यस्तो कुखुराको मासु खाँदा राम्रो हुन सक्छ । तर, यो भन्दा बढी तौल र उमेरका कुखुरामा रोगले बढी आक्रमण गर्ने हुँदा किसानले एन्टिबायोटिक प्रयोग गर्न पनि सक्छन् । यसमा उपभोक्ता नै सचेत हुनु आवश्यक छ ।

उद्योगको विकास र विस्तारमा यहाँहरुको आगमी योजना के छ ?

हामीले दाना तथा चल्ला उत्पादा गर्दै आएका छौं । अहिले साताको २५ हजार लेयर्स र ६० हजार ब्वाइलर चल्ला उत्पादन गर्दै आएका छौं । आउँदो एक वर्षभित्रमा यसलाई दोब्बर बनाउने हाम्रो योजना छ । त्यस्तै हामीसँग प्रतिघण्टा १० मेट्रिक टन दाना उत्पादन क्षमताको दाना उद्योग छ । यसलार्ई पनि हामीले एकबषमा दोब्बर बनाउने लक्ष्य लिएका छौं ।

LEAVE A REPLY