पशु क्वारेन्टाइनसम्बन्धी नागढुंगामा स्थलगत सचेतनामूलक अन्तरक्रिया : ढुवानी मापदण्ड उलंघन गर्नेलाई कारवाही गरिने

0
213
पशु क्वारेन्टाइनसम्बन्धी नागढुंगामा स्थलगत सचेतनामूलक अन्तरक्रिया

काठमाडौं । पशु क्वारेन्टाइन कार्यालय काठमाडौंले चालक, सहचालक, व्यवसायी तथा सरोकारवालासँग पशु क्वारेन्टाइनसम्बन्धी स्थलगत सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । दशैंलाई लक्षित गरी काठमाडौं उपत्यकामा पशुपन्छी भित्रिने क्रम बढेपछि पशुपन्छीको स्वास्थ्य तथा वैधताबारे पशुपन्छी ढुवानीमा संलग्न हुने चालक, सहचालक तथा सरोकारवालालाई सचेतना जगाउन कार्यालयले सचेतनामूलक कार्यक्रमको आयोजना गरेको कार्यालयका प्रमुख डा. श्रीराम अधिकारीले बताए ।
काठमाडौं उपत्यकामा सबैभन्दा बढी पशुपन्छी भित्रिने नाकाको रुपमा रहेको चन्द्रागिरी नगरपालिका २, नागढुंगामा कार्यक्रम आयोजना गरिएको हो । सचेतनामूलक कार्यक्रममा आफ्नो धारणा राख्दै कार्यालय प्रमुख डा. अधिकारीले बसको डिक्की तथा छतमा राखेर पशुपन्छी ढुवानी गर्ने, अवैध तथा अस्वस्थ पशुपन्छी निर्दयी तरिकाले पशुपन्छी ढुवानी गरेको पाइए कानुनअनुसार सकारवाही गरिने बताए ।

कार्यालयले सचेतनाका लागि पोस्टर, पर्चा तथा ब्रोसरहरु समेत छपाई गरी वितरण गरिएको र विभिन्न ठाउँमा टाँसिरहेको उनले बताए । पर्चामा क्वारेन्टाइन, पशु क्वारेन्टाइन, जस्ता विषयहरुमा जानकारीमूलक सन्देश समावेश गरिएको उनले बताए । उनका अनुसार हाल देशभर २८ वटा पशु क्वारेन्टाइन कार्यालयमार्फत हाल क्वारेन्टाइन जाँचको काम भइरहेको छ । पशु कल्याण निर्देशिका २०७३ र पशु ढुवानी मापदण्ड २०६४ अनुसार पशुपन्छीको ढुवानी तथा कारोबार गर्न सके सबैको हित हुने उनले बताए ।

सरकारले बनाएको कानुन दुःख दिनका लागि ल्याइएको हो भन्ने मानसिकता विकास हुँदै जानु दुर्भाग्य भएको भन्दै उनले पशु क्वारेन्टाइन पशुको मात्रै नभई मानिसकै स्वास्थ्यसँग गाँसिको विषयको रुपमा बुझिदिन आग्रह गरे । पशुपन्छीबाट विभिन्न किसिमका रोगसमेत मानिसमा सर्ने भएकोले क्वारेन्टाइन जाँच आवश्यक भएको उनले बताए । उनका अनुसार नेपाल विश्व व्यापर संगठन, विश्व पशु स्वास्थ्य संगठन जस्ता अन्तर्राष्टिय संस्थाको सदस्य राष्टसमेत भएकाले पशु क्वारेन्टाइन गरेर मात्र पशुपन्छीको ओसारपसार तथा कारोबार गर्नु अनिवार्य भएका छ । गैरकानुनी तरिकाले पशुपन्छी ओसारपसार गर्नेलाई २५ हजार रुपैयाँसम्म र त्यस्ता पशुपन्छीमा रोग लागेको पाइएमा दोब्बर जरिवाना हुने समेत कानुनी व्यवस्था रहेको बताए ।

कार्यक्रममा उपभोक्तावादी संगठन कन्जुमर आईकी अध्यक्ष विमला खनालले संविधानको धारा ४४ को १ ले स्वस्थ, स्वच्छ मासु उपभोग गर्न पाउनु पर्ने उपभोक्ताको अधिकारको मानेको बताइन् । ४४ को २ ले उपभोक्ताले प्रयोग गर्ने वस्तुले हानीनोक्सानी पुर्याए वस्तु उपलब्ध गराउने जिम्मेवार हुने उल्लेख गरेको बताइन् । त्यसो हुँदा पशु क्वारेन्टाइन जाँचको महत्वपूर्ण भूमिका हुने उनले बताइन् ।

उनका अनुसार पशुपन्छीलाई टाउकोमा बाँध्ने, पुच्छर बाँध्ने, साँघुरो ठाउँमा असुविपूर्वक राखेर ढुवानी गर्ने, उल्टो झुण्ड्याएर ढुवानी गर्ने जस्ता निर्दयीपूर्ण तरिकाले ढुवानी गर्ने प्रचलन रोकिएको छैन । पशुपन्छीलाई काटेर मासु बनाउनु अगाडि नै त्यस्ता पशुपन्छीलाई हजारौं पटक मर्न बाध्य पार्ने, तड्पाउने, अनावश्यक तनाव दिने गरी ढुवानी गर्दा त्यस्ता पशुपन्छीको मासु सेवनबाट मानिसमा नै नकारात्मक मनोवृत्ति विकास हुँदै गएको उनले बताइन् ।

