समाचार प्रभावः औषधी व्यवस्था विभागले लगायो दुई कम्पनीका औषधीमाथि प्रतिबन्ध !

1
2340

काठमाडौं। औषधी व्यवस्था विभागले दुई कम्पनीका औषधी बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । मापदण्ड पूरा नगरी बजारमा औषधी बिक्री वितरण गरिरहेका कम्पनी प्रतिबन्धमा परेका हुन् । स्वदेशमै अवैध रुपमा औषधी उत्पादन गरी बिक्री वितरण भइरहेको समाचार भेटटाइम्स अनलाइनमा प्रकाशित भएपछि औषधी व्यवस्था विभागले छापा मारी यी औषधीमाथि प्रतिबन्ध लगाएको हो । विभागले मापदण्ड पूरा नगर्दासम्म थप नयाँ औषधी उत्पादन र आयातमा रोक लगाएको छ । बजारमा भएका औषधी जफत गरी सिल गरेको छ ।
राजधानीमा संचालित सेरिन फर्मास्युटिकलले औषधी व्यवस्था विभागमा दर्ता नै नगराइ औषधी उत्पादन गरिरहेको समाचार भेटटाइम्स अनलाइनमा प्रकाशित भएको थियो । यो कम्पनीका औषधीहरु विगत २ वर्षदेखि नवीकरण नै नभएको औषधी व्यवस्था विभागले जनाएको थियो । समाचार प्रकाशित भएसँगै विभागले छापा मारेको हो । छापा मारेर विभागले सेरिन फर्मास्युटिकलका औषधीसँगै भारतीय कम्पनी कन्सेप्ट फर्मास्युटिकल्सका औषधीलाई समेत अवैध पाएपछि दुवै कम्पनीका उत्पादनलाई प्रतिबन्ध लगाएको हो ।
सरकारले अहिले औषधी व्यवस्था विभागमा दर्ता नभएका विदेशमा उत्पादित औषधी आयातमा रोक लगाएको छ । ती औषधी अबैध रुपमा आयात भइरहेको गुनासो बढिरहेको छ । पछिल्लो समय भने विदेशमा उत्पादित नभइ स्वदेशी औषधी नै अवैध भएको पाइएको हो । स्वदेशमा उत्पादित औषधी पनि हरेक वर्ष औषधी व्यवस्था विभागमा दर्ता भइ नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, स्वदेशी कम्पनीले नवीकरण नै नगरी औषधी बिक्री गरिरहेको थियो । यसरी अवैध औषधी बिक्री गर्नु औषधी ऐन २०३५ को उल्लंघन हो ।
यसैबीच अवैध रुपमा औषधी भित्र्याउने मुनाल बायोभेटले औषधी व्यवस्था विभागको टोलीलाई कुनै पनि चेकजाँच गर्न नदिइ फर्काएको छ । त्रिपुरेश्वरमा कार्यालय रहेको मुनाल बायोभेटको कार्यालयमा अनुगमन टोली पुग्दा त्यहाँका कर्मचारीले आफुहरुको गोदाम त्यहाँ नरहेको भन्दै फर्काएका थिए । उनीहरुले आफ्नो गोदाम धुम्बाराहीमा रहेको र सबै भण्डारण त्यहीँ हुने बताएका थिए । टोलीले त्रिपुरेश्वरको शिखर ट्रेडिङबाट पनि अवैध औषधी भेटेपछि जफत गरेको छ ।

1 COMMENT

LEAVE A REPLY