भेटेरिनरी क्षेत्रमा महिला सहभागिता ८० प्रतिशत भएपछि अस्ट्रेलिया र अमेरिकालाई टाउको दुखाइ : डा. विमलकुमार निर्मल

0
626

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. विमलकुमार निर्मलले भेटेरिनरी क्षेत्रमा महिला सहभागिता विश्वभर नै असन्तुलित हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । पशु सेवा विभागका महानिर्देशकबाट हालै मन्त्रालय सरुवा भएका डा. निर्मलले शनिबार त्रिपुरेश्वरस्थित भेटेरिनरी कम्प्लेक्समा आयोजित भेटेरिनरी दिवस समारोहलाई सम्बोधन गर्दै यस्तो चिन्ता व्यक्त गरेका हुन् । महिलाको सहभागिता असमान रुपमा बढ्दा हाल अस्ट्रेलिया र अमेरिकालाई टाउको दुखाइकै विषय बनिसकेको उनले बताए ।

‘चार महिनाअघि जापानमा विश्व पशु स्वाथ्य संगठन(ओआइई), सरकारी निकाय, काउन्सिलहरु र भेटेरिनरी शिक्षा क्षेत्रका सरोकारवालाहरुबीचको गोष्ठीमा अस्ट्रेलियाले एउटा बडो अचम्म तर सम्बेदनशील कुरा उठायो,’ उनले भने, ‘त्यो के भने भेटेरिनरी क्षेत्रमा ८० प्रतिशत सहभागिता महिलाको भइरहेको छ र महिला गर्भवती तथा सुत्केरी हुनेबेला सम्बन्धीत निकाय नै बन्द गर्नु पर्ने अवस्था आउने उसको चिन्ता थियो ।’

अस्ट्रेलिया, अमेरिकालगायत सबैजसो विकसित मुलुकमा यस्तो समस्या आउन लागेको उनको भनाइ छ । नेपालमा पनि भेटेरिनरी क्षेत्रमा महिला सहभागिता बढ्दै गएको उनले बताए । ‘ओआइईले अब यस्तो असन्तुलनको अवस्था अन्त्य गर्न भेटेरिनरी क्षेत्रमा पुरुषलाई आरक्षण कोटा दिने विषयमा कुरा उठाइरहेको छ,’ सहसचिव डा. निर्मलले भने ।

पहिला घोडाको उपचारबाट पशु चिकित्सा सुरु भएको उनले बताए । ‘भेटेरिनरी क्षेत्रमा पुरुषले नै काम गर्नुपर्छ भन्ने थियो,’ उनले भने, ‘घोडा, गोरु जस्ता जनावर महिलाले लडाउन सक्दैन भन्ने थियो । तर, अहिले महिलाको बढी सहभागिता नै विकसित देशको चिन्ताको विषय बन्न थाल्यो ।’

सहसचिव डा. निर्मलले भेटेरिनरी क्षेत्रबार सचेतना जगाउन जिल्लामा मात्रै नभएर ७५४ वटै स्थानीय तहमा भेटेरिनरी दिवस मनाउनु पर्ने बताए । भेटेरिनरीयन, टेक्निसियन, लाइभस्टकको क्षेत्रमा काम गरेका अग्रज व्यक्तिहरुको योगदानलाई पनि भुल्न नहुने उनले बताए । त्यस्तै, हाल भेटेरिनरी अध्ययन गर्दै गरेका विद्यार्थी नै भोलि यो क्षेत्रलाई नेतृत्व गर्ने जनशक्ति भएकोले अघिल्लो, अहिले कार्यरत र नयाँ पुस्तालाई जोड्नु पर्ने उनले बताए । अघिल्लो पुस्ताको ज्ञानसीप नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने उनले बताए ।

LEAVE A REPLY