ढुवानी मापदण्डविपरीत हुने गरेको ढुवानीलाई रोक्न प्रहरी, प्रशासन, उपभोक्तावादीलगायत सरोकारवाला सबैको भूमिका महत्वपूर्ण हुने उनको भनाई छ । दशैंका अवसरमा हुने पशुपन्छीको ढुवानीलाई लक्षित गरी क्वारेन्टाइन कार्यालयले पहिलो पटक यस्तो कार्यक्रमको आयोजना गरिएको भन्दै उनले खुसी व्यक्त गरिन् । सकारले अवैध रुपमा पशुपन्छी ढुवानी गर्ने तथा ढुवानी मापदण्ड उलंघन गर्नेलाई अहिलेसम्म कैद तथा जरिवाना जस्ता कानुनले व्यवस्था गरेको दण्ड जायकोदायारामा ल्याउन नसक्दा पनि गैरकानुनी ढुवानी बढेको उनले बताइन् ।

खसीको मासुको मूल्य आकाशिएको प्रसंग कोट्याउँदै खसीबोकाको मासु व्यवसाय मात्रै नभइ यो आम उपभोक्ताको अधिकार समेत हो भनेर बुझ्न उनले आग्रह गरिन् । प्रतिकिलो ८ सय रुपैयाँसम्ममा पाइने गरेको खसीको मासु हाल १२ सय रुपैयाँसम्म पुगिसकेकोले मासुको अधिकतम मूल्य निर्धारण गर्नुेपर्ने समेत उनले बताइन् ।

चौपाया व्यवसायी जीवनराज खतिवडा पशु ढुवानी मापदण्ड बनाउन आफूहरुले सक्रिय भूमिका निर्वाह गरेको भन्दै ढुवानी मापदण्ड पालना नगर्ने गरेको दोष भने व्यवसायीलाई नै लगाउने गरिएको उनले बताए । काठमाडौंका व्यवसायीले भन्दै उपत्यकाबाहिरका सबै स्थानीय तहमा गएर ढुवानी मापदण्डका बारेमा सचेतना जगाउनु पर्ने र मापदण्डअनुसार ढुवानी गर्न सहजीकरण गरिदिनुपर्ने बताए ।

चालक सहचालक भन्दा बढी किसानलाई नै ढुवानी मापदण्डबारे बुझाउनु आवश्यक भएको उनले बताए । नागढुंगामा मात्रै एउटा घरमा सचेतना कार्यक्रम गरेर देशभरका किसानहरुलाई ढुवानीबारे सचेत बनाउन नसकिने उनले बताए । साधनस्रोत सम्पन्न नभएसम्म तथा व्यावसायीकताको पूर्ण रुपमा विकास नभएसम्म ढुवानी मापदण्ड कार्यान्वयन, मूल्य नियन्त्रण, अवधै आयातमा रोक लगाउने जस्ता विषयमा सफलता पाउन नसकिने उनले बताए ।

पशुपन्छीको स्वास्थ्य नागढुंगामा बसेर आँखाले हेरेर भेटेरिनरी डाक्टरले पनि थाहा पाउन नसक्ने भन्दै उनले स्वस्थ र अस्वस्थ पशुपन्छी भनेर प्रमाणपत्र दिने काम व्यवस्थित रुपमा क्वारेन्टाइन जाँच गरेर छुट्याउनु पर्ने उनले बताए ।
कार्यक्रममा पशु व्यवसायीहरुले स्वस्थकर मासु उपभोक्तालाई खुवाउनु पर्ने विषयमा राखिएको आम चासो जायज भएको भन्दै कलंकी बजारबाट ४० प्रतिशत खसी बिक्री वितरण हुने र ६० प्रतिशत सिधै मासु पसलहरुमा जाने भएकोले ४० प्रतिशत खसीबोकाको मात्रै स्वास्थ्य जाँच गरेर रातो मसी लगाउनुको औचित्य नभएको बताए । सिधै पसलमा लगेर काट्ने गरिएका खसीबोकाको समेत स्वास्थ्य परीक्षण गर्न आफूहरुले सहयोग गर्ने बताए । एक दुई आव दश ओटा जति खसी काठमाडौं ल्याउनु परे ट्कमा ल्याउँदा बढी भाडा पर्ने र बसमा ल्याउँदा ढुवानी मापदण्ड उलंघर हुने विषयले किसान तथा व्यवसायीलाई समस्या भइरहेको उनले बताए ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक गायत्रीराज शर्माले स्वास्थ नै सबैभन्दा ठूलो धन भएकोले स्वास्थ्यप्रति कुनै सम्झौता नगरी पशुपन्छी व्यवसायी तथा ढुवानीकर्ताले सोचेर काम गरे धेरै समस्या समाधान हुने उनले बताए ।
नागढुंगा प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले पशुपन्छीको ढुवानी तथा वैधतामा सबैले सचेत हुनु आवश्यक भएको बताए । कार्यक्रमको सञ्चालन पशु क्वारेन्टाइन कार्यालय काठमाडौंका डा. कृष्ण प्रसाद आचार्यले गरेका थिए ।

LEAVE A REPLY