कुकुर र गाई मार्नेलाई हदैसम्मकाे कारवाही माग

0
78

काठमाडौ । नेपाल भेटेरीनरी एसोसियशन र स्नेहाज केयरले सुर्खेतको जंगलमा गाईगोरु मारिएको र खोटाङमा सामुदायिक कुकुरहरुलाई सामूहिक रुपमा मारिएको घटनाको गम्भीर ध्यानाकर्षण भएका जनाएका छन् ।

दिक्तेलस्थित् दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सामुदायिक कुकुरहरुलाई सामूहिक रुपमा बर्वरतापूर्वक मारिएको र नेपालगञ्जबाट दैलेख लैजाने भनी दैलेख पठाइएका गाईहरुलाई सुर्खेतको कटकुवा जंगलको भीरबाट खसालेर मारिएको घटनाप्रति गम्भीर ध्यानाकर्षणसमेत गराएका हुन् ।

रिपोर्टर्स क्लब नेपालमा संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै एशोसिएशन र स्नेहाज केयरले सरकारको ध्यानाकर्षण गराएका हुन् । सम्मेलनपछि जारी गरिएको संयुक्त विज्ञप्तीमा भनिएको छ– ‘एउटा सामान्य मानवीय धर्म र पशु कल्याणको आधारभूत मान्यताहरुलाई समेत बेवास्ता गर्दै एउटा जिम्मेवार सरकारी निकायले यतिसम्मको गैरजिम्मेवार निर्णय गर्नुले पशु कल्याणप्रतिको राज्यको दृष्टिकोण प्रस्ट पारेको छ । हामी यी दुवै घटनाको घोर भर्त्सना गर्दै दोषीमाथि कानुन बमोजिम हदैसम्मको कारबाहीको माग गर्दछौँ ।’

कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक डाक्टर वंशी शर्माले आफूहरु अहिले ऐन, नियम र कानुन निर्माणको चरणमा रहेकोले पशु कल्याणको लागि अब सकारात्मक पहलकदमी लिइने बताए । पछिल्लो समय पशुमाथि भएको निर्दयी र निर्मम घटनाप्रति दुःख व्यक्त गर्दै उनले भने, ‘यो घटनामा संलग्न दोषीमाथि सरकारले कारबाही गर्नुपर्छ । हामी आफ्नो तर्फबाट दोषीलाई कारबाही गराउनको लागि आवश्यक सहयोग गर्ने विश्वास दिलाउँछौँ ।’

त्यस्तै स्नेहाज केयरकी अध्यक्ष स्नेहा श्रेष्ठले खोटाङ र सुर्खेतमा भएका बेग्ला–बेग्लै घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरिन् । उनले नेपाल विश्व पशु स्वास्थ्य संगठनको सदस्य राष्ट्र भएर विश्व समुदायसँग गरेका प्रतिबद्धता तथा हस्ताक्षर गरिएका सम्झौताहरुको विपरीत हुनेगरी यस्ता गैरजिम्मेवार क्रियाकलापले राज्य संयन्त्रहरुको आपसी तालमेल कतिसम्म धराशयी छ भन्ने प्रष्ट पारेको बताइन् ।

कार्यक्रममा कृषि तथा पशुपछी विकास मन्त्रालयका पूर्व सचिव डाक्टर कृष्णचन्द्र पौडेलले अहिले देखिएको समस्या प्रतिनिधि समस्या मात्रै भएकोले यसको दीर्घकालीन समाधानको बाटो खोज्न सुझाव दिए।

त्यस्तै अधिवक्ता पदमबहादुर श्रेष्ठले नेपालमा पशु कल्याण सम्बन्धमा रहेका कानुनी व्यवस्था र प्रावधानहरु परिपालन हुनुपर्ने बताए ।

‘एक्काइसौँ शताब्दीमा पनि ढुङ्गे युगको मानसिकता बोकेर हिँडिरहेका नीति निर्माताहरु तथा जिम्मेवार व्यक्तिहरुको प्रशंसाका लागि हामीसँग कुनै शब्द छैन । यी यावत समस्याहरु उनीहरुकै कारण त सिर्जना भएको हैन ? भन्ने प्रश्न आम जनमानसमा पैदा भइरहेको छ’, विज्ञप्तिमा भनिएको छ ।

LEAVE A REPLY